Breaking News

इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ मेलाको तयारी अन्तिम चरणमा, मोबाइल एपबाटै २५ रुपैयाँमा टिकेट खरिद गर्न सकिने

Feb Sun 2023 02:26:50

295 views

इन्फोडेभलपर्स क्यान इन्फोटेक  २०२३ मेलाको तयारी अन्तिम चरणमा, मोबाइल  एपबाटै २५ रुपैयाँमा टिकेट खरिद गर्न सकिने

काठमाडौँ    २८औँ संस्करणको क्यान इन्फोटेक २०२३ मेलाको उद्घाटन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गर्ने क्यान महासंघले जनाएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा आउँदो माघ २४ देखि २९ सम्म आयोजना हुने क्यान इन्फोटेक २०२३ मेला हुन लागेको हो । क्यानले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने क्यान इन्फोटेक २०२३ मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी प्रदर्शनीकर्ताहरुलाई गराएको थियो ।  

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी र यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माण तथा सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले उक्त प्रदर्शनी आयोजना गर्न लागिएको क्यानले जनाएको छ । क्यान महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको महासंघका अध्यक्ष रणजीत पोदारले बताए ।

क्यान इन्फोटेकको अवलोकनका लागि सर्वासाधारणलाई १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । इन्फोटेकको टिकेटिङ पार्टनर पेवेलको मोबाइल एप डाउनलोड गरी एपबाटै २५ रुपैयाँ टिकेट खरिद गर्न सकिने व्यवस्था भएको क्यानले जनाएको छ । 

सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहने छ । 

प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । प्रर्दशनी सुचना प्रबिधिसम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विषेश थलो पनि हुने बिश्वास रहेको आयोजकले जनाएको छ । 

क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने आयोजकको जिकिर छ ।  

क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगै आईटी करियर काउन्सिलिङ (स्टुडेन्ट पेभिलियन), कलेज पेभिलियन, स्टार्टअप पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ ।  नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्धन गरिएको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?