क्यान इन्फोटेकको २७ औं संस्करण मिति २०७८ साल माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने क्यान महासंघले जनाएको छ ।
सन १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा सन २०२० मा इन्फोटेकको २६ औं संस्करण सफलता पुर्वक सम्पन्न भएको थियो । नेपालमा सूचना तथा संचार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरुपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनी को यो २७ औं संस्करण ६ दिन सम्म चल्नेछ । यसको आयोजनाले कोभिड–१९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि सम्बन्धि व्यवसायी तथा सम्बन्धित पक्षहरुलाई राहत तथा सहयोग पुग्ने अपैक्षा क्यान महासंघले लिएको छ । यस मेलामा सुचना तथा संचार प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरुलाई सहभगीता रहनेछ ।
इन्फोटेककै पुर्व संध्यामा क्यान महासंघले मंसिर ३ गते शुक्रवार काठमाण्डौमा गरेको बीटुबी आइसिटी बिजनेश समिट ( २०२१ मा देशभरवाट सुचना तथा संचार(प्रविधि सम्बन्धि ब्यबसायीहरुको अभुतपुर्व जमघट, छलफल तथा इन्फोटेकको २७ औं संस्करणको बारेमा ब्यक्त चासोका कारण पनि आगामी क्यान इन्फोटेक अझ विशेष हुने जनाएको छ ।
सूचना तथा संचार प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता प्रचलन छ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । यो प्रर्दशनी सुचना प्रबिधिसम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विषेश थलो पनि हुने बिश्वास हामीले लिएका छौं । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ ।
क्यान इन्फोटेक २०२२ मा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ,स्टार्ट(अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि,इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्डहरु रहनेगरी तयारी अगाडि बढाईएको छ ।
इन्फोटेकमा प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क, आईओटी तथा आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रर्दशनीमा रहनेछन् ।
क्यान इन्फोटेकको २७ औं संस्करणमा ३ लाखभन्दा बढिले अवलोकन गर्ने क्यान महासंघले जनाएको छ।