Breaking News

अपाङ्गता परिचय पत्र वितरण निर्देशिका सम्बन्धी गोलमेच बैठक

Feb Tue 2020 05:40:21

272 views

अपाङ्गता परिचय पत्र वितरण निर्देशिका सम्बन्धी गोलमेच बैठक
  • शर्मिला विश्वकर्मा, काठमाण्डौं

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजना तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको सहयोगमा अपाङ्गता परिचय पत्र वितरण निर्देशिका नीतिगत तथा व्यवहारिक पक्ष गोलमेच बैठक काठमाण्डौंमा सम्पन्न भयो । सो गोलमेच बैठकमा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका महासचिव विश्वराज अधिकारीले अपाङ्गता परिचय पत्रको नीतिगत व्यवहारिक पक्ष सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै अपाङ्गता परिचय पत्रको निर्देशिकाको आवश्यकता, परिचय पत्र वितरणको आधार, उदेश्य आदीको बारेमा प्रष्ट पार्नु भयो । सो कार्यक्रममा बौद्धिक अपाङ्गताकी अभिभावक प्रेम कुमारी श्रेष्ठले अपाङ्गता परिचय पत्र बनाउदा भोग्न परेको समस्या बताउनु भएको थियो । त्यसै गरी अर्का अभिभावक कपिलमुनी हुमगाँईले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको पहिचान हुनु पर्ने उनीहरुको क्षमता विकासको लागि सरकारको तर्फबाट सक्दो सहयोग हुनु पर्ने बताउनु भयो । त्यसै गरी बौद्धिक अपाङ्गता भएका व्यक्ति सन्तोष जि.सी.ले हरेक क्षेत्रमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुले विभिन्न समस्याहरुको सामना गर्न परेको गुनासो गर्नु भयो ।

सो गोलमेच कार्यक्रममा इम्पुटी एसोसियसनका अध्यक्ष महेश्वर घिमिरेले अपाङ्गता परिचय पत्र सेवा सुविधाको लागि मात्र नभएर अपाङ्गता भएका व्यक्तिहरुको पहिचानको लागि हुनु पर्ने बताउनु भयो । त्यसै गरी नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धितालले अपाङ्गता परिचय पत्रको निर्देशिकामा अपाङ्गताको परिभाषालाई परिमार्जन गर्नु पर्ने बताउनु भयो । यसै क्रममा नेपाल अपाङ्ग समाजकी अध्यक्ष तेजकुमारी तिवारीले कस्ता प्रकारका अपाङ्गता भएका व्यक्तिहरुले कस्ता सेवा सुविधाहरु पाउन जरुरी छ भनेर वकालत गर्नु पर्ने कुरामा जोड दिनु भयो । सो कार्यक्रममा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका अध्यक्ष मुकुन्दहरी दाहालले अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरणमा सरकारले सहयोग गर्नु पर्ने बताउनु भयो ।

त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता परिचय पत्र अपाङ्गता भएका व्यक्तिहरुको पहिचान भएको बताउदै उक्त परिचय पत्रमा अपाङ्गता भएको व्यक्तिको कति प्रतिशत अपाङ्गता छ भन्ने कुरा प्रष्ट रुपमा बौज्ञानीक तरिकाले उल्लेख गर्नु पर्ने बताउदै यस्ता समस्या समाधानको लागि अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाको सल्लाह अनुसार काम गर्ने बताउनु भयो । त्यसै गरी कार्यक्रमका प्रमुख अतिगि एवं महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सह–सचिव शंकर पाठकले अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुको सल्लाह तथा सुझाब अनुसार अपाङ्गता परिचय पत्र वितरण निर्देशिकालाई संशोधन गर्नु पर्ने र यस विषयमा मन्त्रालय गम्भिर भएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?