४–४ दिन मोटरसाइकल र निजी कारलाई तेल पाउने तालिका सार्वजनिक गर्दै निगम
Feb Wed 2020 02:40:16
550 views
नेपाल आयल निगमले आगामी साता कोटा प्रणालीअनुसार ४ दिन मोटरसाइकल र ४ दिन निजी कारभ्यानलाई तेल वितरण गर्ने भएको छ।
पछिल्लो समय चीनबाट प्राप्त अनुदानको पेट्रोल पनि आइसकेको र भारतबाट पनि केही मात्रमा आइरहेकाले यसै साता मौज्दात परिमाणको आधारमा निजी सवारी साधनका लागि तेल वितरण गरने तयारी भइरहेको निगमले जनाएको छ।
यसै साता तेल वितरण गर्ने गृहकार्य भइरहेको नेपाल आयल निगमका कायकारी निर्देशक गोपालबहादुर खड्काले सेतोपाटीलाई बताए। अहिले निगमले यसको लागि तयारी गरिरहेको र सम्भवतः आज यसको अन्तिम सूचना समेत आउने उनले बताए।
यसअघि तेल वितरण गर्दा व्यवस्थित नभएको गुनासो आएपछि यसपटक पहिले नै ४ दिन मोटरसाइकलहरुका लागि छुट्टै पम्पहरु निर्धारण गर्ने र ४ दिन कार जिपका लागि वितरण गर्न छुट्टै पम्पहरु निधारण गरिने समेत खड्काले बताए। साथै पम्पबाट नै कालोबजार भएको गुनासो आएको हुँदा कुपन वितरणको आधारमा पम्पहरुमा तेल पठाउने समेत उनले बताए।
इन्धन खरिदको व्यापारिक सम्झौता गर्न नेपाली टोली तत्काल चीन जाने संकेत
साथै खड्काका अनुसार सम्भवत भोलि नेपाल आयल निगम र बाणिज्य मन्त्रालयका अधिकारी सहितको टोली चीनसँग इन्धन खरिदको ब्यापारिक सम्झौता गर्न बेइजिङ जाने भएको छ।
टोलीले चाइना नेसनल पेट्रोलियम कर्पोरेशनसँग इन्धन खरिद सम्बन्धी ब्यापारिक सम्झौता गर्नेछ। यसअघि चीनसँग इन्धन खरिद गर्नेबारे समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भइसकेको छ।
सम्झौतापछि नेपालले चीनसँग व्यापारिक रुपमा पहिलोपटक इन्धन खरिद गर्नेछ। इन्धनमा पूर्णरुपमा भारतको एकाधिकार अन्त्य हुने उनको तर्क छ। व्यापारिक सम्झौतामा नेपालले चीनसँग खरिद गर्ने इन्धनको मूल्य, परिमाण, गुणस्तर र पैसा तिर्ने मोडालिटी लगायत सबै विषयमा सम्झौता हुने खड्काले बताए। चीन नेपाललाई भारतकै मूल्यमा तेल दिन सकारात्मक रहेको समेत उनले बताए।
नेपालमा हुने वार्षिक खपतको ३३ प्रतिशत इन्धन चीनबाट ल्याउने आयल निगमको तयारी छ । चीनले पहिलो चरणमा अनुदान स्वरुप १३ लाख लिटर पेट्रोल नेपाललाई दिएको थियो।