Breaking News

नेपाल राष्ट्र बैंक सहित १५ वटा वाणिज्य बैंकको सिस्टममा ह्याकरको धम्कीले बैंकिङ क्षेत्र आतंकित

Jul Sat 2021 06:24:23

769 views

नेपाल राष्ट्र बैंक सहित १५ वटा वाणिज्य बैंकको सिस्टममा ह्याकरको धम्कीले बैंकिङ क्षेत्र आतंकित

भरतराज उप्रेती

नेपालको बैंकिङ सिस्टम ह्याक गर्ने धम्कीसहित ह्याकरको निशानामा परेका बैंकहरुको सूची सार्वजनिक भएपछि वाणिज्य बैंकहरु आतंकित बनेका छन् ।  ह्याकरले निशाना साधेका १५ वटा वाणिज्य बैंकको सूची बुधवार नै सार्वजनिक भएको थियो । नेपाल राष्ट्र बैंकका  प्रवक्ता देवकुमार ढकाल र सहायक प्रवक्ता नारायण प्रसाद पोखरेललाई समेत विदेशी नम्बरबाट धम्कीपूर्ण फोन आएको थियो ।   

सूचीमा रहेका कुनै पनि बैंकमा हालसम्म समस्या देखिएको छैन । सबै बैंकलाई उच्च सतर्कतामा राखिएको छ । सूचीमा नाम समावेश रहेको एक बैंकका उच्च अधिकारीले आफूहरूको सूचना प्रविधिसँग सम्बन्धित प्राविधिकहरूले आफ्नो सिस्टमको सूक्ष्म निगरानी गरिरहेका छन् ।  

सामाजिक सञ्जालमार्फत पठाएको धम्की पत्रमा लेखिएको छ–जो यो पढ्दै हुनुहुन्छ तपाइलाई यो जानकारी गराउन चाहन्छौँ कि सम्पूर्ण बैंकिङ प्रणालीलाई हामीले नियन्त्रणमा लिएका छौँ । त्यसपछि उनीहरूले ती बैंकहरुको नाम उल्लेख  गरेका छन् । जसमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइशि एसिया बैंक, बैंक अफ काठमान्डु, सिटिजन्स बैंक, सानिमा बैंक, एसबिआई बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक छन् । 

ह्याकरले यदि ठुलो क्षतिबाट बच्ने हो भने २४ घण्टाका लागि सबै शाखाहरू बन्द गर्न समेत चेतावनी दिएका छन् । यदि त्यसो हो भने बिहीबारदेखि सबै म्याग्नेटिक इंक क्यारेक्टर रिकग्नेशन (एमआईसीआर) र इलेक्ट्रोनिक्स क्लियरिङ सिस्टम (इसियस) वा कुनै अन्य अनलाइन वा अफलाइन कारोबारहरूबाट पैसा लगिने भनिएको छ । विश्वभरिका वित्तीय संस्था र सरकारको लागि साइबर आक्रमणको बढ्दो जोखिम र बैङ्कमा सम्भावित प्रभाव पार्ने शीर्ष चिन्ताको विषय हो। त्यसैले यहाँ कसरी र किन बैंकहरू जोखिममा छन् भन्ने विषयमा समेत छोटो चर्चा गरिएको छ।

फेब्रुअरी २०१६ मा ह्याकरहरूले बङ्गलादेशको केन्द्रीय बैंकबाट १०० मिलियन डलर सफलतापूर्वक चोरी गरेपछि बैंकहरूमा ठुलो साइबर आक्रमण हुने डर बढ्दै गएको छ। त्यसको लगत्तै रुसी केन्द्रीय बैंकका अधिकारीहरूले खुलासा गरे कि ह्याकरहरूले दुई अरब रुबल भन्दा बढी चोरी गरे। 

धेरै बैंकले त्यहाँ साइबर आक्रमणका लाखौँ प्रयासहरू देखेका छन्। तर, आक्रमणकारीका ती प्रयत्नहरू असफल बनेका कारण हामी सुरक्षित छौँ। तर ह्याकरहरू पनि द्रुत गतिमा परिष्कृत हुँदै छन् जसले बैंकहरूलाई अझ ठुलो आक्रमणको चपेटामा पार्न सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?