काठमाडौं । सहरी विकास तथा भवन कार्यालय धनकुटामा कार्यरत कम्प्युटर अपरेटरले नेपाल टेलिकमको सर्भर ह्याक गरेका छन् । कम्प्युटर अपरेटर दिवाकर देउजाले टेलिकमको सर्भर सिस्टममा प्रवेश गरी टेलिकमका प्याकेज प्रयोग तथा बिक्री समेत गरेर आर्थिक लाभ लिएको नेपाल प्रहरीको अनुुसन्धान ब्यूरोले जानकारी दिएको छ ।
सीआईबीले अनुसन्धान गर्दा धनकुटा जिल्ला पाख्रिबास नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भइ हाल धनकुटा नगरपालिका वडा नम्बर ४ बस्ने सहरी विकास तथा भवन कार्यालय धनकुटाका कम्प्युटर अपरेटर दिवाकर देउजा भएको पाइएको सीआईबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
आफ्नो सर्भर ह्याक भएको नेपाल टेलिकमले गत असार १२ गते पाएको थियो । सर्भरमा अनधिकृत प्रवेश गरी कम्पनीलाई हानी नोक्सानी पुर्याएको भन्दै टेलिकमले गत असार १२ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबी मा अनुसन्धानको लागि पत्राचार गरेको थियो ।
सर्भर ह्याक गर्ने कम्प्युटर अधिकृत अहिले पक्राउ परेका छन् । उनलाई बिद्युतीय कारोबार अन्तर्गत साइवर क्राइमको मुद्दा लाग्नेछ ।