Breaking News

कब्जामा कन्सल्टेन्सी : राम्रा डराउन पर्दैन र खराबले छाडेर गए हुन्छ – एसएसपी खनाल

Feb Tue 2020 05:40:14

553 views

कब्जामा कन्सल्टेन्सी : राम्रा डराउन पर्दैन र खराबले छाडेर गए हुन्छ – एसएसपी खनाल

कब्जामा कन्सल्टेन्सी

अमेरिका जाने आशामा ६३ लाख बुझाएका योगी र शेर्पा अमेरिका पठाउने भन्दै १६ जनाबाट २ करोड ३ लाख ९२ हजार ठग्ने फन्दामा बन्द भएका अमेरिकी कलेजमा पठाउने भन्दै १५ जनाबाट पौने २ करोड ठगी सुशील कोइरालासँगै अमेरिका पठाइदिने भन्दै ठगी अमेरिका पठाउन सरकार, विश्वविद्यालय र बैंकका नक्कली कागजात अमेरिका लगायत विदेश पठाउन एउटै व्यक्तिका दुई एमआरपी र दुई नागरिकता


अस्मिता खड्का / काठमाडौं 

उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहाने विद्यार्थीहरुको लागि परामर्श दिने भन्दै नेपालका सानादेखि ठूला शहरका गल्ली चोक र बजारका मुख्य भागका घर घरमा कन्सल्टेन्सीको बोर्ड झुण्डाएको भेटिन्छ । अध्ययनका लागि विदेश विद्यार्थी जान चाहेको देश र कलेजको बारेमा जानकारी दिने उदेश्य राखि कन्सल्टेन्सी सञ्चालनमा ल्याउनु राम्रो काम हो । 

तर, जुन उदेश्यले कन्सल्टेन्सी खोलिएको हो त्यही उदेश्य अनुसार काम नभएको  सूचना पाएपछि गत भदौ महिनादेखि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले अहिलेसम्म उपत्यकामा ३४ वटा कन्सल्टेन्सीका सञ्चालनमाथि कार्वाही गरेको महाशाखाका प्रमुख एसएसपी सर्बेन्द्र खनालले जानकारी दिनुभयो ।

शैक्षिक परामर्शका नाममा  कन्सल्टेन्सीहरुले राहदानी किनबेच गरेको, विदेश जाने विद्यार्थीबाट दोब्बर तेब्बर रकम असुलेको, एउटा कलेजको नाम नक्सा देखाएर अर्कै कलेज पुर्याउने गरेको, विदेशमा भने जस्तो काम र कलेज नपाएको भन्दै पीडित विद्यार्थी र विद्यार्थीका अभिभावले दिएको उजुरीका आधारमा प्रहरीले उपत्यकामा रहेका कन्सल्टेन्सीहरूमा छापा मारेपछि उनीहरुले गर्दै आएको ठगी धन्दा छरपष्ट हुँदै गएको छ ।

उपत्यकामा घरै पिच्छे जस्तो खुलेका कन्सल्टेन्सीहरुको  कृयाकलाप विद्यार्थीलाई सहि जानकारी दिने भन्दा पनि विद्यार्थीलाई ठूला ठूला सपना देखाउने र एक महिलामा यति लाख कमाउन सकिन्छ भन्दै सकेजति पैसा लुट्नमा मात्रै केन्द्रित भएको कुरा प्रहरीले ३४ वटा कन्सल्टेन्सीमा गरेको कार्वाही पछि खुलेको छ । कन्सल्टेन्सीहरु परामर्शमा  मात्र समित छैनन्, उनीहरु मानिसको किनबेच गर्नेमा समेत संलग्न रहेको प्रहरीको दाबी छ ।

नेपाली विद्यार्थीको पहिलो र सपनाको देश अमेरिका हुने गरेकाले यहाँ जान चाहानेहरुले तेब्बर रकम कन्सल्टेन्सीहरुलाई बुधाएको प्रमाण फेला परेको अपराध अनुसन्धानका डीएसपी नरेन्दै चन्दको भनाइ छ ।  वर्खाको च्याउ जस्तै खुलेका कन्सल्टेन्सीको राज्यले नियन्त्रण र अनुगमन नगर्दा यस्तो विथिति भएको अभिभावकहरुको तर्क छ । प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार अमेरिका जाने सपना बुनेका १७ जना विद्यार्थी दलाल र कन्सल्टेन्सीबाट ठगिएका छन् ।

