Breaking News

‘डिजिटल अवसर र उद्यमशीलतालाई बढावा दिन युवालाई प्रोत्साहनको खाँचो’ - ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२३

Jun Sat 2023 02:15:27

350 views

‘डिजिटल अवसर र उद्यमशीलतालाई बढावा दिन युवालाई प्रोत्साहनको खाँचो’ - ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२३

नेपालमा डिजिटल अवसर र उद्यमशीलतालाई बढावा दिन युवा जनशक्तिलाई देशमै रोक्न प्रोत्साहनको खाँचो रहेको सरोकारवालहरुले बताएका छन् ।

काठमाडौंमा भइरहेको ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२३ को दोस्रो दिनको पहिलो सेशनका वक्ताहरुले नेपालमा डिजिटल अवसरहरू विकासका पूर्वाधारहरु पर्याप्त भए पनि युवा दक्ष जनशक्ति दिनप्रतिदिन पलायन भइरहेकाले रोक्न प्रोत्साहनको खाँचो रहेको बताएका हुन् ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरूले देशभित्र भविष्य देख्न नसकिरहेका कारण दिनप्रतिदिन विदेशिन बाध्य भएको बताए ।उनले नेपालमै भविष्य देखाउने बाटो नै युवाहरुलाई डिजिटल उद्यमशीलतामा लैजान सरकारले नीति बनाउनुपर्नेमा जोड दिए ।

यसैगरी नेपालमा डिजिटलको क्रान्ति अझै राम्रोसँग हुन नसकेको र विकासका पूर्वाधारहरुको अधिकांश क्षेत्रमा इन्नोभेसन गर्नै बाँकी रहेको आइएमई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले बताए ।

यता, यार्सा टेकका संस्थापक एनजे सुवेदीले डिजिटल रुपान्तरणका लागि सफ्टवेयरको मात्रै कुरा नभएर हार्डवेयरको पनि प्रवर्द्धन गर्न जरुरी रहेको बताए ।

‘डिजिटल रूपान्तरणका लागि हामी सफ्टवेयरको मात्रै कुरा गरिरहेका छौं। हार्डवेयरको कुरा गरिरहेका छैनौं,’ उनले भने, . ‘हार्डवेयर नेपालमै बनाउने राज्‍य, सरकार र निजी क्षेत्रसँग मानसिकता नै नभएको उनको गुनासो छ।

यस्तै सूचना प्रविधि र उद्यमशीलताको क्षेत्रमा धेरै अवसर धेरै भए पनि नेपालको शिक्षा प्रणालीमा पनि ठूलो खाँडल रहेको कोड हिमालयका सीईओ स्मरण दुवाडीले दाबी गरे ।

उनले सूचना प्रविधिमा इन्नोभेसन गर्दा नेपाललाई मात्रै नभएर नेपालभन्दा बाहिर विश्वभर पनि बजार छ भन्‍ने सोच्नु पर्ने बेला आइसकेको बताए । साथै प्रविधिमा विकास गर्न भौगोलिक अवस्थाले कुनै असर नपार्ने जिकिर गरे ।

उनले भने, ‘युवाहरूले देशभित्र भविष्य देख्न सकिरहेका छैनन्। विद्यार्थीहरू की विदेशिएका छन् की स्वदेशमा रोजगारी नपाएर भौतारिरहेका छन्।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?