‘नबिर्सें तिमीलाई’,‘तिम्ले पराई ठानेपछि’ जस्ता गीत हिट भइरहेका समय थियो । आफ्नो करियरमा सफलता लगभग मेरो नजिकै पुगिसकेको थियो । फिल्मदेखि सुगम संगीतसम्म मेरो स्वरको उच्च माग थियो । एकै दिनमै चार÷पाँच वटा गीत रेकर्ड गर्नुपर्ने अवस्था आइसकेको थियो । त्यही बेला एक्कासी मेरो स्वर सुक्यो । गाउँदा स्वर क्लियर नआउने भयो । गाउँदागाउँदै बीचमा स्वर काटिन पनि थाल्यो । उपचारका लागि डाक्टरकहाँ गएँ, स्पीचथेरापी पनि गरियो । तीन महिनाजति रेस्ट लिन लगाइयो । करियर उत्कर्षमा पुगेकै बेला रेस्ट लिने र आउँदा म मानसिक रुपमा पनि कमजोर हुँदै जान थालेकी थिएँ । होमियोप्यथीदेखि एलोप्याथीसम्म उपचारका कुनै पद्धति छाडिएन । तैपनि मेरो स्वरको समस्या २० मा १९ भएन । तर संयोगले खुल्यो स्वर म अन्तिमपल्ट इन्डियामा चेक अप गराएर हेर्छु भनेर वीरगन्ज हुँदै गइरहेकी थिएँ । मान्छेले कमजोर भएकै अवस्थामा भगवान गुहार्छ भन्थे । उपचारले ठीक नभइरहेको अवस्थामा मसँग पनि भगवानको भरोसा गर्नुको विकल्प अरु केही थिएन । उपचार पनि चलिरहेकै अवस्था थियो । यो संयोगले मेरो स्वर खुलायो । मलाई धेरै सताउने अर्काे रोग थियो युरिन इन्फेक्सन । त्यसले लामै समय दुःख दियो । ६ वर्षअघि भएको यो समस्या टिचिङ हस्पिटलमा उपचार गरेर ठीक त भयो । तर, तुरुन्तै पत्ता नलागेकाले ठूलो सास्ती खेपेँ । सुरुमा डाक्टरले ‘ग्यास्ट्रिकका कारण त्यस्तो भएको बताए । त्यसको औषधि खाएँ । तीन महिना त थला परेँ ।
कत्ति पनि बिसेक नभएपछि फेरि उपचार गर्न जाँदा युरिन इन्फेक्सनको उपचार गराएर ठीक भएँ । ६ वर्षदेखि किड्नीतिर दुख्ने समस्या थियो । कहिलेकाहीँ समस्या हुँदा हस्पिटल जान्छु । अलिकति पानी बढी वा कम भयो कि दुख्न थाल्छ । केही समयअघि अमेरिका जाँदा पनि ल्यान्ड हुनबित्तिकै हस्पिटल पुग्नुपर्ने गरी दुख्यो । औषधि गरियो । तर अझै पूर्ण रुपमा ठीक भएको छैन । अहिले पनि धेरै ठाउँ चेकअप गरिसकेँ । किड्नीको समस्या नदेखिए पनि गाइनोपट्टीको होला भनेर त्यसको पनि जाँचपड्ताल गरियो । तर अझै सम्मा केही पत्ता लागेन ।