प्रहरीले अवैध रुपमा सञ्चालन गरेका कन्सल्टेन्सीमा छापा हान्न थालेपछि रातारात दर्ता गर्न पुगेका कन्सल्टेन्सीहरुबाट मात्र ८० लाख राजस्व उठेको प्रहरी डीएसपी चन्दसँग हिसाब छ ।


अमेरिका जाने आशामा ६३ लाख बुझाएर ठगिए योगी र शेर्पा

काठमाडौं कोठाभाडामा बस्दै आएका जाजरकोटका २९ वर्षीय कालुनाथ योगीले अमेरिका जानेभन्दै स्वयम्भुका गेल्वो लामा र साङ्दोमा लामालाई २२ लाख दिएको ७ महिना बित्यो । उनीसंगै शशी शेर्पा,लाक्पा शेर्पा र निमा शेर्पाले पनि स्वयम्भुका गेल्वो लामा र साङ्दोलाई क्रमश १३ लाख, १२ र १६ लाख दिएका छन् । उनीहरुले अमेरिका उड्नु भन्दा पहिला २५ /२५ लाख बुझाउने सहमति भएको योगीले सुनाए ।

ति  दम्पत्तिले युएन देखि अमेरिकन एम्बेसीसम्मका नक्कली  मान्छे र कागज पत्र देखाएपछि अमेरिका जानको लागि  पैसा दिएको योगीले बताए । चार जनाको पैसा लिएर सम्पर्क विहिन भएका लामा दम्पत्तिले आफूहरुलाई ठगेको कुरा पैसा बुझाएको ७ दिनपछि मात्र थाहा पाएको योगीले सुनाए । उनी अहिले न्यायको लागि गृहमन्त्रालयदेखि प्रहरीसम्म दिनकै धाउने गर्दछन् । उनले भने  मलाई ठग्ने विरुद्ध मुद्धा दर्ता गराएको छु , आशा छ प्रहरीले ति अपराधीलाई हतकडी लगाउने छ ।’

अमेरिका जाने आशामा शैक्षिक माफियाबाट ठगिएका १६ जना प्रहरीको शरणमा

 अमेरिका जाने आशामा शैक्षिक माफियाबाट  ठगिएका  १६ जना  विद्यार्थी   प्रहरीको सम्पर्कमा पुगेका छन् । अमेरिका पठाइ दिन्छु भन्दै विद्यार्थीबाट मोटो रमक असुल्लने डाइनामिक कन्सल्टेन्सीका सञ्चालनक राम शरण कंडेल अहिले प्रहरीको खोरमा छन् ।

पुलिसको सम्पर्कमा आएका पीडित १६ जनाबाट दलाल र कन्सल्टेन्सीले  २ करोड ३ लाख ९२ हजार ठगी गरेको प्रहरीले  जानकारी दिएको छ । अमेरिका पठाउने भन्दै एक जना विद्यार्थीबाट ४५ लाखसम्म कन्सल्टेन्सीहरुले लिने गरेको पीडित विद्यार्थिहरुले प्रहरीलाई दिएको निवेदनमा उल्लेख छ । विश्वासको भरमा विद्यार्थीले विना रसित कन्सल्टेन्सी सञ्चालकलाई पैसा बुझाउँदा प्रमाणको अभावले केही ठगहरु  कानुनको पञ्जाबाट उम्कन सफल  भएका छन् ।

बन्द भएका अमेरिकी कलेजमा पठाउने भन्दै १५ जनाबाट पौने २ करोड ठगी

उत्तर अमेरिकाको सेन्ट लुसियाको लेम्बर्ड एकेडेमीमा अध्ययनका लागि पठाइदिने भन्दै प्रति विद्यार्थी १२ लाख रुपैयाँका दरले १५ जनालाई ठगी गर्ने चितवन भरपुर भिसा एब्रोड एजुकेशन कन्सल्टेन्सी चलाउँदै आएका २६ वर्षीय सुजन न्यौपानेलाई पनि ठगी अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

