Breaking News

मोबाइल बैंकिङबाट दैनिक ५० हजार भुक्तानी, इन्टरनेट बैंकिङबाट १० लाख ट्रान्सफर

Feb Wed 2020 02:40:20

1300 views

मोबाइल बैंकिङबाट दैनिक ५० हजार भुक्तानी, इन्टरनेट बैंकिङबाट १० लाख ट्रान्सफर

मोबाइल बैंकिङ सेवा लिइरहेका सेवाग्राहीहरुले अब एक दिनमा ५० हजार रुपैयाँ र प्रतिमहिना २ लाख रुपैयाँसम्म भुक्तानी गर्न सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार इन्टरनेट बैंकिङ (मर्चेन्ट बैंकिङ) मा प्रतिदिन १० लाख प्रतिमहिना ३० लाख र इन्टरनेट बैंकिङ (एकाउन्ट ट्रान्सफर) मा प्रति दिन १० लाख र महिनामा ५० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकका अनुसार कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्न यो व्यवस्थाले कुनै समस्या नपर्ने देखिएको छ ।

सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क जस्ता विविध शुल्कहरु सम्बन्धित निकायहरुले विद्युतीय माध्यमबाट भुक्तानी गर्न नीतिगत निर्णय गरी आवश्यक व्यवस्था गरेको अवस्थामा बील बमोजिमको रकम मोबाइल बैंकिङको माध्यमबाट भुक्तानी गर्न सक्ने छन् ।

नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक संस्थाहरु, खानेपानी सेवा, शिक्षण संस्था (विद्यालय÷कलेज) स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा, होटल तथा रेष्टुरेन्ट सेवा, सामाजिक सुरक्षा भत्ता, बीमा प्रिमियम, धितोपत्र सम्बन्धी कारोबारमा भुक्तानी गर्नुपर्ने शुल्कहरुको बिल बमोजिमको रकम मोबाइल बैंकिङको माध्यमबाट भुक्तानी गर्न सकिने छ ।

त्यसको लागि प्रतिदिन ५० हजार वा मासिक २ लाख रुपैयाँभन्दा बढी भएमा कुनै असर नपर्ने देखिएको छ । यसरी भुक्तानी गरिएको रकमको विवरण भने अद्यावधिक राख्नुपर्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?