Breaking News

नेपालमा सामाजिक सञ्जालबाट हुने ठगीका घटना बढ्दै, कसरी हुने सुरक्षित ?

Feb Tue 2022 03:53:25

715 views

नेपालमा सामाजिक सञ्जालबाट हुने ठगीका घटना बढ्दै, कसरी हुने सुरक्षित ?

पछिल्लो समय इन्टरनेटको प्रयोग बढेसँगै साइबर अपराधका घटना पनि बढ्दै गइरहेका छन् । यी प्रतिनिधि घटनाले समाजमा आपराधिक मनोवृत्ति मौलाउँदै गइरहेको देखाउँछ । केही दिनअघि महानगरीय अपराध महाशाखाले विभिन्न व्यक्तिको फेसबुक ह्याक गरी रकम असुलेर ठगी गरेको आरोपमा मोरङ पथरी घर भई भक्तपुर गठ्ठाघर बस्ने किरण पाठकलाई पक्राउ गर्‍यो । पाठकले फेसबुक ह्याक गरी विभिन्न बहानामा आफूलाई ‘अर्जेन्ट’ समस्या परेको भन्दै विभिन्न बैंक खातामा पैसा पठाउन लगाएर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।

यसैगरी फेसबुक पेजमार्फत अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा बर्दियाका २३ वर्षीय रमेश थारु पक्राउ परे । उनले विभिन्न व्यक्तिको नागरिकताको फोटोकपी जम्मा गरी त्यसमार्फत नक्कली फेसबुक पेज बनाई डीएसएलआर क्यामेरा खरिद बिक्री गर्न विज्ञापन गर्ने र क्यामेरा खरिद गर्ने ग्र्राहकलाई क्यामेरा डेलिभरी नगरी ५० प्रतिशत रकम पठाइमाग्ने गरेका थिए ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०७८/०७९ को ६ महिनायता दुई हजार ६१२ साइबर अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् । साइबर अपराधका मुद्दा वर्षैपिच्छे बढ्दै गइरहेको ब्युरोको तथ्यांकले देखाउँछ ।

ब्युरोका अनुसार सामाजिक सञ्जाल फेसबुकका कारण सबैभन्दा बढी पीडित भएका उजुरी दर्ता हुने गरेका छन् । फेसबुकका साथै टिकटक, इन्स्टाग्राम, ट्वीटर, म्यासेन्जर, इमो, भाइबर लगायतबाट पनि साइबर अपराधका घटना बढिरहेका छन् ।

सामाजिक सञ्जालका प्रयोगकर्ता बढेसँगै यसबाट ठगिनेको संख्यासमेत बढ्दै प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा कसैको नक्कली आईडी बनाएर रकम माग्ने, आपत्तिजनक तस्वीर राखेर ब्ल्याकमेल गर्ने, संघसंस्था तथा व्यक्तिका आईडी ह्याक गर्ने गरेका घटना बढ्दै गइरहेका छन् ।

साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा साइबर अपराधसम्बन्धी दुई हजार ३०१ मुद्दा दर्ता भएका थिए भने आर्र्र्र्थिक वर्ष २०७७/०७८ मा यो संख्या बढेर ३ हजार ९०० पुगेको थियो । जबकि चालु आर्थिक वर्षको ६ महिनामै २ हजार ६१२ साइबर अपराधसम्बन्धी मुद्दा दर्ता भइसकेका छन् । यी मुद्दापीडित आफैं उपस्थित भएर दर्ता गराएका हुन् ।

सुरक्षा विज्ञहरु सामाजिक सञ्जालका माध्यमबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्न सबैभन्दा पहिला प्रयोगकर्ता नै सुरक्षित हुनुपर्ने बताउँछन् । आफूले चलाउने सामाजिक सञ्जालका माध्यमबारे राम्ररी बुझेर जानेर मात्रै सुरक्षित तरिकाले चलाउनुपर्दछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?