Breaking News

२५ हजारदेखि २ लाखसम्म तलब दिने नेपालका १० ठूला आइटी कम्पनी यी हुन्

Feb Tue 2020 05:40:17

682 views

२५ हजारदेखि २ लाखसम्म तलब दिने नेपालका १० ठूला आइटी कम्पनी यी हुन्

-जनक तिमिल्सिना

काठमाडाैं-नेपाल आइटीमा राम्रो सम्भावना बोकेका देशहरुमध्येको एक हो । झण्डैं ५ सय कम्पनी रहेको नेपाली इन्फर्मेशन टेक्नोलोजी मार्केटमा १० हजार बढीले रोजगारी पाएका छन् । 'गुपचुप'जस्तो देखिने नेपाली आइटीको लहरो सम्पन्न देशहरुमा हुने विजनेश प्रोसेसिङ आउट सोर्सिङ (बिपिओ)सँग जोडिएको छ ।  आउट सोर्सिङबाट नेपालका आइटी कम्पनीहरुले वाषिर्क रुपमा २५ देखि ३० मिलियन डलर (करिब ३ अर्ब रुपैयाँ) नेपाल भित्र्याइरहेको ब्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार यो बजारलाई ब्यवस्थित गर्न सकेमा यस्तो आम्दानी पाँच गुणासम्म वृद्धि हुने सम्भावना छ । यी कम्पनीमा काम गर्ने कर्मचारीको सेवा सुविधा पनि निकै आकर्षक हुन्छ । यस्ता कम्पनीमा काम गर्ने मानिसले मासिक न्यूनतम २५ हजार देखि २ लाख रुपैयाँसम्म कमाउने गरेका छन् । आइटी इन्जिनियर वा माथिल्लो पदमा रहेर काम गर्ने कर्मचारीका लागि अन्य विशेष सुविधा उपलब्ध गराइएको हुन्छ । उनीहरुले विदेशका सुविधासम्पन्न कम्पनीमा काम गरेको आनन्ददायक अनुभव नेपालकै यी आईटी कम्पनीबाट लिने गरेका छन् । सफ्टवेयर डेभलपमेण्ट, एप, वेव सिष्टम, एसइओ, वेब साइट डिजाइन एवं डेभलपमेण्टजस्ता आइटीसँग सम्बन्धित कामहरु नेपाली आइटी कम्पनीले विदेशका विभिन्न देशहरुका लागि गर्छन् । अहिले भारत, चीन, फिलिपिन्स, भियतनाम, कोस्टारिका जस्ता देश आउट सोर्सिङका प्रमुख हबका रुपमा रहेका छन् । त्यसपछिको ठूलो सम्भावना बोकेको देशका रुपमा नेपाललाई हेरिएको छ । नेपालमा ५ सय आइटी कम्पनीहरुमध्ये धेरैजसो कम्पनी नेपालीकै लगानीमा खडा भएका छन् । केही कम्पनीहरु भने विदेशीहरुले चलाइरहेका छन् । तर, ति सबै कम्पनीमा नेपालीहरु नै काम गर्छन् । नेपालमा रहेका केही ठूला मध्येका १० आइटी कम्पनी यस्ता छन् १. भेरिक्स इन्फर्मेशन टेक्नोलोजी सन् २००० मा अमेरिकामा बस्ने नेपाली रुद्र पाण्डेले क्रिस काइटरसँग मिलेर डिटु हकाई कम्पनी खोलेका थिए । त्यो कम्पनीले नेपालमा पनि आइटी कम्पनी स्थापना गर्‍यो । सम्भवतः नेपालको आउट सोर्सिङमा पायोनियर मानिने यो कम्पनी पछि सन् २००९ मा भेरिक्सको नामले चिनिन थाल्यो । अहिले कम्पनीले अमेरिकी बजारमा नेपालबाट ठूलो मात्रामा आउट सोर्सिङ गर्छ । पाण्डेले यो कम्पनी अहिले विदेशीलाई नै बेचिसकेका छन् । भेरिक्समा ३५० जना भन्दा बढीले काम गर्छन् । यसले सफ्टवेयर डेभलमेण्टका विभिन्न कामहरु गर्छ । हात्तीसारमा रहेको यो कम्पनीले अमेरिकामा चर्चामा रहेका कम्पनीहरुसँग सहकार्य गरेको छ । अमेरिकी हेल्थ केयर र इन्स्युरेन्सका सफ्टवेयर बनाउने लगायतका कामको आउट सोर्सिङ यो कम्पनीले गर्दै आएको छ । २. डियर वाक यो कम्पनी पनि रुद्र पाण्डेकै हो । पाण्डेले भेरिक्स विदेशीलाई बेचेपछि यो कम्पनी खोलेका हुन् । नेपालमा आइटीको ठूलो