Breaking News

शासन कम र सुशासन बढी हुनका लागि आइसिटीको बढी भन्दा बढी प्रयोग हुनु जरुरी - डा. ऋषिराम शर्मा

Jul Sun 2020 09:15:13

1366 views

शासन कम र सुशासन बढी हुनका लागि आइसिटीको बढी भन्दा बढी प्रयोग हुनु जरुरी -  डा. ऋषिराम शर्मा

शासन कम र सुशासन बढी हुनका लागि आइसिटीको बढी भन्दा बढी प्रयोग हुनु जरुरी यो भनाइ राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख तथा नेपाल सरकारका सचिब डा. ऋषिराम शर्माको हो।

सूचना र प्रविधिको प्रयोगबाट समाज र प्रशासनिक क्षेत्रमा कसरी सुशासन कामय गर्न सकिन्छ भन्ने उदेश्यले आज तराई विकास तथा सञ्चार केन्द्र नेपालको आयोजनामा विजुलीबजारस्थित सञ्चार केन्द्र नेपालको हलमा ‘सुशासनको सन्दर्भमा सूचना प्रविधिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख तथा नेपाल सरकारका सचिव डा. ऋषिराम शर्माले शासन कम र सुशासन बढी हुनका लागि आइसिटीको उच्चतम प्रयोग हुनु जरुरी भएको बताउनुभयो । प्रविधिको विकास नहुँदा भौगोलिक विकटता र पहुँच नभएका मानिसहरु सरकारी सेवाको पहुँचमा पुग्न नसकेकोमा हाल सरकारी कार्यालयहरुमा पनि प्रविधिको प्रयोग हुन थालेपछि त्यसको अन्त्य भएको बताउनुभयो । प्रविधिको विस्तार गरी सबैको पहुँचमा पु¥याउन जरुरी भएको भन्दै सोही अनुसारको पूर्वाधार निर्माणमा सरकारले भूमिका कदम चाल्नुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले प्रविधिको प्रयोगसम्बन्धी जनचेतना नहुँदा, सरकारी निकायको वेवसाइट निर्माण सम्बन्धी निर्देशिकाको पालना नगर्दा र सूचना प्रविधि प्रणालीको नियमित सेक्युरिटी अडिट नहुँदा साइबर अपराध बढिरहेको बताउनुभयो । उहाँले साइबर अपराध नियन्त्रणका लागि आबश्यक सिस्टम सञ्चालनमा ल्याएको जानकारी गराउनुभयो ।

साइबर सुरक्षासम्बन्धी पाठ्यक्रम नै बनाई कक्षा ९ र १० मा पढाउने सरकारी तयारी रहेकाले भावी दिनमा प्रविधिको प्रयोगमा सुशासन आउनेमा विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी सरकारले डिजिटल नेपाल फेमवर्क स्वीकृत गरेर सबै क्षेत्रका सेवालाई सूचना प्रविधिमैत्री बनाउने नीति लिएको बताउनुभयो

त्यसैगरी कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले आइसिटीको प्रयोग बढिरहेको बेला जनचेतना अभावका कारण त्यसको गलत प्रयोग भइरहेको बताउनुभयो । प्रविधिको बढ्दो दुरुपयोग रोक्नका लागि विभागले प्लसटुका १२ सय विद्यार्थीहरुलाई सूचना प्रविधिको सही प्रयोगसम्बन्धी तालिम दिएको जानकारी गराउनुभयो । सूचना प्रविधिसम्बन्धी स्पष्ट नीति नियम नभईसकेकाले प्रविधिको प्रयोगबाट सुशासन कायम गर्न केही चुनौतीहरु देखिएको भन्दै सरकारले उचित ऐनहरु ल्याउन जरुरी रहेको बताउनुभयो ।

त्यसैगरी नेपाल प्रहरीको साइबर व्यूरो प्रमुख नविन्द्र अर्यालले जनचेतनाको कमीले गर्दा प्रविधिको सदुपयोग भन्दा दुरुपयोग बढेको बताउनुभयो । उहाँले भन्नुभयो–‘सामाजिक सञ्जालबाट चरित्र हत्या, ठगी र तस्करीका घटनाहरु बढिरहेको त्यसैले प्रविधिको दुरुपयोग होइन सदुपयोग गरौं ।’ कोभिड १९ को कारण सरकारले लकडाउनको घोषणा गरेसँगै नेपालमा साइबर क्राइम झन् बढेकोप्रति इंगित गर्दै चैत्र ११ गतेदेखि यता साइबर क्राइमको घटनाको दर बढेको बताउनुभयो । त्यसैगरी टिकटक र युटुबले समेत सामाजिक विकृत्ति बढाएकोले त्यसलाई नियमन र नियन्त्रणका लागि आवश्यक पहल थालेको अर्यालको भनाई थियो ।

कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणका बोर्ड सदस्य मणि चौलागाईंले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले मुलुकलाई ठप्प बनाएपनि आइसिटीले मुलुकलाई चलायमान राख्न सफल भएको बताउनुभयो । दुरसञ्चार प्राधिकरणले दुरसञ्चार क्षेत्रको पूर्वाधार निर्माण गर्ने र सरकारले तर्जुमा गरेको नीति तथा कार्यक्रमलाई कार्यन्वयन गर्ने काम गर्ने हुँदा सोही अनुसार दुरसञ्चार अगाडि बढेको बताउनुभयो ।

