Breaking News

उत्तर कोरियाली ह्याकरले ४० करोड डलर मूल्य पर्ने क्रिप्टोकरेन्सी डिजिटल मुद्रा चोरेको दाबी

Jan Sat 2022 12:53:59

571 views

उत्तर कोरियाली ह्याकरले ४० करोड डलर मूल्य पर्ने क्रिप्टोकरेन्सी डिजिटल मुद्रा चोरेको दाबी

उत्तर कोरियाली ह्याकरहरूले विभिन्न क्रिप्टोकरेन्सी मञ्चमा कम्तीमा सात पटक आक्रमण गरेर झन्डै ४० करोड अमेरिकी डलरजतिको डिजिटल मुद्रा चोरेको दाबी एउटा प्रतिवेदनले गरेको छ। ब्लकचेनबारे अनुसन्धान गर्ने संस्था 'चेनएनलिसिस'का अनुसार उत्तर कोरियाका साइबर अपराधीका लागि सन् २०२१ एउटा सफल वर्ष प्रमाणित भयो।

उत्तर कोरियाली ह्याकरहरूले मुख्यतया लगानी गर्ने कम्पनी तथा क्रिप्टोकरेन्सी किनबेच गर्न मध्यस्थता गरिदिने केन्द्रीकृत मञ्चलाई लक्ष्य बनाएका थिए। उत्तर कोरियाले आफू त्यस्ता आक्रमणमा संलग्न भएको भन्ने आरोपको बारम्बार खण्डन गर्ने गरेको छ।

"सन् २०२० बाट २०२१ मा पुग्दा उत्तर कोरियासँग सम्बन्धित 'ह्याक' आक्रमणको सङ्ख्या चारबाट बढेर सात भयो अनि ती ह्याकबाट दोहन गरिएको [डिजिटल मुद्राको] मूल्य ४० प्रतिशतले बढ्यो," चेनएनलिसिसले एउटा प्रतिवदेनमा भनेको छ।

चेनएनलिसिसका अनुसार ह्याकरहरूले लक्षित संस्थाका "हट" वालेटबाट सम्पत्ति चोरेर उत्तर कोरियाको नियन्त्रणमा भएका स्थानमा पठाउन विभिन्न विधि प्रयोग गरेका थिए। त्यस्ता विधिमा फिशिङ, सफ्टवेअरको कमजोरी पत्ता लगाउने विशेष कोड र मालवेअर थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?