सेन्ट लुसियाबाट एक वर्षपछि सिधै संयुक्त राज्य अमेरिका पठाइदिने भन्दै उनले १५ जना विद्यार्थीलाईबाट पैसा उठाएर,सो ठाउँमा पठाएका थिए । तर, ती विद्यार्थीहरु त्यहाँ पुगेपछि उक्त कलेज(लेम्बर्ड एकेडेमी)विरुद्ध मानवबेचविखनको मुद्दा परेर बन्द रहेको र त्यो नाम मात्रको कलेज रहेको थाहा पाएपछि उनीहरु १० दिनमै नेपाल फर्किए । नेपाल फर्किए लगत्तै उनीहरुले आफू  एब्रोड एजुकेशन कन्सल्टेन्सीबाट ठगीएको भन्दै प्रहरी कहाँ पुगेर मुदा दर्ता गराएका थिए ।

सुशील कोइरालासँगै अमेरिका जाने आशामा १ लाख बुझाएका बिष्णु केसी

डकुमेण्ट कुरियर गर्न, अनि कलेजलाई इन्फर्म र इन्टरभ्युसम्म गरेर त्यही ५० हजार रुपैंया जत्ति लाग्ने भन्दै कन्सल्टेन्सी सञ्चालकले माग्ने गरेकाे  चितवनको एक कन्सल्टेन्सीलाई  १ लाख बुझाएका विष्णु के सीले बताए । उनलाई त्योबेला शुसील कोइरालासंगको भ्रमणका क्रममा मिलाई दिने भन्दै पैसा लिएको रहेछ । तर, सुशील कोइराला स्वर्ग गइसके, ती विद्यार्थी अझै अमेरिका पुगेका छैनन् ।

विद्यार्थीले कन्सल्टेन्सीको नाम नलेखिदिन आग्रह गर्दै   अझै पठाउँछ कि भन्ने आशा व्यक्त गरे । उनले भने  –‘नाम बाहिर आयो भने त्यही एक लाख पनि खाई दिन्छ कि भन्ने डर ।’ २५ लाखमा तीन महिना भित्र अमेरिका पठाई दिने शर्तमा १ लाख लिएको सुनाए । १९ वर्षका केसी संगै उनका ठूलो आमाका छोरा रमेश आर्चायले पनि त्यही कन्सल्टेन्सीलाई अमेरिका जाने भन्दै १ लाख बुझाएको ८ महिला भयो तर, अहिलेसम्म उनीहरुको पैसा र एमआरपी दलालको हातमा नै रहेको सुनाए ।

विद्यार्थीहरु पढ्न होइन, कमाउन आउन चाहन्छन् अमेरिका

नाम नबताउने सर्तमा कन्सल्टेन्सी सञ्चालक भन्छन् ‘अधिकांस नेपाली विद्यार्थी पढ्न भन्दा पनि कमाउन विदेश जान चाहन्छन् । उनीहरु जति पनि खर्च गर्न तयार भएपछि हामीले पनि कमाउनै पर्यो  । डकुमेण्ट बनाईदिन्छौं ती विदेश जान्छन् हामी ब्यवसाय चलाउँछौं ।’

विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीको पहिलो प्रश्न हुन्छ पढाई र काम संगसंगै के गर्न  पाईन्छ की पाईदैंन । पढाई सकेपछि देशमा काम गर्ने अवसर नपाएकाहरु पनि विद्यार्थी भिषामै विदेशीने भन्दै कन्सल्टेन्सी धाउने गर्छन् । ‘नेपालमा बसेर के गर्ने ? काम अनुसारको दाम र स्तर हुदैन । त्यही कारण यहाँ एसएसलसी पढ्नेदेखि मास्टर्स पढेपछि पनि टार्गेट भनेकै विदेश हुन्छ ।’ उनले भने ।

नेपालीका धेरै विद्यार्थी उच्च शिक्षा लिनको लागि अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, न्युजिल्याण्ड, बंगलादेश, क्यानडा जाने गर्दछन् । त्यस बाहेक स्वीट्जरल्याण्ड, नेदरल्याण्ड लगायतका देश पनि नेपाली विद्यार्थीको रोजाईमा रहेका छन् । यी देशमा पठाउनेको लागि  ४० देखि ५० लाख रुपैयाँ कन्सल्टेन्सीहरुले असल्ने गर्दछन् ।