कम्पनी मध्येमा गनिन्छ डियरवाक । पाण्डे अमेरिकामा बसेर नेपालमा यो कम्पनी हाँक्छन् । आइटी कलेज खोल्ने लक्ष्य लिएको यो कम्पनी पहिले पाण्डेकी श्रीमतीले चलाउथिन पछि उनी स्वयं त्यहाँ गए । सन् २००९ मा खोलिएको यो कम्पनीले अमेरिकी बजारबाट आउट सोर्सिङको काम लिने गरेको छ । कम्पनीका सोलुसन आर्टिटेक्ट लभ काफ्लेकाअनुसार अहिले डियर वाकमा झण्डैं ३५० जनाले काम गर्छन् । अमेरिकी मेडिकेयर क्षेत्रका आइटीसँग सम्वन्धित कामहरु यसले गर्दै आएको छ । डियर वाक सफ्टवेयर निर्माणका लागि कहलिएको कम्पनी हो । यसको मूख्य कार्यलय काठमाडौंको सिफलमा छ । ३. एफ वान सफ्ट ११ वर्षअघि एक सामान्य युवा विद्यार्थी विश्वास ढकालले कोठाबाट सुरु गरेको कम्पनीले अहिले एफ वान सफ्टका रुपमा नेपालमा मात्र होइन्, विश्व बजारमै नाम कमाइरहेको छ । नेपालमा क्यास अन एड, इ-सेवा, फोन पे जस्ता चर्चित सेवाका साथै बैकिङ सफ्टवेयर तथा एप्स निर्माणमा समेत एफ वान सफ्टले ख्याति कमाएको छ । २५० जना स्टाफ रहेको यो आइटी कम्पनीमा १२० जना त इन्जिनियर मात्रै छन् । कमलपोखरीमा रहेको यो कम्पनीको छातामुनि अन्य चार वटा कम्पनी फोन पे (इसेवा), सिरनटेक, धर्मा टेक र क्यास अन एड छन् । यो कम्पनीमा काम गर्ने जनशक्ति सबै नेपाली हुन् । ४. स्प्राउट टेक्नोलोजी स्प्राउट टेक्नोलोजी नेपालको अर्को ठूलो आइटी कम्पनी हो । यो विदेशीले नेपालमा सञ्चालन गरेको आइटी कम्पनी हो । विश्वका ३० देशहरुमा आउट सोर्सिङ गर्ने यो कम्पनीले आफ्ना कामहरु नेपाल र केन्यामा बढी फोकस गरेको छ ।  याे कम्पनीमा १३० जनाले काम गरिरहेका छन् । अनलाइन जबहरु, सफ्टवेयर, डाटा इन्ट्रीलगायतका कामहरु यो कम्पनीले गर्छ । यसको मुख्य कम्पनी भने क्लाउड फ्याक्ट्री हो । यसको कार्यालय ललितपुरको भैसीपाटीमा रहेको छ । ५. इबी पर्ल्स इबी पर्ल्स  नेपालका आइटी कम्पनीहरुको लहरमा अर्को ठूलो कम्पनी हो । काठमाडौंमा १२० स्टाफ सहितको कार्यालय रहेको रहेको यो कम्पनीले २८०० प्रोजेक्टमा काम गरिरहेको छ । वेव डिजाइन, मोबाइल एप, इ-कमर्स, इन्टरप्राइजमा यो कम्पनीले काम गर्दै आएको छ । कुपण्डोलमा मूख्य कार्यलय रहेको इबी पल्र्सको शाखा कार्यलयहरु अस्ट्रेलियाको सिड्नी, मेलबर्न र लण्डनमा रहेका छन् । यो अस्ट्रेलियन मल्टीनेशलन कम्पनी हो । यसले अस्ट्रेलियन सरकारका विभिन्न निकायदेखि सामसुङलगायत विभिन्न कम्पनीहरुसँग काम गरिरहेको छ । ६. लिपफ्रग हिमालप्रसाद कर्माचार्य प्रमुख कार्यकारी अधिकृत रहेको कम्पनी लिपफ्रग नेपालको आइटी कम्पनीहरु मध्येको अर्को ठूलो कम्पनी हो । सन् २०१० मा ८ जना स्टाफ लिएर सुरु भएको यो कम्पनीले दुई वर्षमै ठूलो छलाङ मार्न सफल भएको हो । लिपफ्रगका एचआर म्यानेजर प्रकाश ढकालका अनुसार कम्पनीले अमेरिकाको म्यासाच्युट्स राज्यमा रहेको लिपफ्रग टेक्नोलोजी अाइएनसीको 'क्लाइन्ट'का रुपमा काम गर्छ । 