Breaking News

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउने सुविधा यसरी लिनुस्

Feb Sat 2021 07:20:18

800 views

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउने  सुविधा यसरी लिनुस्

। नेपाल टेलिकमले ग्राहकहरुको आवश्यकता अनुसार एसएमएस अलर्ट, एसएमएस सर्टकोड र वेब–बेस्ड बल्क एसएमएस गरी तीन प्रकारका एसएमएसमा आधारित सेवाहरु उपलब्ध गराइरहेको छ । 

विभिन्न मोबाइल नम्बरमा कुनै विषयवस्तुका बारेमा जानकारी दिनुपर्ने र अर्कोतिरबाट कुनै उत्तरको अपेक्षा नहुने (वान वे) अवस्थामा एसएमएस अलर्टको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक कारोबारको बारेमा जानकारी दिन, पेमेन्ट पक्का भएको जानकारी दिन, आफ्नो व्यवसायको जानकारी दिन र व्यापार प्रवद्र्धन गर्न उपयुक्त हुने सन्देश पठाउनका लागि समेत एसएमएस अलर्टको प्रयोग गर्न सकिन्छ । 

कुनै सेवाप्रदायकले यो सेवा लिनुभन्दा पहिले यसको प्राविधिक परीक्षण गर्नुपर्छ । सम्बन्धित सेवा प्रदायकलाई यसका लागि ‘अलर्ट नेम’ प्रदान गरिन्छ । त्यही ‘अलर्ट नेम’बाटै संघ÷संस्थाहरुले मोबाइलमा एसएमएस पठाउन सक्दछन् । 

एसएमएस सर्टकोड प्रयोग गरी दोहोरो अन्तरक्रिया गर्न सकिन्छ । कुनै मोबाइलमा सर्टकोडमार्फत केही एसएमएस आयो भने एसएमएस पाउने ग्राहकले पनि सो जानकारीमूलक सामग्रीको बारेमा प्रतिक्रिया पठाउन वा थप जानकारीका लागि अनुरोध गर्न सक्छन् । विभिन्न परीक्षाका नतिजा थाहा पाउन, विभिन्न विषयवस्तु बारेमा पोलिङ गर्न, भोटिङ गर्न, क्विज सर्भिस सञ्चालन गर्न र आफ्नो व्यवसायको बजारीकरण वा प्रवद्र्धन गर्न समेत यो सेवा उपयोगी हुन्छ । 

यो सेवा सञ्चालन पूर्व प्राविधिक परीक्षण गर्नुपर्छ र ५ अंकको सर्टकोडका लागि नेपाल दूरसञ्चार प्राधिकरणको पनि स्वीकृति लिनुपर्छ । यो सेवा सञ्चालन गर्ने ग्राहक वा सेवा प्रदायकलाई न्युमेरिक सर्टकोड अर्थात अंकमा आधारित सर्टकोड प्रदान गरिन्छ । अन्य व्यक्तिको मोबाइलमा एसएमएस जाँदा त्यही नम्बरबाटै गएको देखिन्छ । 

वेबमा आधारित बल्क एसएमएस एक प्रकारको ब्रोडकास्ट सर्भिस हो । यसबाट उही सन्देश एकैपटक धेरै मोबाइल नम्बरमा पठाउन सकिन्छ । विद्यालय, कलेज, व्यापारिक प्रतिष्ठान, साना व्यवसायी वा अन्य कुनैपनि संस्थाले यसको प्रयोग गर्न सक्छन् । थोरै समयमा सहज तरिकाले सस्तो दरमा धेरै व्यक्तिलाई एकैपटकमा एसएमएस पठाउन पाउनु नै यसको मुख्य विशेषता हो । 

अतिरिक्त परीक्षण बिना छोटो समयमै यो सेवा उपलब्ध गराउन सकिन्छ । यसका लागि सेवा प्रदायकलाई संस्थाको मिल्दोजुल्दो नाम ११ क्यारेक्टरमा नबढाई प्रदान गरिन्छ र त्यही नामबाटै धेरै नम्बरमा एसएमएस पठाउन सकिन्छ । 

एसएमएस अलर्ट, सर्टकोड सेवा र वेब–बेस्ड बल्क एसएमएस सेवा उपयोग गर्नका लागि औपचारिक रुपमा अनुरोध गरिएको एउटा पत्र तयार गर्नुपर्छ । सो पत्रका साथमा कम्पनी प्रोफाइल, प्राविधिक प्रोफाइल, सेवाको उद्देश्य, सम्भावित ग्राहक र ग्राहक आधार संलग्न गर्नुपर्छ । त्यसैगरी कम्पनी दर्ता र कर कार्यालयमा दर्ता भएको कागजातको प्रतिलिपी समावेश गर्नुपर्छ । यी सम्पूर्ण कागजात सहित तयार गरिएको पत्रलाई  vas@ntc.net.np मा इमेलमार्फत पठाउन सकिन्छ वा कम्पनीको नजिकको कार्यालयमा दर्ता गराउन सकिन्छ । 

वेब–बेस्ड बल्क एसएमएस सेवाका हकमा नेपाल टेलिकमबाट स्वीकृति प्रदान भए पश्चात एसएमएस भोल्युम कोटाको आधारमा तोकिएको रकम बैंक खातामा बुझाउनु पर्छ । यसपछि नेपाल टेलिकमले ग्राहकको युजर एकाउन्ट बनाएर ग्राहकलाई उपलब्ध गराउँछ । यसैको आधारमा ग्राहकले एसएमएस सेवा प्रदान गर्न सक्दछ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?