Breaking News

छिटो पत्रकार बन्ने अभिलाषले अनलाइनखबर जन्मियो : धर्मराज भुसाल

Feb Tue 2020 05:40:45

1353 views

छिटो पत्रकार बन्ने अभिलाषले अनलाइनखबर जन्मियो : धर्मराज भुसाल
मलार्इ निकै छिटो पत्रकार बन्ने सपना उत्रिन थाल्यो । पत्रकारका रूपमा जागिर खाएर आर्थिक समृद्धिको पाटो निकै कठिन हुने देखियो । लामो समयसम्म स्ट्रिन्जर बन्ने अनि नियमित रिपोर्टर भएपछि पनि तलव पाउन निकै समस्या हुने । नाम के राख्ने भन्ने बिषयमा थुप्रै दिन साइबरमा बसेर खोजतलास गरियो । खवरअनलाइन चाहिँ मलाइ मन परेको थियो तर त्यो अरेबिक भाषामा पहिले नै चलेको रहेछ । त्यसैले अनलाइनखबरको नाममा सुरू गरियो । अबको मिडिया अनलाइन हो भन्नेचाहिँ मैले कलेज अध्ययनकैक्रममा सोच्न थालेको थिएँ । त्यसैले अब किन अनलाइनतिर नजाने भन्ने लाग्यो । कलेजमा संगै अध्ययन गरेका केही साथीहरुसँग कुरा गरें, उहाँहरुले उत्साह थपिदिनुभयो । अनि अनलाइन खबर सुरु गरियो ।

नेपालमा अनलाइन पत्रकारिता भन्नेबित्तिकै पहिले झट्ट सम्झिने पोर्टल हो अनलाइन खबर । यही अनलाइन खबरका संस्थापक र प्रधानसम्पादक हुन धर्मराज भुसाल । गुल्मीको ग्रामीण क्षेत्रमा जन्मिएर राजधानीमा आई संघर्षमा होमिएका भुसाललाई यो सफलता सहजै मिलेको भने होइन ।

dharma raj bhusall

 धर्मराज भुसाल

सस्थापक/प्रधानसम्पादक     

अनलाइनखबर

जननिर्वाचित सरकार अपदस्थ गरेर ज्ञानेन्द्र शाहले शाही शासन सुरु गरेपछि भुसालले पनि छापा पत्रकारिताबाट प्राप्त रोजीरोटी गुमाए । शाही शासनको पतन भएपछि उनले यात्रा सुरु गरे पत्रकारिताकै छुट्टै मार्गमा । र, त्यो मार्ग थियो अनलाइन पत्रकारिता । नेपालमा नयाँ यो अभ्यास सुरुसुरुमा भुसालका लागि निल्नु न ओकल्नु बन्यो तर धैर्य अनि निरन्तरको मेहनतले आज अनलाइन खबर नेपालको नम्बर वान न्युज पोर्टल बन्न सफल भएको छ । लो प्रोफाइलमा बस्न रुचाउने भुषाल प्रचारलाई भन्दा नि काम र परिणाममा बिश्वास गर्छन । गाउले सामान्य पृष्ठभूमिबाट आएका उनको अनलाइन पत्रकारितालाई व्यावसायिक र मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका छ । यतिखेरको अनलाइन मिडियाका उनै बादशाह अर्थात धर्मराज भुषालसँग ईप्रोफाइल डट एसियाका लागि नारायण तिवारीले गरेका कुराकानी  :

आफ्नो पारिवारिक पृष्ठभूमिबारे बताइदिनुहोस् न ?

मेरो जन्म २०३९ मा गुल्मीको बाझझकटेरी गाविस वार्ड नं ४  मा भयो । प्राथमिक तहको शिक्षा गाउँमै लिएँ । माध्यमिक तहको शिक्षा जिल्ला सदरमुकामबाट सिद्ध्याएर आईए पढ्न २०५५ सालमा आरआर कलेजमा भर्ना भएँ । पत्रकारिता र मेजर इंग्लिस विषय लिएर पढ्न थालें । पत्रकारितामा मास्टर्स सिद्ध्याएँ । बुवा जयप्रकास  भुसाल, आमा मायादेवी भुसाल, अहिले हामी सबै काठमाडौंमा छौं ।

अनलाइनखबर सुरु गर्नुभन्दा पहिले कहाँकहाँ काम गर्नुभयो ?