'हामीले मुख्य गरी युएसका लागि काम गर्छौ,' उनले भने । अहिले यो कम्पनीमा १२० जना कर्मचारी कार्यरत छन् । जसमध्ये १ सय बढी इन्जिनियरहरु छन् । कम्पनीले प्रत्येक वर्ष भर्खरै इन्जिनियरिङ पास गरेका विद्यार्थीहरु लिनका लागि तीन वटा ट्रेनिङ समेत गर्ने गरेको छ । कम्पनीले सफ्टवेयर डेभलमेण्टको काम गर्छ । यो कम्पनीको कार्यलय डिल्लिबजारमा रहेको छ । ७. एभिओन्ते नयाँ बानेश्वरमा रहेको एभिओन्तेले नेपालको अर्को ठूलो आइटी कम्पनी हो । यो कम्पनीको मुख्य काम सफ्टवेयर डेभलपमेण्ट हो । यसले इबुक, डाटा माइग्रेशन, अमेरिकन बैंकको डाटा सेक्युरिटी, डाटा कन्भर्जनलगायतका कामहरु गर्छ । यो कम्पनीले नेपालका केही बाहेक सबै अमेरिकाको काम गर्छ । अमेरिका मुख्य कार्यालय रहेको यो कम्पनीको स्थापना सन्दीप आचार्यले आफ्ना साथीसँग मिलेर गरेका हुन् । यो कम्पनीको नेपाल अफिसको सिइओ अहिले उनकी श्रीमती सलुजा आचार्य छिन् । यो कम्पनीमा झण्डैं १ सय बढीले काम गर्छन् । जसमा ६० जनाभन्दा बढी  आइटी इन्जियिनर छन् । ८. ब्रेन डिजिट आइटी सोलुसन : सन् २००८ मा स्थापना भएको नेपाली बजारको अर्को आइटी कम्पनी हो ब्रेन डिजिट । कालिकास्थान काठमाडौंमा रहेको यो आइटी कम्पनीले ग्लोबल मार्केटमा विजनेश एप्लीकेशन डेभलमेण्ट, इन्टरप्राइज कन्टेण्ट डेभलपमेण्ट, मोबाइल एप, कोलाबोरेटिभी इ-कमर्स सोलुसनजस्ता सेवाहरु प्रदान गर्दै आइरहेको छ । ब्रेन डिजिटले क्यानडा र फिलिपिन्समा आउट सोर्सिङ गर्छ । यसबाहेक विश्वका अरु विभिन्न देशहरुमा पनि यसले आफ्ना उत्पादनहरु पुर्‍याउँदै आएको छ । यसले नेपालको श्रम मन्त्रालय र एनसेलका प्रोजेक्टहरुमा पनि काम गरेको छ । कम्पनीले विभिन्न अवार्डहरु पनि हात पारेको छ । हरिमान प्रधान यसका अध्यक्ष रहेका छन् भने निश्चलमान प्रधान प्रमुख कार्यकारी अधिकृत हुन् । यसमा १ सय बढी कर्मचारी रहेका छन् । ९. योमरी सोलुसन सन् १९९७ मा स्थापना भएको हो योमरी सोलुसन । यो नेपालको पूराना आइटी कम्पनीमध्येको एक हो । योमरीले सफ्टवेयर निर्माण, वेव डेभलपमेण्टलगायतका विभिन्न कामहरु गर्छ । यसले नेपाल सरकार, सार्क, नेपाल टेलिकमलगायतका विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय संगठन तथा ब्यवसायिक, शैक्षिक घरानाका प्रोजेक्टहरुमा काम गरिसकेको छ ।  ललितपुरको मानभवन कार्यालय रहेको यो आइटी कम्पनीमा ७० जना भन्दा बढीले काम गर्छन । १०. एक्सेस कि अर्जुन ठकुरी प्रमुख कार्यकारी अधिकृत रहेको एक्सेस की पनि नेपालका ठूला आइटी कम्पनी मध्येकै अर्को एक हो । जसमा ५२ जना कर्मचारीहरुले काम गर्छन् । यसले वेव साइट डिजाइन तथा डेभलपमेण्ट, इकमर्स, सर्च इन्जिन अप्टीमाइजेशन, मोबाइल एप्लीकेशनलगायतका विभिन्न कामहरु गर्दै आएको छ । एक्सेसकीले पनि आफ्ना प्रोडक्टहरु आउट सोर्सिङ गर्दै आएको छ । एक्सेस कीको कार्यालय काठमाडौंको रवीभवनमा रहेको छ । आइटीका अन्य १० ठूला कम्पनीहरुः  ११. लिंक प्लस १२. माइक्रोसफ्ट इनोभेसन सेन्ट १३. जाभ्रा १४. एसपीआई १५. ग्रोबाइ डाटा १६. लगप्वाइन्ट १७. जानकी टेक्नोलोजी १८. लिंक प्रोफेसनल कम्प्युटर सिष्टम १९. मण्डला सफ्टवेयर २०. हाइटेक सोलुसन

-nepalipatra.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?