Breaking News

तिहारसंगै नेपाल संवत् ११३६ र म्ह पूजा

Feb Tue 2020 05:40:56

766 views

तिहारसंगै नेपाल संवत् ११३६ र म्ह पूजा

हिन्दुहरुको महत्वपूर्ण पर्व तिहारको चौथो दिन गोरुतिहारसंगै नेपाल संवत् ११३६ र म्हपूजा गरी देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३६ र इसं ८७९ अक्टोबर २० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुआत गराउनुभएको थियो । नेपाल संवत्ले चन्द्रशम्शेरको शासनकाल विसं १९६० अघिसम्म राष्ट्रिय संवत्को मान्यता पाएको संस्कृतिविद् सत्यमोहन जोशीले जानकारी दिनुभयो ।

“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् राणाशासनसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”–उहाँले भन्नुभयो ।

विसं १९६० देखि भने नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिन छाडिएको थियो । राणा शासनको अन्त्य भई २००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, दोलखालगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत् समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ साल मङ्सिर २ गते सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो भने २०६५ कात्तिक ७ गते नेपाल संवत्लाई मान्यता दिएको थियो ।MHa Puja

आत्मपूजा

आजैको दिन नेवार समुदायमा मानिसको शरीर नै देवता हो भन्ने मान्यताका साथ म्हपूजासमेत गरिन्छ । आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । आगलागीबाट बचेको खुसियालीमा हाँडीगाउँ विशालनगरका बासिन्दाले यो प्रचलन सुरु गरेको पनि इतिहासकारले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?