सरकार, विश्वविद्यालय र बैंकका नक्कली कागजात

अधिकांश कन्सल्टेन्सीले विश्वविद्यालय, मन्त्रालय, बैंक, वडा कार्यालयका नक्कली छाप, लेटरप्याड र सटिफिकेट समेत आफैं बनाएको अपराध महाशाखाका प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले भनाइ छ । खनालले भन्नुभयो यसरी दुइ नम्बरी गर्ने तल्लो तहका माफिया समातेर हुँदैन चिल्लाकारबाट थुतेर ल्याउँछु । प्रहरीले मलाई आधा घण्टा राख्ने औकात छैन भन्नेहरु १६ दिन भयो खोरमै छन् ।’ उहाँले अगाडि थप्नुभयो ‘केही ठाउँबाट  यसो नगर्ने दाबाप त छ तर, मैले छोडेको छैन, म हुँदा सम्म छोड्दा पनि छोड्दैन ।’

यता सुन्दर भविश्यको खोजीमा कन्सल्टेन्सी धाउने युवाहरुलाई मोटो रकम असुल्दै विदेशमा बेचविचको धन्दा चलाएका कन्सल्टेन्सीहरुले राताराता धनाड्य बन्ने सपना देखाएर उनीहरुको इच्छालाई अझै आकर्षित हुने गरी युवाको मनोविज्ञानमाथि दावाव पार्ने  गरी परामर्श  दिने  गरेको अधिकारकर्मी बताउँछन् ।

अमेरीकामा पुगेपछि पैसा जति पनि कमाउन सकिन्छ भन्ने लोभ देखाउँदै,  कन्सल्टेन्सीमा आउने विद्यार्थीलाई नै पैसावाला केटी खोजेर आउन सुझाव दिने गरेको पुतली सड्कमा रहेको एक कन्सल्टेन्सी सञ्चालनकले बताए । उनले भने नेपालीका छोराछोरी पढ्न कोही जाँदैन पैसा कमाउन जाने हुन ।’ केही कन्सल्टेन्सीले त केटी खोजेर नक्कली विवाह समेत गराउने गरेको ती सञ्चालकले दाबी नै गरे । यसरी हेर्दा कन्सल्टेन्सीहरुले परामर्श दिने मात्र होइन, भनेजति पैसा जम्मा गर्न नसक्ने अवस्थाका जेहेन्दार विद्यार्थीलाई ४० /५० लाख तिर्न सक्ने केटी खोजेर विवाह समेत गराएर विदेश पठाउने काम गर्दछन् । कन्सल्टेन्सीले गराउने विवाह अमेरिका पुगेपछि छोडपत्र दिने गरी काजग गराउने गरेको ती सञ्चालकले बताए ।

‘हामीले त सबैलाई राम्रो होस् भन्दै उपाय दिएको हो । उनले अहिलेसम्म धेरैको यसैगरी मिलाएर पठाउने गरेको दाबी गरे ।’ उनले नाम नबताउने सर्त राख्दै भने ‘यो हामी एक्कलैले कसरी गर्नसक्छौं, गाउँमा विवाह दर्ता गर्ने वडा सचिव देखि अदालतमा दर्तागर्ने न्यायाधिश र वैकहरुसमेत मिलेका हुन्छन् । यसमा त सरकारी कर्मचारीको झन ठूलो भूमिका हुन्छ । पैसा भएपिछ यो देशमा सबै हुन्छ ।’ यी कन्सल्टेन्सी सञ्चालनक चितवनका हुन ।

कन्सल्टेन्सीको छाता संगठन इक्यानका अनुसार आवश्यक परामर्शभन्दा बढी नै रकम लिएर विद्यार्थीलाई विदेश पठाउने काम केही कन्सलटेन्सीहरुले गर्दै आएका छन् । यस्तो काम गर्ने मध्यम र तल्लो श्रेणीका कन्सल्टेन्सी रहेको इक्यानको भनाइ छ ।  यता विदेशमा अध्ययनका लागि जाने विद्यार्थीलाई सेवा र सुविधाको लागि सरकारको साटो आफूले परामर्श दिइरहेको ती शैक्षिक माफियाहरुको दाबी छ ।

