Breaking News

आइएमई पे क्यान इन्फो टेक २०२२ आगामी माघ १८ देखि २३ गतेसम्म हुने

Dec Sun 2021 11:14:39

535 views

आइएमई पे क्यान इन्फो टेक २०२२ आगामी माघ १८ देखि २३ गतेसम्म हुने

कम्प्युटर एशोसिएशन महासंघ नेपाल (क्यान) को आयोजनामा २७औँ संस्करणको आइएमई पे क्यान इन्फो टेक २०२२ आगामी माघ १८ देखि २३ गतेसम्म हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने इन्फोटेकको तयारी तिब्र बनाइएको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कोभिडलाई मध्यनजर गरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि इन्फोटक गरिनेछ ।

इन्फोटेकमा सूचना तथा प्रविधि क्षेत्रमा विकास भएका नवीनतम प्रविधि प्रदर्शनी गरिनेछ । सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहने कुँवरले जानकारी दिए ।
प्रदर्शनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधि तथा उपकरणको अवलोकन र खरिद गर्न पाउने महासंघका महासचिव नारायण थापाले बताए ।
क्यान इन्फोटेक २०२२ मा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजि, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इन्टरनेट र लर्निङ सेन्टरलगायत विभिन्न खण्ड रहने सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

इन्फोटेकमा प्रदर्शनीकर्ताले सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोलुशन, मोबाइल फोन तथा सोलुशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपिएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुशन, सिसीटिभी र हार्डडिस्क, आइओटी गर्नेछन् । त्यस्तै आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आइटी कलेज, बैंक, बिमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन् ।

क्यान इन्फोटेकको २६औँ संस्करण करिब साढे तीन लाखले अवलोकन गरेकामा यो संस्करणमा समेत सोही सङ्ख्यामा अवलोकनकर्ता आउने आयोजकले अपेक्षा गरेको छ । सन् १९९५ देखि क्यान महासङ्घले क्यान इन्फोटेकको सुरुआत गरेकामा सन् २०२० मा इन्फोटेकको २६औँ संस्करण सफलतापूर्वक सम्पन्न भएको थियो । नेपालमा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरूपमा आयोजना हुने प्रदर्शनी एवं सम्मेलन मुलुककै ठूलो प्रदर्शनी मानिन्छ । प्रदर्शनीले कोभिड–१९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधिसम्बन्धी व्यवसायी तथा सम्बन्धित पक्षलाई राहत पुग्ने महासंघले विश्वास लिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?