Breaking News

Digital एजुकेसन आइसिटी अवार्ड २०२० बुढानीलकण्ठ स्कूललाई

Dec Thu 2020 05:33:14

1330 views

Digital  एजुकेसन आइसिटी अवार्ड २०२० बुढानीलकण्ठ स्कूललाई

बुढानिलकण्ठ स्कूलले  ‘डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२०’ हात पारेको छ ।

नेपालकै सबैभन्दा ठुलो प्रविधि अवार्डका रुपमा रहेको आइसिटी अवार्डको यस विधामा जम्मा २७ ओटा शैक्षिक संस्थाको नोमिनेसन भएको थियो । विभिन्न क्षेत्रका १४ जना विज्ञहरुको जुरी समूहले विभिन्न आधारमा थुप्रै चरणमा गरेको मूल्याङ्कनका आधारमा उक्त अवार्ड घोषणा गरिएको हो ।

२०७७ साल पुस ११ गते होटल सोल्टी क्राउन प्लाजामा आयोजित पाँचौँ संस्करणको आइसिटी अवार्ड २०२० कार्यक्रममा अनलाइन शिक्षामा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरुप बूढानीलकण्ठ स्कूललाई उक्त अवार्ड प्रदान गरिएको हो ।

कोभिड १९ को महामारीका कारण सिर्जित बन्दाबन्दीको समयमा २०७७ वैशाख महिनाको आरम्भदेखि नै अनलाइन कक्षा सञ्चालन गरेको बुढानिलकण्ठ स्कूलले नेपाल टेलिकमसँगको सहकार्यमा प्रविधिका क्षेत्रमा आमूल परिवर्तन गरी विद्यालयलाई प्रविधिमैत्री बनाउदै आएको छ ।

स्कूलले विश्वप्रसिद्ध माइक्रोसफ्ट टिम्सको प्रयोग गरी करिब ९८ प्रतिशत विद्यार्थीलाई समेटी सबै विषयका कक्षा सञ्चालन गर्नुका साथै विभिन्न परीक्षासमेत सञ्चालन गरेको छ । नेपालका दूरदराजमा रहेका विद्यार्थीहरुलाई अनलाइन कक्षामा समस्या नआओस् भन्ने उद्देश्यले अभिभावकको साथ, सहयोग तथा नेपाल टेलिकमको सहकार्यमा डाटा प्याकेज प्रदान गरेको छ ।

प्रविधिको उच्चतम प्रयोग गरी अनलाइन कक्षालाई थप प्रभावकारी बनाउन स्कुलमा कार्यरत प्रत्येक शिक्षकलाई ल्यापटप र पेनट्याब प्रदान गर्नुका साथै स्कुल व्यवस्थापन सफ्टवेयरको पूर्ण रुपमा कार्यान्वयन गरी विद्यार्थीलाई नतिजा तथा मासिक शुल्कका बारेका जानकारी दिने मोबाइल एप्लिकेसनसमेत सञ्चालन गरेको छ ।

स्कूलको प्रयासलाई लिभिङ विथ आइसिटी टिमले उच्च कदर गरेकामा खुसी व्यक्त गर्दै स्कूलका प्रिन्सिपल होमनाथ आचार्यले अवार्डले स्कूल परिवारलाई थप हौसला र जिम्मेवारी प्राप्त भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?