विदेशमा उच्च शिक्षा हाँसिल गर्नको लागि जाने नेपाली विद्यार्थीको संख्या वर्षेनी बढी रहेको छ । पछिल्लो तथ्यांक अनुसार करिव २७ हजार ८ सय ३३ जना विद्यार्थी आधिकारिक रुपमा विदेश गएका छन् । यो भारत बाहेकको संख्या हो । यसरी विद्यार्थी देश बाहिर जानुको मूल कारण नेपालमा गुणस्तरीय र व्यवसायिक शिक्षा नहुनु,  राजनीतिक  अस्थिरता बढ्नु,  पढाईसगै गर्नुपर्ने काम र बाँच्ने आधार नहुँदा नेपालबाट विदेश जाने विद्यार्थीको संख्यामा बृद्धि हुँदै गएको इक्यानको बुझाइ छ । युवा र दक्ष जनशक्ति विदेशमा पलायन हुनु देशका लागि दुर्भाग्यपूर्ण रहेको शिक्षा एवं अर्थ्विदहरुको भनाइ छ ।

कुन देश जाँदा कति खर्चलाग्छ भन्ने निश्चित मापदण्ड नतोकिदा विद्यार्थी ठगीने गरेको अनेरास्ववियू क्रान्तिकारीका नेता रमेश मल्ल बताउँछन् । विदेश जाने विद्यार्थिका लागि शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०६८ बनेको छ । तर, दलालको जलमा फसेका विद्यार्थीहरुलाई यसको बारेमा कुनै ज्ञान नभएको मल्लले बताए ।

प्रहरीले छापा  हानेपछि उपत्यकाबाट बाहिरिएका केही कन्सल्टेन्सी सञ्चालकले फेरि अर्को ठाउँबाट त्यही ठगी धन्दा चलायन नसकुन भनेर शैक्षिक माफियाका ठाउकेहरुलाई घोक्रेठ्याक लगाउने योजनामा प्रहरी जुटेको सर्बेन्द्रको भनाइ छ ।

सबैको पहिलो रोजाई अमेरिका

कन्सल्टेन्सीहरुका अनुसार विदेश जाने अधिकांश विद्यार्थी प्लस टु पास गरेका भए पनि स्नातकोत्तर गरेकाहरुको संख्या पनि उल्लेख्य हुन्छ । ‘पढ्ने भन्ने त बहाना मात्र हो, उता जाँदा हुने खर्चलाई लगानी ठानेर काम गर्छन्’, ती सञ्चालकले भने । ‘पहिलो कुरा उनीहरु ‘सेक्योर’ हुन जान्छन् । ‘सेक्योर’ भनेको आफुलाई काम पनि पढाईपछि त हो ।’ इक्यानका अनुसार वार्षिक करिब ३० हजार नेपाली विद्यार्थी विभिन्न देश जान्छन् । धेरैजसो विद्यार्थीको पहिलो रोजाई सबैको सपनाको शहर अमेरिका नै हो  भने दोस्रोमा अष्ट्रेलिया सुरक्षित मानिन्छ । विदेशमै सेटल हुन चाहने अधिकांस नेपाली विद्यार्थीको गन्तब्य हो अष्ट्रेलिया ।

नेपालमा करिब ५ हजारको हाराहारीमा कन्सल्टेन्सी रहेको अनुमान गरिएपनि शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखामा  १२ सय ३६ कन्सल्टेन्सीको तथ्याङ्क छ भने ७ सय कन्सल्टेन्सीले अनुमति लिएको त्यसमा साढे ३ सय मात्रै सञ्चालनमा रहेको देखिन आउँछ ।  यसरी हेर्दा अधिकांस कन्सल्टेन्सी दर्ता नै नगरिकन सञ्चालनमा आएका छन् ।

