मेसिनबाटै पैसा राख्न मिल्ने प्रणाली प्रभु बैंकले सञ्चालनमा ल्याएको छ । यसको शुरुवातसँगै लामो समयसम्म बैंकको काउण्टरमा लाइन लागेर पैसा जम्मा गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको क्यास डिपोजिट मेसिन क्यास रिसाइकल मेसिन (सीआरएम) को प्रयोगबाट ग्राहकले काउन्टरमै नगएर नै चाहेको खातामा पैसा जम्मा गर्न सक्ने भएका छन् ।
बैंकले यही साउन २२ गतदेखि आफूले चाहेको बैंकमा मेसिनबाटै पैसा राख्न सक्ने क्यास रिसाइकल मेसिन (सीआरएम) सञ्चालनमा ल्याएको छ । हाल प्रभु बैंकका ग्राहकले मात्रै बैंककै खातामा पैसा जम्मा गर्न सक्ने भएपनि एक महिनाभित्रै अन्तर बैंक डिपोजिटको सुविधा उपलब्ध गराउने तयारीमा रहेको बैंकको चिफ अपरेटिङ अफिसर रश्मी पन्तले जानकारी दिइन् ।
नेपाल इलोक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) मा आवद्ध सबै बैंकहरुलाई सीआरएममा आवद्ध गराएर अन्तर बैंक क्यास डिपोजिटको सुविधा दिइने उनको भनाइ छ ।
क्यास डिपोजिट मेसिन क्यास रिसाइकल मेशिन (सीआरएम) एटिएम जस्तै छ । जसको मद्दतले कुनै पनि बैंकको खाताबाट तत्काल पैसा निकाले झैं तत्काल पैसा जम्मा गर्न सकिन्छ ।
रकम जम्मा गर्दा ग्राहकले पैसा जम्मा गर्न चाहेको खाता नम्बर टाइप गरेपछि पैसा डिपोजिट गर्ने बक्स ओपन हुन्छ । जसमा ५ सय र १ हजार दरका १ लाख रुपैयाँसम्म एक पटकमा रकम राख्न सकिन्छ । रकम राखेपनि पैसा र खाता नम्बर स्क्रिनमा देखिन्छ । त्यो सही या गलत भएको यकिन ग्राहकले आफै गर्नुपर्छ
बक्समा राखिएको रकम रियल टाइम नै खातामा जम्मा हुन्छ भने खातामा रकम जम्मा भएपछि खातावालाको मोबाइलमा नोटिफिकेशन आउँछ र मेसिनबाट भौचर प्रिन्ट हुन्छ ।