पत्रकारिताको सुरुआत केही म्याग्जिनबाट गरें २०५८ सालमा । त्यसपछि केही दैनिक पत्रिकामा स्ट्रिन्जरका रुपमा काम गर्ने अबसर पाएँ । तर, मलार्इ निकै छिटो पत्रकार बन्ने सपना उत्रिन थाल्यो । पत्रकारका रूपमा जागिर खाएर आर्थिक समृद्धिको पाटो निकै कठिन हुने देखियो । लामो समयसम्म स्ट्रिन्जर बन्ने अनि नियमित रिपोर्टर भएपछि पनि तलव पाउन निकै समस्या हुने । त्यसपछि मैले पत्रकारितामै उद्यमशीलताको खोजी गर्न थालेँ ।

dharma raj bhusal (1)

             अनलाइनखबर शुरुहुने बेलामा

सरसापट गरेर २०६० सालतिर सुसेली भन्ने म्याग्जिन सुरु गरें । त्यसबेला स्नातक तह पढ्दैथिएँ । त्यसले मलाई बजार, विज्ञापन, व्यवस्थापनबारे सिकायो । करिव १५ महिना म्यागेजिन चलाएपछि शाहीसासन सुरू भयो । विज्ञापनदाताले विज्ञापन क्यान्सिल गर्नुभयो, म्याग्जिनमा काम गरेका साथीहरुलाई तलब दिन पनि कठिन हुने भएपछि हामीले म्यागेजिन बन्द गरेर अरू बिकल्प खोज्न थाल्यौं । अबको मिडिया अनलाइन हो भन्नेचाहिँ मैले कलेज अध्ययनकैक्रममा सोच्न थालेको थिएँ । त्यसैले अब किन अनलाइनतिर नजाने भन्ने लाग्यो । कलेजमा संगै अध्ययन गरेका केही साथीहरुसँग कुरा गरें, उहाँहरुले उत्साह थपिदिनुभयो । अनि अनलाइन खबर सुरु गरियो ।

अनलाइनखबरको कन्सेप्ट कसरी आयो ?

खासमा मलार्इ म्यागेजिनको असफलताले यता डोर्याएको हो । साथमा बिजनेस भयो भने नयाँ नयाँ क्षेत्रमा रिस्क लिन मानिस अलिक डराउँदो रहेछ । म्यागेजिनको बिजनेस बन्द भएपछि मैले अनलाइनमा कोसिस गर्ने हिम्मत गरेँ । हिम्मत किन भनेको भने, मलार्इ त्यतिबेलासम्म अनलाइन संचालनको बिधि पनि थाहा थिएन र म दैनिक पत्रिकामा मुलधारको रिपोर्टिङमा स्थापित भएको मानिस पनि थिइन, उमेरमा पनि जम्मा २२ बर्षको थिएँ । बिजनेसका हिसावले यसमा स्कोप छ भन्ने लाग्यो, अनि नाम खोज्न र तयारी गर्न थालियो । नाम के राख्ने भन्ने बिषयमा थुप्रै दिन साइबरमा बसेर खोजतलास गरियो । खवरअनलाइन चाहिँ मलाइ मन परेको थियो तर त्यो अरेबिक भाषामा पहिले नै चलेको रहेछ । त्यसैले अनलाइनखबरको नाममा सुरू गरियो ।

कति पुँजीबाट सुरु गर्नुभयो अनलाइन खबर ?