कन्सल्टेन्सीहरुले कर समेत छलेको भन्दै राजस्व अनुसन्धान विभाग पुल्चोकले  काठमाडौंका केही कन्सल्टेन्सीहरुमा छापा  मारेको थियो । प्रहरी र राजस्व विभागले  छापा हाने संगै  नेतादेखि मन्त्रालयका कर्मचारी समेत अत्तालिएपछि अनुसन्धान रोक्ने दवाव प्रहरीले खेप्नु परेको छ । यता कन्सल्टेन्सीको अनुगमनका लागि भन्दै मन्त्रालयले १८ सदस्यीय समिति बनाए पनि काम प्रभावकारी भएको देखिदैन ।

शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाका अनुसार आर्थिक वर्ष २०७० /०७१मा २८ हजार १ सय २६ जना विद्यार्थीले विदेश अध्ययनका लागि नो अब्जेक्सन लेटर लिएका छन् । यो तथ्यांक भारत बाहेकका मुलुकमा अध्ययन जाने विद्यार्थीको हो । तर, दलाल मार्फत गैरकानुनी रुपमा विदेश पुग्ने विद्यार्थीको संख्या यत्तिनै छ भन्न सक्ने अवस्था भने छैन ।

परामर्श व्यवसायलाई ब्यवस्थित गर्न भन्दै शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्दे्शिका २०६८ जारी भएको छ । निर्दे्शिकामा परामर्शदाताले विभिन्न ४ निकायबाट तालिम लिन सक्ने उल्लेख गरिएको छ । शिक्षा मन्त्रालय वा अन्र्तगतको निकायबाट, विदेशी कुटनीतिक निकायबाट, शैक्षिक परामर्श संघबाट र शैक्षिक परामर्श क्षेत्रमा लगातार ३ बर्ष काम गरेका आधारमा प्रति संस्था प्रति बर्ष बढिमा २ जनाका दरले प्रमाणपत्र दिईने उल्लेख छ । तर, यस तर्फ कुनै पनि काम नगरी मन्त्रालयले एकाएक कार्वाही र दर्ता प्रकृया रद्ध गरेको इक्यानको दावी छ ।

राम्रा डराउन पर्दैन र खराबले छाडेर गए हुन्छ – एसएसपी खनाल

कन्सल्टेन्सीले आयोजना गरेको कार्यक्रमा पुगेरै एसएसपी खनालले भन्नुभयो ‘परामर्श दिने राम्रा संस्था डराउन पर्दैन र खराबले छाडेर गए हुन्छ ।’ उहाँले यसो भनेपछि ठूलो ठाउँको आड पाएका भन्नेहरुको पनि  भाग भाग नै मच्चिएको छ । ‘अरुले यस्तो गर्नुहुँदैन भन्छन् मैले गरेकै छु, सुइप नै गर्ने मेरो अभियान हो । नेपालीका छोराछोरी ठग्ने कसैलाई पनि छोड्दैन’ उहाँले भन्नुभयो । महानगरीय अपराध महाशाखा टेकुले कन्सल्टेन्सीबाट ठगीएका विद्यार्थीलाई सम्पर्कमा आउन आव्हान गरेपछि काठमाडौंका शैक्षिक माफियाको होश नै उडेको छ । सानो कामको लागी ठूलो धन असुलि गर्दै आएका माफियाहरुले प्रहरीले कन्सल्टेसी र म्यानपावर कार्वाही गर्न नछोडे  बन्द गर्ने धम्की दिँदै आएका छ ।

कन्सल्टेन्सीका २३ संचालक पक्राउ, अमेरिका लगायत विदेश पठाउन एउटै व्यक्तिका दुई एमआरपी र दुई नागरिकता

विद्यार्थी एवं सर्वसाधारणबाट १२ देखि १५ लाख रुपैयाँ लिने गैर कानुनी रुपमा सञ्चालन भएका विभिन्न कन्सलटेन्सीका २३ जना सञ्चालकलाई प्रहरीले पक्रेको थियो । ति कन्सलटेन्सीबाट प्रहरीले विद्यार्थीहरुको राहदानी, विभिन्न कार्यालयका छाप पनि बरामद गरेको छ । साथै विदेश पठाउन एउटै व्यक्तिका दुई एमआरपी र दुई नागरिकता समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका विभिन्न कन्सलटेन्सीका २३ जना संचालक मध्ये ११ जनालाई महानगरीय प्रहरी परिसर टेकुमा, ४ जनालाई प्रहरी बृत्त गौशालामा, २ जनालाई प्रहरी बृत्त बानेश्वरमा र ५ जनालाई महानगरीय प्रहरी परिसर ललितपुरमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुले शिक्षा मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा एवं सम्बन्धित निकायमा दर्ता नै नभई गैर कानूनीरुपमा कन्सलटेन्सी संचालन गरी सर्वसाधारण बेरोजगार युवा एवं विद्यार्थीबाट  ठूलो मात्रामा रकम लिई ठगी गरेको प्रहरीसंग प्रमाण छ ।