प्रविधिको विकास र प्रयोगबाट मुलुकले समृद्धि हाँसिल गर्न सक्ने भन्दै सरकारले दिएको जिम्मेवारीलाई प्राधिकरणले चरणवद्ध रुपमा पूरा गर्दै गएको जानकारी गराउनुभयो । पछिल्लो समय मध्यपहाडी लोकमार्ग विस्तार कार्यलाई प्राधिकरणले तीव्र गतिमा अगाडि बढाएको भन्दै उहाँले पूर्वको पाँचथरबाट सुरु भई ७ वटै प्रदेशको राजधानीसम्म जोड्ने गरी ७ हजार किलोमिटर लेन्थमा अप्टिकल फाइबर विच्छाउने कार्य भइरहेको छ भन्नुभयो । सो आयोजना निर्माणका लागि १० अर्ब रुपैँया बजेट विनियोजन भएको समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा चौलागाईंले दुरसञ्चार प्राधिकरणले फोरजी नेटवर्क विस्तार कार्यलाई युद्धस्तरमा विस्तार गरिरहेको फाइरजीको समेत तयारी गरिरहेको जानकारी गराउनुभयो । त्यसैगरी १ हजार स्कूलहरुमा आइसिटी ल्याबको स्थापना, सबै जिल्लामा डाटासेन्टरहरु, मोबाइल डिभाइस इकोसिस्टम जडान गर्दै देशको विकट क्षेत्रहरुमा समेत सूचना प्रविधिको पहुँच पुरयाउन प्राधिकरण सक्रिय भएको भन्दै प्रविधिको विकासले सरकारी सेवामा चुस्तता आउनुको साथै पारदर्शि भएको जिकिर गर्नुभयो ।

त्यसैगरी पुल्चोक इन्जिनियरिङ्ग कलेजका इलेक्ट्रोनिक तथा कम्युटर विभागका सहप्राध्यापक डा. सञ्जिवकुमार पाण्डेले कोभिड १९ का कारण विद्यार्थीहरुलाई अनलाइनमार्फत पढाउनुपरेको बाध्यता आइपरेको बताउनुभयो । उहाँले कोभिड १९ ले लामो समयसम्म शैक्षिक संस्थाहरु खोल्न सम्भव नभएमा विद्यार्थीहरुबीच ठुलो खाडल सिर्जना हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो–‘विद्यार्थीहरुमा आर्थिक असमानता छ । धनीका छोराछोरीले अनलाइन कक्षा लिन सम्भव भएपनि गरिब परिवारका विद्यार्थीहरुले ल्यापटप र मोबाइल नहुँदा कक्षा लिन सक्दैनन् यसतर्फ सरोकारवाला निकायले ध्यान केन्द्रित गर्नुपर्छ ।’ उहाँले प्रविधिको प्रयोगबारे स्कुल लेभलमा के गर्न हुने के गर्न नहुने भन्ने चेतना समेत जगाउनुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले कोभिड १९ को कारण मानिसहरुमा प्रविधिको प्रयोगबारे थप चेतना आएको बताउनुभयो । तर स्पष्ट नीतिको अभाव र जनचेतना नहुँदा यसको दुरुपयोग बढिरहेको तर्क गर्दै उहाँले भन्नुभयो–‘सामाजिक सञ्जालको प्रयोगबाट ठगी, चरित्रहत्यालगायतका अपराधहरु बढेका छन् । यसलाई नियन्त्रण गर्न सम्बन्धित पक्ष जिम्मेवार भएर लाग्नुपर्छ ।’ यसका नियमनकारी निकायहरु चनाखा भई अपराध नियन्त्रण गर्दै सही सदुपयोग जरुरी भएको अध्यक्ष महर्जनको भनाई थियो । उहाँले पछिल्लो समय दुरसञ्चार प्राधिकरणले गरेका काम प्रशसंसनीय भएपनि नियमनको खाँचो रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथ संचार केन्द्र का अध्यक्ष गोबिन्दप्रसाद चौलागाईं ले राज्यका निकायहरु पछिल्लो समय सूचना प्रविधिको प्रयोगबारे आमजनतामा प्रविधिको पहुँच पु-याउन लागि परेको छ भन्ने कुरामा आफूँ विश्वस्त रहेको बताउनुभएको थियो। ।

कार्यक्रममा सञ्चार केन्द्रका सल्लाहकार तथा शुभेच्छुक बालकृष्ण बस्नेत नेपाल टेलिभिजनको बोर्ड अफ डाइरेक्टरमा नियुक्त हुनुभएमा सो कार्यक्रममा राष्ट्रिय सतर्कता केन्द्रका सचिव डा. शर्मा र सञ्चार केन्द्र नेपालका अध्यक्ष चौलागाईंले संयुक्त रुपमा बधाई दिनुभएको थियो । कार्यक्रममा विभिन्न कानुन व्यवसायीहरु, प्राध्यापक, सञ्चारकर्मी र यस क्षेत्रमा चासो राख्ने सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रम पुजन चौलागाईंले सञ्चालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?