त्यति ठूलो पूँजी लगानी गरेको हैन् । यसलार्इ तपाइँ नेपालका सन्दर्भमा न्यू स्टार्टअप भन्न सक्नुहुन्छ । मेरो अफिस थियो पुरानै त्यसैले संरचना बनाउन समस्या भएन । स्टाफ र स्रोत साधनका लागि भने खर्च थप्नुपर्ने भयो । सुरुमा पाँचसात लाख रुपैयाँ लगानी गरियो । पछि खर्च धेरै बढ्यो अनि ऋण लिनुपर्ने अवस्था आयो । तर, मसँग धितो राख्ने केही थिएन काठमाडौंमा । अनि साथीभाइले चिनेका सहकारीमा जान्थें, ऋण लिन्थें र तलब खुवाउँथे । हामी सुरूदेखिनै ब्रेकिङ न्यूजमा जोड दिएका कारण बजारमा चिनिन धेरै समय लागेन् । एक बर्षपछि केही बिजनेस हाउसले बिज्ञापन दिन थाले र बिस्तारै अवस्था सुध्रिँदै गयो ।

तपाइहरु कहिलेदेखि नाफा कमाउन थाल्नुभयो, अहिले मासिक सरदर कतिको कारोबार गर्नुहुन्छ ?

dharma raj bhusal (7)

        भर्खर बिबाह गरेका भुसाल श्रीमतिसंग

स्थापनाको ४ बर्षपछि अर्थात् सन् २०१० बाट संचालन मुनाफामा जान थालेको हो । काठमाण्डौमा ३० जनाभन्दा बढि नियमित कर्मचारीहरु कार्यरत हुनुहुन्छ । नाफामा मात्रै चलाउनु ठूलो कुरा हैन, तर हामी ग्रोथलाई पनि ध्यान दिइरहेका छौं र निरन्तर लगानी बढाइरहेका छौं । अझै पनि नेपालमा बजारले अनलाइन माध्यमलाई पूर्णरुपमा अंगालिसकेको छैन् । भिजिटरको कुरा गर्दा हामी हरेक बर्ष दुई सय प्रतिशतको बृद्धिदरमा छौं तर बिजनेसलाई त्यही अनुपातमा बढाउन कठिन भइरहेको छ । पहिलेको तुलनामा अहिले बजार मजबुद चाहीं बन्दै गइरहेको छ ।

पत्रकारितामै कसरी आइपुग्नुभयो ?

पत्रकारितामै लाग्छु भन्ने स्कूल जिवनदेखिकै सपनाचाहिं थिएन । गाउँमा मैले कुनै पनि दैनिक पत्रिका देखेको थिइन, त्यसको आर्कषणबारे त थाहा हुने कुरै भएन । खासमा मेरो बुबा मलाई साइन्स पढाएर डाक्टर बनाउन चाहानुहुन्थ्यो । तर, म गणितमा कमजोर थिएँ, कमजोर बिषय पढेर आफुलाई जीवनभर कमजोर देखाउने मलाई पटक्कै इच्छा थिएन । मैले सुटुक्क अर्थशास्त्र पढ्न थालें । बुबाको इच्छामा चिसोपानी खन्याइदिएपछि उहाँ मसँग खुसी हुनुहुन्थेन । त्यसैले मलाई एकखालको पेच थियो, गणित बिषय पढेर आइएस्सी पढ्नेलेभन्दा केही फरक र राम्रो गरेर देखाउनुपर्छ भन्ने । त्यसैले मैले भाषिक बिषयको अध्ययनमा आफुलाई केन्द्रित गरें । लेखन, बादबिबाद र तर्कहरुको अध्ययन गर्न थालें । एसएसलसी पास गरेर काठमाण्डौ आएपछि दाइले भन्नुभयो - तेरा लागि कि कानुन, कि पत्रकारिता ठिक हुन्छ । मेरो मनको कुनै कुनामा पत्रकारिताको दमित इच्छा रहेछ क्यारे, मैले एकैपटकमा पत्रकारिता पढ्ने निश्चय गरेँ र रत्नराज्य कलेजमा पत्रकारिता पढ्न थालें । त्यहींबाट मेरो पत्रकारिताको यात्रा सुरु भयो ।

dharma raj bhusal (2)

                             एसो कहिले काही

पत्रकारिता नगरेको भए ?

