Breaking News

फेसबुकले समाचार हेर्न र साझेदारी गर्न प्रतिबन्ध लगायो

Mar Tue 2021 07:18:00

622 views

फेसबुकले समाचार हेर्न र साझेदारी गर्न प्रतिबन्ध लगायो

 काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियामा समाचार सामग्रीमा प्रतिबन्ध लगाएको छ ।

अष्ट्रेलियामा फेसबुकले समाचार सामग्री साझेदारी गर्न र हेर्नमा रोक लगाएको हो । अब अष्ट्रेलियामा प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न पाउने छैनन् ।

त्यस्तै विश्वका अन्य देशमा पनि अष्ट्रेलियाको समाचार फेसबुकमा उपलब्ध हुने छैन । आज बिहानैदेखि स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार संस्था तथा वेबसाइटका फेसबुक पेज ब्लक गरिएका छन् ।

यस्तै महत्वपूर्ण सरकारी निकायका फेसबुक पेजहरु पनि ब्लक भएका छन् । समाचारजन्य सामग्रीका लागि शुल्क तिर्नुपर्ने अष्ट्रेलिया सरकारको प्रस्तावित कानूनको विरोधमा फेसबुकले प्रतिबन्ध लगाएको हो ।

प्रस्तावित कानून अष्ट्रेलियाको तल्लो सदनबाट पारित भएको थियो । प्रतिबन्धले प्रविधि तथा सामाजिक सञ्जाल फेसबुकको विश्वसनीयतामाथि चुनौति पैदा भएको अष्ट्रेलियाले बताएको छ ।

सर्च इञ्जिन गुगल तथा फेसबुकसहितले प्रस्तावित कानून इन्टरनेटको आधारभूत कार्यशैलीसँग मेल नखाने भन्दै आलोचना गर्दै आएका छन् ।

समाचारजन्य सामग्रीका लागि आफूहरुलाई पैसा तिर्न बाध्य पार्नु उपयुक्त नरहेको उनीहरुको भनाइ छ । फेसबुकको यो निर्णयसँगै अत्यावश्यक सूचना र जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने जोखिम बढ्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?