Breaking News

एकै व्यक्तिले दुईभन्दा बढी सिमकार्ड लिन नपाउने

Jul Mon 2020 06:43:44

991 views

एकै व्यक्तिले दुईभन्दा बढी सिमकार्ड लिन नपाउने

एक व्यक्तिले अबदेखि आफ्नो नाममा दुईभन्दा बढी सिमकार्ड निकाल्न पाउने छैैनन् । सिमकार्डको सम्भावित दुरुपयोग रोक्न नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो व्यवस्था लागू गरेको हो । प्राधिकरणको असार १३ गते बसेको बोर्ड बैठकले कुनै एक प्रयोगकर्तालाई सम्बन्धितको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो । 

एकै व्यक्तिले जति पनि सिमकार्ड लिन पाउने विद्यमान व्यवस्थाका कारण भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी, जसलाई अवैध कल मानिन्छ) जस्ता गतिविधि नरोकिएको र यसले गर्दा सेवा प्रदायकले नै ठूलो रकम गुमाउनुपरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यसरी दुईभन्दा बढी सिमकार्ड लिएका व्यक्तिलाई एसएमएसमार्फत जानकारी गराउनुपर्ने र सम्भव भएसम्म दुईवटामा मात्र सीमित गराउन अनुरोध गर्नुपर्ने निर्देशन सेवा प्रदायकलाई दिएको हो । प्राधिकरणको निर्णयअनुसार नेपाल टेलिकमले सीडीएमए सेवासमेत उपलब्ध गराइरहेकाले एक व्यक्तिको नाममा तीनवटा सम्म सिमकार्ड जारी गर्नसक्ने सुविधा दिएको छ । एनसेल र स्मार्टले भने दुईवटा सिमकार्ड मात्र जारी गर्नसक्ने छन् । 

प्राधिकरणको बैठकले अबदेखि नाबालकका नाममा पनि सिमकार्ड लिन पाउने बाटो खुला गरेको छ । अहिले नागरिकता भएका व्यक्तिले मात्र सिमकार्ड लिनसक्ने प्रावधान रहेकामा अभिभावकको नाता प्रमाणका आधारमा नाबालकले पनि सिमकार्ड लिन पाउने व्यवस्था गरेको हो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?