Breaking News

नेपाल टेलिकमको १९औं वार्षिकोत्सव सम्पन्न : सेवाग्राहीलाई अफरै अफर

Feb Sun 2023 04:42:58

231 views

नेपाल टेलिकमको १९औं वार्षिकोत्सव सम्पन्न :  सेवाग्राहीलाई अफरै अफर

नेपाल टेलिकमले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव कार्यक्रम २०७९ माघ २२ गते सम्पन्न गरेको छ । १९औं वार्षिकोत्सव कार्यक्रममा नयाँ प्रविधिका रुपमा ई सिमको देशव्यापी वितरण गरिरहेको तथा भो वाइफाइ सेवा व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीस्वरुप परीक्षण कार्य अन्तिम चरणमा रहेको बताइएको छ । प्राविधिक र भौगोलिक कारणले सेवाको पहुँचमा आउन नसेकेका देशका कतिपय भूभागमा सेवाको पहुँच पु¥याउन, भ्यालु एडेड सेवाहरुको विस्तार र नयाँ भ्यालु एडेड सेवाहरुको शुरुवात पनि कम्पनीको प्राथमिकतामा रहेको उल्लेख छ । नयाँ सेवाका रुपमा फाइभजीको परीक्षण जारी रहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले जानकारी गराए ।   

समारोहमा कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्माले दूरसञ्चार सेवा कुनै सेवा प्रदायकको आफ्नो व्यवसाय मात्र नभएर सार्वजनिक सेवा प्रवाहको आधारभूत माध्यम भएको बताए । उनले भने– नेपाल सरकारले सूचना प्रविधिको प्रयोगमार्फत नागरिकलाई प्रदान गर्ने नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, भूमी अभिलेख व्यवस्थापन, स्थानीय पञ्जिकाधिकारी सम्बन्धी सेवाहरु, करसँग सम्बन्धित कार्यहरु लगायत सेवाहरु उपलब्ध गराइरहेको छ । 

कम्पनीको १९औं वार्षिकोत्सवको अवसरमा २९४ रुपैयाँमा १० दिनका लागि २० जीबी डाटा, ९८रुपैयाँमा ३  दिनका लागि ६ जीबी डाटा र ४९ रुपैयाँमा १ दिनका लागि १ एमबिपिएस अनलिमिटेड डाटा र अन नेट १०० मिनेट कल सुविधा उपलब्ध गराइएको छ । 

यसैगरी २०० देखि ४९९ रुपैयाँको रिचार्ज गर्दा २ जिबी बोनस डाटा, दैनिक १ जिबी प्रयोग गर्न सकिने तथा रु ५०० वा सो भन्दा माथिको रिचार्जमा दैनिक २ जिबीका दरले ४ दिनसम्म प्रयोग गर्न सकिने अफर उपलब्ध गराइएको छ । यी अफरहरु आगामी माघ २९ गतेसम्म उपलब्ध हुनेछ । नयाँ एफटीटीएच जडान गर्ने ग्राहकका लागि  १२ हजार रुपैयाँमा २० एमबीपीएस डाटा, १ लाइन टेलिफोन र १ वटा एनटीटीभी सहितको प्याकेज उपलब्ध गराइनेछ । यो सेवा फाल्गुन २९ गते सम्मका लागि उपलब्ध गराइएको छ ।

वार्षिकोत्सवकै अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारी र सामुदायिक विद्यालय, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थल, वसपार्क, एयरपोर्ट, अस्पताल लगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरु, वृद्धाश्रम र बाल आश्रमहरु, आमा समूहहरु, दैवी प्रकोपबाट प्रभावित सर्वसाधारणहरुलाई कम्पनीका तर्फबाट सहयोग गर्ने कार्यक्रमहरु रहेका कम्पनीले जनाएको छ ।       

यसैगरी कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजश्व बुझाउने सेवाग्राहीहरुलाई सम्मान र पदक, वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई सम्मान–पत्र र कम्पनीका विभिन्न सेवाहरु निशुल्क उपलब्ध गराउनुका साथै कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 

कम्पनीको १९औं वार्षिकोत्सवको अवसर पारेर कम्पनीद्वारा फाइभजीको परीक्षणको शुरुवात समेत गरिएको छ । विभिन्न मोबाइल सेट निर्माता कम्पनीहरुसँग उक्त कम्पनीहरुको सेटमा फाइभजी परीक्षण गर्नको लागि समन्वय भइरहेको छ । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा। बैकुण्ठ अर्यालले सेवा बिक्री गर्ने संस्थाको लागि ग्राहक सन्तुष्टी सर्वोपरी हुनुपर्ने बताए । ‘कम्पनीले सेवाहरु देशभर विस्तार गरेर मात्र पुग्दैन, वितरित सेवाहरु गुणस्तरीय, भरपर्दो र निरन्तर उपलब्ध गराउनु पर्छ’ उनले सो अवसरमा उल्लेख गरे । सेवाहरु निरन्तर उपलब्ध गराउन सकिएमा कम्पनीको राजश्वमा थप बढोत्तरी हुने अर्यालले बताए । ग्राहकका गुनासा तत्काल सम्बोधन हुनुपर्ने र यसको लागि संयन्त्र नै तयार गरी कम्पनी लाग्नुपर्ने पनि उनले उल्लेख गरे ।  

सो कार्यक्रमका विशेष अतिथि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शुभकामना मन्तव्यकै क्रममा डिजिटल नेपाल निर्माणको आवधारणा कार्यान्वयनको लागि सूचना महामार्ग निर्माण गर्ने जिम्मेवारी समेत बोकेको नेपाल टेलिकमले यसतर्फ अझ गम्भीरतापूर्वक लाग्नुपर्ने बताए । उनले नेपाल टेलिकम पूर्वाधारमा अत्यन्त धनी भएको उल्लेख गर्दै राजश्व बढाउनका लागि यसको सदुपयोग हुनुपर्ने सुझाव पनि दिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?