Breaking News

बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाऔं

Jul Sun 2022 05:05:54

769 views

बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाऔं

बालबालिकाहरूलाई भुलाउने बहानामा मोबाइल र टेलिभिजनको बानी नबसाल्न चिकित्सकहरूले सुझाव दिएका छन्।   चिकित्सकहरू मात्रै सदस्य रहेको रोटरी क्लब अफ मेडिकोफ्युजनले बालबालिकाहरूलाई मोबाइल र टेलिभिजन नदेखाउँ भन्दै अभियान नै संचालन गरेको छ।  शनिबार बुटवलमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष एवं बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलले बालबालिका भुलाउने नाममा मोबाइल-टिभीको बानी पार्दा उनीहरूको मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने बताए।

क्लबले रूपन्देहीका विभिन्न स्थानीय तहहरूसँग मिलेर समुदाय स्तरमा सचेतनामुलक अभियान चलाउने जनाएको छ। डा. पोखरेलका अनुसार धेरै समय मोबाइल र टेलिभिजन हेर्ने बालबालिकाहरूमा छिटो निन्द्रा खुल्ने, मोटोपना, अटिजम, छिटो रिसाउने, झगडा गर्ने, पढाइमा कमजोर हुने, आँखाको दृष्टि कमजोर हुने तथो आफन्तसँग घुलमिल नहुने जस्ता समस्या देखिने गरेका छन्।

क्लबले बालबालिकाहरू धेरै जम्मा हुने खोप केन्द्र, मन्टेश्वरी जस्ता स्थानमा राख्न मोबाइल तथा टेलिभिजनको प्रयोगले बालबालिकामा पार्ने असरबारे सचेतनामुलक व्यानर तथा सामाग्रीहरू स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलाई हस्तान्तरण गरेको थियो।

कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले क्लबले सुरू गरेको अभियान सकारात्मक रहेको र तिलोत्तमा नगरपालिका क्लबसँग सचेतनामुलक कार्यक्रम संचालन गर्न तयार रहेको बताए। उनले तिलोत्तमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भइसकेकोले बालबालिकालाई खेल्न दिने बहानामा उनीहरूको स्वास्थ्यलाई नै गम्भिर असर पुग्ने खालका बानीबाट टाढा राख्न अभिभावककालाई सचेतना दिनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?