प्रहरीले गोप्य सूचनाका आधारमा विभिन्न कन्सलटेन्सीमा छापा मारेर संचालकलाई पक्रेको हो । उनीहरु बिरुद्ध ठगी मुद्धामा अनुसन्धान गरी कारवाही गरिने प्रहरीले जनाएको छ ।

प्रहरीले ग्रिन माउन्टेन कन्सलटेन्सी कुपण्डोलका संचालक राजेन्द्र पोखरेललाई पक्राउ गरी २५ थान पासपोर्ट समेत बरामद गरेको छ । यस्तै फोरटुयन इजुकेशन कन्सलटेन्सी कुपण्डोलबाट ४ थान पासपोर्ट सहित संचालक विजयकुमार बस्नेत, सि ए सि नेपाल लगनखेलका विरेन्द्र बज्राचार्य, सुभारु कन्सलटेन्सी लगखेलबाट ६ थान पासपोर्ट सहित संचालक अन्जन कुमार थापालाई पक्रेको छ ।

यस्तै न्यूम्यान कन्सल्टेन्सीकी रश्मी श्रेष्ठ, बागबजारमा रहेको ए टु जेड इन्सिच्युट एण्ड कन्सलटेन्सीका शिब अर्याल, सिक्यास व्रिज तु स्टडी इन चाईना ग्लोवल सेन्ट्रल इजुकेशन कन्सलटेन्सीका डाक्टर एरिस उप्रेती, क्यानोन इन्टरनेशनलका लोकेन्द्र सुवेदीलाई पक्रेको छ ।

प्रहरीले बागबजारमै रहेको ओइसिस माईग्रेसन कन्सलटेन्सीका राम थापा, सुब्लिमी इजुकेशन कन्सलटेन्सीका समर शाह, थिन्क इजुकेशन कन्सलटेन्सीका जीवन थापा र सुदिप चन्द्र पारेल, मिराज जापानिज ल्याङवेज कन्सलटेन्सीका सुदिप पराजुली, निक इजुकेशन ल्याङवेज पुतलीसडकबाट ७ थान पासपोर्ट, ७ थान विभिन्न कागजात सहित संचालक दामोदर शर्मा, वेभ इन्टरनेशनल पुतलीसडकका दिपक पुडासैनीलाई पक्रेको छ । यस्तै बानेश्वरबाट इडिफी इजुकेशनल कन्सलटेन्सीका ऋषि थपलिया, ग्लोइडियु हबकी सपना पौडेल, पेस्कल टेच्नो इजुकेशनल कन्सलटेन्सीका देवकृष्ण केसी, चावहिलबाट सेक्यूरेड लाइफ इन्टरनेशल ग्रुपका रामचन्द्र के.सी., लोटस फ्लावर इनटरनेशनलका ज्ञानन्द्र सिंखडा, लोटस फ्लावर इनटरनेशनलकै शिशिर वाग्ले, कमलादीबाट मिसन अल इजुकेशनल कन्सलटेन्सीका प्रभात श्रेष्ठ पक्राउ परेका छन् ।

यस्तै चावहिलमा संचालित स्क्वार्ड इजुकेशनल एण्ड रिर्सज सर्भिसका किरण अधिकारी र पुतलीसडकमा रहेको इष्ट वेष्ट जापानिज ल्याङवेज एकेडेमीबाट २७ थान पासपोर्ट, १९ थान विभिन्न कार्यालयको सरकारी छाप सहित संचार रोशन गुरुङ्गलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।

News Source: Khasokhas.com/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?