सम्भवतः कानुन व्यवसायी हुन्थें कि ।

पत्रकारले पाउने र गुमाउने कुरा के होला ?

पत्रकारिता गरेर गुमाउनुपर्ने केही छ जस्तो मलाई लाग्दैछ, त्यति हो परिवारका अपेक्षा पूरा गर्न अलिक सकिन्न कि १ नभए पत्रकारले जति छ, पाउने नै छ । सिर्जनात्मक बनिन्छ । सम्बन्ध विस्तार हुन्छन् । समाजलार्इ बुझ्ने क्षमता विस्तार हुन्छ । त्यही भएर पत्रकारिताबाट अरु क्षेत्रमा जम्प गरेर सफल भएका पनि थुप्रै उदारहण छन् ।

पत्रकारितामा प्रवेश गर्न चाहने नयाँ पुस्तालाई सुझाव के ?

पत्रकारिता संसारलाई बुझ्ने सबैभन्दा सजिलो माध्यम हो । यो पेसामा जतिसुकै छोटो समय बिताइएको किन नहोस्, अन्य करियरमा भन्दा व्यक्तिको बुझाइको दायरा फराकिलो हुन्छ । यो पेसामा लागेपछि, समाजलाई, संसारलाई र आफैंलाई, आफ्नो जीवनलाई हेर्ने दृष्टिकोण अत्यन्त फराकिलो हुन्छ । तर, यसमा धैर्य अनिवार्य हुन्छ । यसमा कमाइ छिटो हुँदैन, आजको भोलि नै फल पाइँदैन । यही पेसामा सफल हुने हो भने इमान्दारी चाहिन्छ । पत्रकारिता यस्तो पेसा हो जहाँ बिग्रन कत्ति पनि समय लाग्दैन । तपाइँ एउटै सूचनालार्इ सदुपयोग वा दुरूपयोग गर्दा करियर समाप्त हुने वा बन्ने सम्भावना हुन्छ । हजारौं सूचनाको चाङ आफ्नो दिमागमा राखेर पत्रकारितामा अर्को खुट्किलो उक्लिन पनि सकिन्छ । तर हामीकहाँ सीपको अभाव एकातिर छ भने अर्कातिर आजको भोलि नै प्रतिफल खोज्ने प्रवृत्तिले गर्दा पनि समस्या देखियो । त्यसैले सीप, समर्पणको भावना र धैर्य छ भने यो पेसामा आउँदा हुन्छ । मैले देखेको एउटै सर्तचाहिँ सीप हो, सीपका लागि अध्ययन नभइ हुँदैन ।

बजारको सामथ्र्यभन्दा सञ्चार माध्यम धेरै भए भन्ने पनि सुनिन्छ, तपाईंलाई कस्तो लाग्छ ?

म क्वान्टिटीमा क्वालिटीमा जोड दिन्छु । सयौं मिडिया हाउसभन्दा दुई चारवटा राम्रा, क्षमतासहितका मिडिया हाउस भए भने सूचनाको हकको रक्षा हुन्छ र मिडिया उद्योग स्वाबलम्बि पनि बन्छ । धेरै संचारमाध्यमका लागि बजार सानो छ, कमजोर आर्थिक अबस्था भएको संचारमाध्यमले निर्भिकतापूर्वक पाठकका पक्षमा लड्न सक्दैन् । त्यसैले म सामथ्र्यसहितको संचारमाध्यमको पक्षमा छु, कम वा धेरै भन्ने कुरा बजारले आफै छान्दै जान्छ । मिडियालाई यदि मिसन नबनाएर उद्योगका रुपमा विकाश गर्ने हो सरकारले पनि संचारमाध्यम दर्ता लगायतका बिषयमा केही सुधार गर्नुपर्छ । पूंजी र सीपका सन्दर्भमा निश्चीत सर्त र पूर्वाधार पुरा गरेपछिमात्र संचारमाध्यम चलाउन पाउने ब्यबस्था गर्दा राम्रो हुन्छ ।

अनलाइन माध्यमहरु गम्भिर भएनन्, बिश्वसनियता भएन भनेर आलोचना गरिन्छ । अनलाइनखबरका बिषयमा पनि कहिलेकाहीं त्यस्ता टिप्पणी सुनिन्छ, के भन्नुहुन्छ ?

