दुई हाइड्रोपावरको शेयर फागुनभित्रै, ८ कम्पनी पाइपलाइनमा
Feb Tue 2020 05:40:20
267 views
फागुनभित्रै २ वटा कम्पनीको सेयर निस्कासन हुने भएको छ भने अन्य ८ वटा कम्पनी निस्कासनको पाइपलाइनमा रहेका छन्। मेरो माइक्रोफाइनान्सले सर्वसाधारणलाई र दिब्यश्वरी हाइड्रोले प्रभावित स्थानीयका लागि सेयर आह्वान गरिसकेका छन्।
मेरो माइक्रोफाइनान्सको आगामी २७ गतेबाट सर्वसाधारणलाई आईपीओ सेयर निस्कासन हुने भएको छ। कम्पनीको ६ करोड १२ लाख रुपैयाँको आईपिओ सेयर खुल्ने छ। यसको प्रबद्र्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।
मेरो माइक्रोफाइनान्सपछि दिब्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर निस्कासन हुने छ। कम्पनीले संखुवासभाका प्रभावित (चैनपुर, धुपु, स्याबुन, वाना) स्थानीयका लागि २ करोड ६४ लाख रुपैयाँको २ लाख ६४ हजार कित्ता आईपीओ सेयर निस्कासनको आह्वान गरिसकेको छ।
फागुन ३० गतेबाट कम्पनीको सेयर निस्कासन हुने छ। कम्पनीको सेयर विक्री प्रबद्र्धकका रुपमा एस क्यापिटल रहेको छ। कम्पनीले प्रभावित स्थानीयलाई सेयर दिइसकेपछि सर्वसाधारणलाई पनि सेयर दिने छ। २६ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी पुर्याउनेगरी सेयर निस्कासन गर्नका लागि कम्पनीले बोर्डमा निवेदन दिएको छ।
निस्कासनको स्वीकृति पाइसकेका यी कम्पनीका अलवा अन्य कम्पनीहरुले पनि प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि सेयर निस्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन्। यी कम्पनीहरुको १ अर्ब रुपैयाँ बराबरको सेयर खुल्ने छ।
धितोपत्र बोर्डमा सेयर निस्कासनका लागि निवेदन दिएका र बोर्डले पाइपलाइनमा राखेका कम्पनीहरु यस्ता छन्।सिनर्जी पावर डेभलपमेन्ट– कम्पनीले ७ करोड रुपैयाँ बराबरको सेयर निस्कासन गर्ने छ। स्थानीयहरुका लागि कम्पनीले यो सेयर जारी गर्ने भएको हो। यो कम्पनीले दोलखामा ९. ६ मेगावाटको सिप्रिङ जलविद्युत आयोजना निर्माण गरेको छ। सेयर निस्कासनको मुख्य प्रबद्र्धक सिभिल क्यापिटल मार्केट रहेको छ। १० मेगावाट विद्युत क्षमता रहेको दोलखाको सिप्रिङ खोला हाइड्रोमा कम्पनीको लगानी रहेको छ।
न्याग्दी हाइड्रोपावर– यो हाइड्रोको ९ करोड ७३ लाख रुपैयाँको सेयर सर्वसाधारणका लागि खुल्नेछ। धितो पत्र बोर्डमा गत पुस १४ गते सेयर निस्कासनको लागि निवेदन हालेको छ। कम्पनीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको विद्युत आयोजनामार्फत विद्युत उत्पादन गर्नेछ।
ग्रिन डेभलपमेन्ट बैंक– यो विकास बैंकले १० करोड रुपैयाँ बराबरको सेयर जारी गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ। एनआईबीएल क्यापिटलले मुख्य प्रबद्र्धकको जिम्मेवारी लिएको छ। बागलुङ जिल्लामा मुख्य कार्यालय रहेको यो विकास बैंकले कास्की र म्याग्दी जिल्लामा पनि कार्यालयको लागि अख्तियारी पाएको छ।
अरुण काबेली पावर– यो कम्पनीको १५ करोड रुपैयाँ बराबरको सेयर निस्कासन हुने छ। सर्वसाधारणका लागि सेयर निस्कासन गर्न लागेको कम्पनीले प्रबद्र्धकका रुपमा सिद्धार्थ क्यापिटलसँग सम्झौता गरेको छ। कम्पनीले गत पुस २४ गते धितोपत्र बोर्डमा सेयर आवेदन खोल्न निवेदन दिएको थियो।
नेसनल माइक्रोफाइनान्स– यो लघुवित्तले ३ करोड रुपैयाँ बराबरको सेयर दिने छ। गत माघ ६ गते सेयर निस्कासनका लागि बोर्डमा निवेदन हालेको हो। कम्पनीले प्रबद्र्धकका रुपमा एनआईबीएल क्यापिटलसित सम्झौता गरेको छ। यो राष्ट्रियस्तरको लघुवित्त कम्पनी हो। धादिङमा यसको मुख्य कार्यालय रहेको छ।
सूर्योदय लघुवित्त– १ करोड २० लाख रुपैयाँको सेयर सर्वसाधारणका लागि दिने भन्दै यो कम्पनीले गत माघ १४ गते बोर्डमा निवेदन दिएको छ। ग्लोबल आईएमई क्यापिटल प्रबद्र्धकका रुपमा रहेको छ। स्याङ्जाको पुतलीबजारमा मुख्य कार्यालय रहेको यो संस्थाको कार्यक्षेत्र बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, मनाङ, लमजुङ, मुस्ताङ, गुल्मी, प्युठान र रोल्पा रहेको छ।
खानीखोला हाइड्रोपावर–गत माघ २१ गते कम्पनीले धितोपत्र बोर्डमा सेयर निस्कासनका लागि निवेदन दिएको छ। ९ करोड ३१ लाख रुपैयाँको सेयर सर्वसाधारणका लागि जारी गर्ने कम्पनीको तयारी छ। सिभिल क्यापिटल मार्केट यसको प्रबद्र्धकका रुपमा छनोट भएको छ।
कम्पनीले ललितपुरको भट्टेडाँडाबाट २ मेगावाट विद्युत र ठोस्ने खोलाबाट ४ दशमलव ३६ मेगावाट विद्युत उत्पादनमा लगानी गरेको छ। कम्पनीले यसअघि प्रभावित स्थानीयका लागि सेयर दिइसकेको छ।
हिमालयन पावर पार्टनर–गत फागुन ४ गते यो कम्पनीले १० करोड ६५ लाख रुपैयाँको सेयर सर्वसाधारणलाई निस्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको छ। जसको सेयर प्रबद्र्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।