Breaking News

क्यान महासंघको २७ औं साधारणसभा सम्पन्न : इण्टरनेट महँगो भयो, मूल्य घटाउनेतर्फ सरकार लाग्दैछ - सञ्चार मन्त्री

Feb Sun 2021 09:10:36

986 views

क्यान महासंघको २७ औं साधारणसभा सम्पन्न : इण्टरनेट महँगो भयो, मूल्य घटाउनेतर्फ सरकार लाग्दैछ - सञ्चार मन्त्री

- सबु बस्नेत

काठमाडौं,  क्यान महासंघको २७ औं साधारणसभा काठमाडौंमा  सम्पन्न भएको छ । साधारण सभाको कार्यक्रममा  बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले इण्टरनेटको मूल्य घटाउने सम्बन्धमा अध्ययन गरिरहेको र निकट भविष्यमै त्यसको कार्यान्वयन गरिने बताए । 

इण्टरनेट सेवा महँगो र कम प्रभावकारी भयो , त्यसलाई कम खर्चिलो र प्रभावकारी बनाउने विषयमा सरकारले गृहकार्य गरिरहेको मन्त्री गुरुङले भने । 

दूरसञ्चार सेवालाई प्रभावकारी बनाउने, गुणस्तरीय इन्टरनेट जस्ता कुरालाई सरकारले प्राथमिकतामा राखेको र दूरसञ्चार र इण्टरनेटको विकाससँगै सूचनाप्रविधिका अन्य आयामहरु दुरदराजका गाउँसम्म पुर्याउन सरकार लागि परेको पनि मन्त्रीले स्पष्ट पारे  ।

कोभिड महामारीका कारण क्यान इन्फोटेक समयमै हुन नसकेको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले जानकारी २७ औं साधारण सभामार्फत गराएका छन् । पुस माघमै सम्पन्न गर्नुपर्ने क्यान इन्फोटेक करीब तीन महिना पर धकेलिएको छ भने प्रदेशस्तरमा गर्ने भनिएको इन्फोटेक यो वर्षका लागि नहुने  क्यान महासंघले जनाएको छ ।

अध्यक्ष कुँवरले कोरोनाभाइरस महामारीले आमजनजीवन र व्यवसायलाई नराम्ररी प्रभावित पारे पनि सूचनाप्रविधि व्यवसायका लागि यसले अवसर सृजना गरिदिएको बताए ।


सरकारलाई सूचना प्रविधि क्षेत्रको विकास र बिस्तारका लागि आवश्यक परामर्श गर्नका लागि क्यान महासंघ सदैव तयार रहेको पनि उहाँले बताए । 

तत्कालका लागि बैंकिङ, यातायात, राजश्वलगायतका क्षेत्रलाई पूर्ण रुपमा डिजिटलाइज्ड गर्नुपर्ने र यसले लागत र भ्रष्टाचार दुवै कम गर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सूचनाप्रविधि क्षेत्र अझै सरकारको प्राथमिकतामा नपरेको बताए । काभ्रेस्थित आइटी पार्कको उपयोग हुन नसक्नु एवम् आईटी व्यवसायलाई प्रोत्साहन गर्ने नीति नआउनुले त्यस्तो संकेत गरेको उनको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सूचनाप्रविधि क्षेत्रको विकास र त्यसको प्रयोग विना शिक्षा, स्वास्थ्य र अन्य व्यवसायले गति लिन नसक्ने बताए ।

उनका अनुसार डिजिटल पेमेण्ट अहिलेको सबैभन्दा आवश्यकताको क्षेत्र हो र त्यसका लागि सरकारले अझै सहजीकरण गर्नु र ठोस नीति ल्याउनु आवश्यक देखिएको छ । सूचना तथा सञ्चार प्रविधि अझै पनि राजधानी र शहर केन्द्रित भएको पनि उले बताए ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले ७७ जिल्लाका ६५४ स्थानीय तहसम्म फोरजी प्रविधि विस्तार गर्नका लागि टेलिकमले काम गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?