अहिले नयां नयां अनलाइनहरु खुल्नेक्रम तिब्र भएको छ । जहां धेरै पुहंच हुन्छ, त्यहां त्यतिकै फोहोरको सम्भावना पनि हुन्छ । अनलाइनहरुका सन्र्दभमा भएका त्यस्ता केही आलोचना सही हुनसक्छन् । तर, मैले सम्पूर्ण अनलाइन उद्योगको जवाफ दिन सक्दिन् । अनलाइनखबरका सन्दर्भमा अनलाइनखवरको बृद्धि र जबरजस्त उपस्थितीलाई स्वीकार्न धेरै मानिसलाई गाह्रो परेको थियो । किनभने हामी कुनै स्टार रिपोटर थिएनौं, बिसौं बर्ष पत्रकारिता उद्योगमा काम गरेर सेलिब्रीटीको हैसियत बनाएका पनि थिएनौं । हामीले काम गरेरै आफुलाई सावित गरेर नम्बर एक बनेको हो, त्यसैले कहिलेकाहीं यसरी सडकबाट संर्घष गरेर उठ्नेहरुलाई स्वीकार्न गाह्रो हुन्छ एउटा तप्कालाई । हामी यो उद्योगको अग्रणी संस्था हौं र हामीले गर्ने क्रियाकलापले उद्योगलाई हेर्ने दृष्टिकोण निर्माण हुन्छ भन्ने जिम्मेवारी बोधका साथ काम गरिरहेका छौं ।

भविष्यका लागि के सोच्दै हुनुहुन्छ रु अनलाइनबाहेक अरु पनि सुरु गर्ने कि ?

onlinekhabar  team

भूकम्पको बेला ग्यारेजबाट रिपोर्टिंगमा ब्यस्त अनलाइनखबरको टिम

मलाई के लाग्छ भने अनलाइनखबर अहिले नै सफल बनिसकेको प्रोजेक्ट हैन् । सफलताउन्मुख छ, त्यसका लागि पर्याप्त संकेत र आधार छन् तर हामी सफल बन्न सक्ने कि नसक्ने भन्ने कुरा आगामी दिनमा हामीले गर्ने कामले निर्धारण गर्छ । पत्रकारितामा अबको माध्यम अनलाइन नै हो । त्यो बिश्वास कतैपनि डगमगाएको छैन् । त्यसैले मैले अनलाइनखवरको विकाश र विस्तारमै आफ्नो समय र पूंजी लगाउने छु ।यसको विस्तारका क्रममा अन्य माध्यमहरूमा जानुपरे पनि तयार छु । मैले त काम गर्दै जाने हो, समयले कता डोर्याउँछ त्यो अहिले नै भन्न सक्दिन ।

फर्केर हेर्दा आफ्नो यात्रा कस्तो देख्नु हुन्छ ?

ठूलो पहाडको फेदमा रहेजस्तो । केही खुडकिला त हिडेको छु तर, पुग्नु धेरै माथि छ । तर, मलार्इ हाम्रा सन्तोष गर्ने ठाउँ कहाँ छ भने आज यो यात्रामा लाखौं पाठक र सहयात्रीहरु हुनुहुन्छ । एउटा मजबुद र सक्षम टीम छ । त्यसैले आगामी यात्रा चुनौतीपूर्ण भए पनि कठिन हुनेछैनन् । अनलाइनखबर मैले सुरु गरे पनि यो अब मेरोमात्र रहेन, नेपाली पत्रकारिता र समाजको अंग बनिसक्यो । लाखौं पाठक यसका हिस्सेदार बनिसक्नुभयो । म यसको ड्राइभिङ सिटमा छु । यो भूमिकामा रहुन्जेलसम्म मैले कुशलतापूर्वक अगाडी बढाउनुपर्छ भन्ने जिम्मेवारीबोध छ ।

साभार :Eprofile.asia/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?