Breaking News

क्यान इन्फोटेक २०२२ एक रुपैयाँमै मेला अवलोकन गर्न पाइने

Apr Mon 2022 04:40:56

787 views

क्यान इन्फोटेक २०२२ एक रुपैयाँमै मेला अवलोकन गर्न पाइने

वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘आईएमई–पे क्यान इन्फोटेक २०२२’ हुने भएको छ ।

कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ)ले आयोजना गर्ने २७औं संस्करणको क्यान इन्फोटेकको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने महासंघका अध्यक्ष नवराज कुँवरले जानकारी दिए । ‘आईएमई–पे क्यान इन्फोटेक २०२२ इन एसोसिएशन विथ एससीटी स्मार्ट क्यूआर’ तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

महासंघले  पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार इन्फोटेकको शीर्ष प्रायोजन आईएमई–पेले गरेको छ भने सह–प्रायोजन एससीटी स्मार्ट क्युआर युनियन–पेले गरेको छ । सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र प्रदर्शनी क्यान इन्फोटेक भएको महासंघको दाबी छ ।

क्यान इन्फोटेकको यो संस्करणमा विश्वव्यापी रूपमा सहभागिता हुनसक्ने गरी भर्चुअल प्रदर्शनीको समेत व्यवस्था गरिने छ,’ महासंघका महासचिव नारायण थापाले भने, ‘भर्चुअल प्रदर्शनीका निम्ती मण्डला सिस्टमले भर्चुअल एक्जिविसन पार्टनरको रूपमा क्यान महासंघसँग सहकार्य गरेको छ ।’

क्यान मेलाले कोभिड–१९ का कारण प्रभावित भएका तथा नभएका सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई सहयोग पुग्ने अपेक्षा महासंघले लिएको छ ।

 क्यान इन्फोटेक २०२२ मा विभिन्न खण्डहरू रहने छन् । जसमा ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसीटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ र ई–गभर्नेन्स मुख्य हुने छन् ।

ब्राण्डिङ खण्डमा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनी एवम् उत्पादनहरूको सहभागिता रहने छ । फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा वित्तीय एवम् सम्बन्धित संस्थाहरुको सूचना तथा सञ्चार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यस सम्बन्धी उत्पादनहरू रहने छन् ।

त्यस्तै स्टार्टअप र इन्नोभेशन खण्डमा २६ वटा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडियाको प्रदर्शनी गर्ने छन् । इन्नोभेशनका निम्ति क्यान महासंघ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेको छ भने स्टार्टअपका निम्ति निम्ति क्यान महासंघले सार्वजनिक सूचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागी हुन आह्वान गरेर प्राप्त आवेदनहरूबाट छनौट गरिसकिएको बताइएको छ ।

सूचना तथा संचार प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरूको प्रवर्द्धन गर्ने आफ्नो योजना अनुरूप क्यान महासंघले स्टार्टअप र इन्नोभेशनलाई विशेष प्राथमिकतामा राखेको महासचिव थापाको भनाइ छ । 

आइसीटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिड खण्डमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्ने छन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरीद गर्न पाउने छन् ।

यसबाहेक क्यान इन्फोटेक २०२२ मा रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि, वाइफाई तथा इन्टरनेटलगायत कुराहरू रहनाका साथै व्यवसायीहरूले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पायर सिष्टम सोल्युशन, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरू प्रदर्शनी तथा विक्रीमा राख्ने छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?