Breaking News

बुक बिल्डिङ विधिमा कसरी बिक्री हुन्छ आइपीओ ?

Mar Tue 2021 07:37:58

897 views

बुक बिल्डिङ विधिमा कसरी बिक्री हुन्छ आइपीओ ?

बुक बिल्डिङ प्रणाली नेपालका लागि नयाँ अभ्यास हो । यसअघि प्रिमियमबाट आइपीओ जारी गरिने गरेको भए पनि बुक बिल्डिङ भने चलनमा थिएन । अब यो अन्तर्राष्ट्रिय अभ्यासको पनि यहाँ सुरु हुँदैछ । बुक बिल्डिङ भनेको सामान्य हिसाबमा बुझ्दा प्रतिस्पर्धात्मक माध्यमबाट मूल्य निर्धारण गरेर कुनै कम्पनीले आइपीओ जारी गर्ने प्रक्रिया हो । 

 

कुनै कम्पनीले बुक बिल्डिङ विधिमार्फत आइपीओ जारी गर्न चाहे नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त संस्थागत लगानीकर्ताबाट उनीहरुले तिर्न चाहेको मूल्य र किन्न चाहेको सेयर संख्याको निवेदन माग गर्नुपर्छ । यसरी निवेदन माग गर्दा कम्तीमा पनि १० वटा संस्थागत लगानीकर्ताबाट तिर्न चाहेको मूल्य लिनुपर्ने व्यवस्था गरिएको छ ।


उदाहरणका लागि कुनै कम्पनीको सेयरलाई १० वटा संस्थागत लगानीकर्ताबाट तिर्न चाहेको मूल्य र सेयर संख्याको सूची गोप्य रुपमा प्राप्त भयो । अब ती संस्थागत लगानीकर्ताबाट प्राप्त मूल्यका आधारमा उक्त कम्पनीको आइपीओ बिक्रीका लागि एउटा आधार मूल्य तय गरिन्छ ।

आधार मूल्य तय गरेपछि त्यसको २० प्रतिशत कम र २० प्रतिशत बढी गरी अन्तिम बिक्री मूल्यको सीमा निर्धारण गरिन्छ । अनि, यही सीमाभित्र मूल्य बढाबढ गर्न लगाई जारी गर्न लागिएको कुल सेयरको ४० प्रतिशत आइपीओ उक्त कम्पनीले संस्थागत लगानीकर्तालाई बिक्री गर्दछ । मूल्य बढाबढमा सबैभन्दा बढी तिर्नेबाट माग अनुसारको सेयर बाँडफाँड गरिन्छ । जुन मूल्यमा जारी सबै सेयर बिक्री भइसक्छ, त्यहाँ कट अफ भाउ तय हुन्छ ।  

अब कट अफ भन्दा कम मूल्य तोक्ने संस्थागत लगानीकर्ताले सेयर पाउँदैनन्। कट अफ भन्दा माथि भाउ तोकेका संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँड गरिन्छ । अनि यसरी कायम भएको कटअफ मूल्यमा १० प्रतिशत छुट गरी सर्वसाधारणलाई बाँकी ६० प्रतिशत आइपीओ जारी गरिन्छ । यसरी जारी हुने आइपीओमा अब सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

यस विधिमा आइपीओका लागि आवेदन दिने न्यूनतम् कित्ता ५० हुनेछ । सबै आवेदकलाई ५० कित्ताका दरले आइपीओ बाँड्न पुग्ने भए न्यूनतम् ५० कित्ताका दरले बाँडफाँट गरिन्छ  । यदि, यसरी बाँड्न नपुग्ने भए गोलाप्रथाद्वारा कम्तिमा पनि ५० कित्ताका दरले बाँडफाँट गर्नुपर्ने नियम रहेको छ । 

 तर सबै कम्पनीले बुक बिल्डिङमार्फत आइपीओ जारी गर्न भने पाउँदैनन् । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ अनुसार यसरी सेयर जारी गर्न कम्पनीले विभिन्न ४ वटा पूर्व सर्तहरु पूरा गर्नुपर्ने हुन्छ । जस्तैः कम्पनीले विगत ३ वर्षदेखि लगातार खुद नाफा कमाएको हुनुपर्छ । साधारण सभाले बुक बिल्डिङ विधिमार्फत धितोपत्र जारी गर्ने निर्णय गरेको हुनुपर्नेछ ।

प्रतिसेयर नेटवर्थ प्रतिसेयर चुक्ता पुँजीको कम्तीमा १५० प्रतिशत रहेको र कम्तीमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङको ग्रेड प्राप्त गरेको हुनुपर्छ । यी सर्त पूरा गर्न नसक्ने कम्पनीले बुक बिल्डिङमार्फत सेयर जारी गर्न पाउँदैनन् । यी सर्त पूरा गर्न नसक्ने कम्पनीले अहिले जस्तै प्रतिसेयर एक सय रुपैयाँमा आइपीओ जारी गर्नुपर्छ । अनि आवेदन दिने न्यूनतम् संख्या पनि १० कित्ता नै हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?