Breaking News

फेसबुक अनलाइन सपिङ प्लाटफर्म सञ्चालनमा

May Fri 2020 07:32:28

760 views

फेसबुक अनलाइन सपिङ प्लाटफर्म सञ्चालनमा

 फेसबुकले नयाँ ई–कमर्स प्लाटफर्म ‘फेसबुक शप’ सञ्चालनमा ल्याएको छ । फेसबुक र इन्स्टाग्राम लगायतका प्लाटफर्मलाई व्यवसायिक प्रयोजनका लागि समेत उपयोगी हुनेगरी सपिङसँग सम्बन्धित विभिन्न नयाँ फिचरहरु फेसबुकले थप गरेको हो ।

‘फेसबुक शप्स’ मा कम्पनीहरुले फेसबुक र इन्स्टाग्रामको संयुक्त भर्चुअल पसल खडा गर्न सक्दछन् । जहाँ कम्पनीहरुले अनलाइनमा सामानहरुको सूची राख्दछन् र त्यहीँ दिइएको आफ्नै वेबसाइटको लिंकमार्फत् वा फेसबुकको चेकआउट फिचर प्रयोग गर्ने कम्पनीहरु हकमा फेसबुककै प्लाटफर्मबाट सीधै सामानहरुको अर्डर लिन सक्दछन् ।

फेसबुकमा थप भएको अर्को नयाँ फिचरमा बिक्रेताहरुले आफ्ना प्रडक्टहरु फेसबुक शप्सको क्याटालगमा ट्याग गरी फेसबुक लाइभ र इन्स्टाग्राम लाइभमार्फत् प्रसारण गर्न सक्दछन् र ग्राहकहरुले भिडियो हेर्दै सामान खरीद गर्न सक्दछन् ।

त्यहाँ ग्राहकहरुले बिक्रेताहरुसँग ह्वाट्सएप, इन्स्टाग्राम डाइरेक्ट र मेसेन्जरबाट कुराकारी गर्न सक्दछन् । भविष्यमा प्रयोगकर्ताहरुले यी सबै मेसेजिङ सर्भिसबाटै पनि सीधै सामान किनमेल गर्न सक्ने फेसबुकले जनाएको छ ।

यसैबीच, फेसबुक कम्पनीले इन्स्टाग्राममा समेत नयाँ ई–कमर्श फिचर सुरु गरेको छ । इन्स्टाग्राम शप नामक उक्त फिचरमा प्रयोगकर्ताहरुले इन्स्टाग्राम एपको एक्सप्लोर फिचरमार्फत् आफुले खरीद गर्न चाहेका सामानहरु हेर्न सक्दछन् र इन्स्टाग्राम एपभित्रबाटै सामान खरीद गर्न सक्नेछन् ।

सुरुवातमा फेसबुक शपिङ प्लाटफर्म निःशुल्क रहे पनि पछि व्यवसायिक रहने फेसबुकले जनाएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?