Breaking News

क्यान्सिल एनइबी एक्जामस्’ #CancelNEBExams ह्यासट्याग किन ?

Aug Sat 2021 09:28:46

712 views

क्यान्सिल एनइबी एक्जामस्’ #CancelNEBExams  ह्यासट्याग किन ?

राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा गर्ने गरी तयारी लगभग पूरा गरेको जनाएको छ । तर परीक्षाको मिति नजिकिँदै गर्दा परीक्षा स्थगन गर्न दबाब बढ्न थालेको छ । 

सामाजिक सञ्जालमा ‘क्यान्सिल एनइबी एक्जामस्’ #CancelNEBExams भनेर ह्यासट्याग चलाइएको छ । यतिबेला उक्त ह्यासट्याग ट्रेण्डिङमा रहेको छ ।

तीन लाख ८६ हजार विद्यार्थी एकैपटक परीक्षा दिँदा विद्यालयहरूमा भिडभाड बढ्ने र त्यसले सङ्क्रमणलाई झनै बढाउने भन्दै परीक्षा तत्कालै स्थगन गर्न विभिन्न सरोकारवाला निकाय र अभिभावकले आग्रह गरिरहेका छन् । 

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा आफैले सामाजिक सञ्जालमा परीक्षा भन्दा जीवन बढी जरुरी रहेको भन्दै सुरक्षाको भरपर्दो व्यवस्थापन नभई परीक्षा गर्न नहुने भन्दै सुरक्षित नभए परीक्षा स्थगन गर्न माग गरेका छन् ।

शर्माले ह्यास ट्यागकै प्रयोग गरेर यति लेख्नुको कारण के पनि हो भने अहिले कक्षा १२ को परीक्षालाई लिएर धेरैले चिन्ता जनाएका छन् । कोरोना सङ्क्रमणको ग्राफ दैनिकरुपमा बढिरहेको भन्दै यस्तो बेलामा भौतिकरुपमै परीक्षा लिँदा त्यसले सङ्क्रमण झनै बढाउने र तेस्रो लहर सुरु हुने चिन्ता र आशङ्का यतिबेला सर्वत्र छ । 

सामाजिक सञ्जालहरूमा स्वास्थ्यभन्दा ठूलो परीक्षा हुन सक्दैन भन्दै परीक्षासँग नभएर आफूहरू कोरोनासँग डराएको प्रतिक्रिया आइरहेको छ । पहिले भ्याक्सिनको व्यवस्था गरौँ त्यसपछि मात्रै परीक्षा गरौँला भन्ने भनाई सामाजिक सञ्जालमा सर्वत्र छ । 

अर्बपति विनोद चौधरीले जीवन रहे पढाई र परीक्षाको अवसर फेरि पनि आउने भन्दै यस्तो बेला अनावश्यक जोखिम नलिन र परीक्षा स्थगन गर्न आग्रह गरेका छन् । छिमेकी देशहरूमा कोरोना सङ्क्रमणको जोखिम बढिरहेको भन्दै यस्तो बेलामा भौतिकरुपमै परीक्षा लिनेबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।

म नेपाली नामको ट्वीटर ह्याण्डलले परीक्षासम्बन्धी एक पोष्ट गरेका छन् । उनले लेखेका छन्,

एक्जाम दिएको २ महिनापछि कलेजबाट फोन आयो, ‘बधाई छ तपाईंको छोरा कलेज टप भएको छ ।’

बुवाले गहभरि आँसु बगाउँदै भन्छन्, छोराको डेढ महिनाअघि कोरोनाको कारण मृत्यु भयो ।’

अहिले ट्वीटरमा ८० हजारभन्दा बढीले #CancelNEBExams को ह्यासट्याग चलाइरहेका छन् । राजनीतिक दलका नेतादेखि अभिभावक र सरोकारवालाले भौतिकरुपमै परीक्षा लिने नलिन आग्रह गरिरहेका छन् । कतिपयले साउन ३१ गतेलाई ‘तेस्रो लहरको सुरुवात’ भनी प्रतिक्रिया दिइरहेका छन् । विद्यार्थी र अभिभावकहरू एउटा मास्क र दुई थोपा स्यानिटाइजरले कोरोना नरोकिने भन्दै यसबारे सजग र सतर्क हुँदै गम्भीर भइदिन आग्रह गरिरहेका छन् । 

यही सम्बन्धमा कक्षा १२ को परीक्षा के हुन्छ भनी प्रश्न गर्दा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले  भने, ‘परीक्षा के हुन्छ भनेको के हो ? परीक्षा हुन्छ, तोकिएकै मिति र समयमा हुन्छ ।’

‘परीक्षा के गर्ने भन्ने हाम्रो विषय हो । कस कसले के के लेखे, कसले के ट्याग चलायो भन्ने हामीलाई नसुनाउनुस् । तपाईंहरु सामाजिक सञ्जाल चलाएर बस्नुहोस्, हामी हाम्रो काम गर्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?