Breaking News

युरोपका सुपर कम्प्युटरमाथि साइबर हमला, सुपर कम्प्युटर सिस्टम नै बन्द

May Wed 2020 07:34:56

831 views

युरोपका सुपर कम्प्युटरमाथि साइबर हमला, सुपर कम्प्युटर सिस्टम नै बन्द

युरोपका एक दर्जन सुपर कम्प्युटरहरूमा साइवर आक्रमण भएको छ ।  

ह्याकरहरूले साइबर आक्रमणमार्फत कम्प्युटरमा पहुँच लिने प्रयास गरेपछि सुपर कम्प्युटर बन्द भएका छन् ।

जर्मनीका थप सुपर कम्प्युटरसँगै स्विजरल्याण्ड तथा स्पेनका सुपर कम्प्युटरमाथि समेत ह्याकरहरूले हमला गरेका छन् ।

अन्तर युरोपेली सुपर कम्प्युटिङ ग्रुपका अनुसार, क्रिप्टोकरेन्सी खोज्ने प्रयोजनका लागि सुपर कम्प्युटरहरू माथि साइबर आक्रमण गरिएको थियो ।

गत मे ११ मा एडिनबर्ग विश्वविद्यालयमा रहेको आर्चर सुपर कम्प्युटरमाथि साइबर आक्रमण भएको थियो । जसका कारण उक्त कम्प्युटर निष्क्रिय बनेको थियो । 

ह्याकरहरूले सुपर कम्प्युटरको सेक्योर शेल एसएसएच कनेक्सन प्रणालीलाई कब्जामा लिई सुपर कम्प्युटरमाथि हमला गरेका थिए । एसएसएच यस्तो प्रणाली हो, जसलाई प्राज्ञिक अनुसन्धाताहरूले सुपर कम्प्युटरको सिस्टममा टाढै रहेर लगइन गर्नका लागि प्रयोग गर्दछन् ।

सुपर कम्प्युटरको सिस्टममा छिरेसँगै ह्याकरहरूले क्रिप्टोकरेन्सी माइनिङ भाइरसको प्रयोग गरेका थिए ।

युरोपियन ग्रुप इन्फ्रास्ट्रक्चर फाउन्डेसनका अनुसार ह्याकरहरूले सीपीयू माइनिङका लागि प्राज्ञिक डाटा सेन्टरका सुपर कम्प्युटरलाई निसाना बनाइरहेका छन् ।

कोरोना भाइरस महामारीसम्बन्धी मोडलिङ गर्ने टुल इन्स्टल भएको उक्त सुपर कम्प्युटरलाई पूर्ववत् रूपमा सञ्चालनका लागि बेलायतको नेसनल साइबर सेक्योरिटी केन्द्रसँगको सहकार्यमा काम भइरहेको विश्वविद्यालयले जनाएको छ ।

- बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?