Breaking News

इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा

Feb Thu 2023 05:27:03

268 views

इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा माघ २४ देखि २९ सम्म आयोजना हुने क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । क्यानले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने २८औँ संस्करणको क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।  

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी र यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माण तथा सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले उक्त प्रदर्शनी आयोजना गर्न लागिएको क्यानले जनाएको छ । क्यान महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको महासंघका अध्यक्ष रणजीत पोदारले बताए ।

“क्यान इन्फोटेकमा सूचना सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम प्रविधि तथा सेवाको विशेष प्रदर्शनी तथा सरोकारवालाहरुबीच गहन छलफल हुनेछ,”उनले भने ।  २८औँ क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा इन्फोडेभलपर्स प्रालि र एसोसिएट स्पोन्सरमा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) छन् । 

प्रायोजक कम्पनीका आधारमा यो बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘’इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एससीटी’’ छ । क्यान इन्फोटेकको इतिहासमै पहिलो पटक सफ्टवेयर कम्पनीले शीर्ष प्रायोजन गरेको हो । 

त्यस्तै क्यान इन्फोटेक २०२३ को प्लाटिनम स्पोन्सरमा डिशहोम फाइबरनेट, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी र ह्वावे रहेका छन् ।सिल्भर स्पोन्सरहरूमा एसपावर, डिजिकम र अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी) रहेका छन् । 

प्रदर्शनीको टिकेटिङ पार्टनरमा पे वेल, इन्स्यारेन्स पार्टनरमा आइएमई जेनेरल इन्स्योरेन्स, नलेज पार्टनरमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ पार्टनरमा इन्टरनेसनल स्कुल फर स्किल्स, फुड एन्ड बेभरेज पार्टनरमा र्‍याकेट बार एन्ड इभेन्टस, पावर्ड बाई आइएमई पे र एसएमएस पार्टनरमा स्प्यारो एसएमएस रहेका छन् । 

प्रदर्शनीलाई सफल रुपमा आयोजना हुन देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु लगायतका संस्थाले सहयोग गरेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय रूपमा असोसियो र World Information Technology and Services Alliance को पनि सहयोग रहेको छ ।

सन १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा सन २०२२ मा इन्फोटेकको २७औं संस्करण सफलतापूर्वक सम्पन्न भएको थियो । नेपालमा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरुपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनीका रुपमा स्थापित भएको छ । 

क्यान इन्फोटेकको अवलोकनका लागि सर्वासाधारणलाई १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । इन्फोटेकको टिकेटिङ पार्टनर पेवेलको मोबाइल एप डाउनलोड गरी एपबाटै २५ रुपैयाँ टिकेट खरिद गर्न सकिने व्यवस्था भएको क्यानले जनाएको छ । 

सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहने छ । 

क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगै आईटी करियर काउन्सिलिङ (स्टुडेन्ट पेभिलियन), कलेज पेभिलियन, स्टार्टअप पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ ।  नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्धन गरिएको बताइएको छ । 

साथै क्यान इन्फोटेककै दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुनेछ  । आयोजकका अनुसार क्यान इन्फोटेक २०२३ का लागि हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको छ । मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा आयोजकको अपेक्षा छ । 

प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिइएको बताइएको छ । राजधानीमा माघ २४ देखि ६ दिनसम्म देशकै ठूलो सूचना प्रविधि प्रदर्शनीको समापन भएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुने आयोजकले जनाएको छ । 

जसअन्तर्गत मधेश प्रदेशमा फागुन ५ देखि फागुन ९ गतेसम्म, सुदूरपश्चिम प्रदेशमा फागुन १३ देखि फागुन १७ गतेसम्म, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३० गतेसम्म र बागमती प्रदेशमा चैत २ देखि चैत ६ गतेसम्म  क्यान इन्फोटेक हुनेछ । प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै नै क्यान इन्फोटेकको आयोजना मिति घोषणा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?