Breaking News

साझा यातायातमा अब स्मार्ट कार्डबाट भाडा तिर्न सकिने

Feb Tue 2020 05:40:28

438 views

साझा यातायातमा अब स्मार्ट कार्डबाट भाडा तिर्न सकिने

नेपाल बैंकको सहकार्यमा नेपालमा पहिलोपटक साझा यातायातले यात्रुलाई पैसाको सट्टा स्मार्ट कार्डका माध्यमबाट भाडा तिर्ने प्रविधिको परीक्षण थालनी गरेको छ । साझा यातायातको कार्यालय पुल्चोकमा आज आयोजित कार्यक्रममा स्मार्ट यात्रा कार्डको परीक्षणको सुरुवात गरिएको हो । कार्ड परीक्षणको सुरुवात् गर्दै यातायातका अध्यक्ष एवम् वरिष्ठ पत्रकार कनकमणि दीक्षितले यातायात क्षेत्रमा नवीन प्रविधिको सुरुवात् गर्न पाउँदा खुसी लागेको बताउनुभयो । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रपताप शाह र भारतीय नुस्पेका प्रमुख कार्यकारी अधिकृत हर्मितसिंह सेठीले यो प्रविधिलाई अन्य यातायातले पनि लागू गरेमा यात्रुका लागि फाइदाजनक हुने बताउनुभयो । यातायातले एक महिना परीक्षण गरी साझाका सबै बसमा यो प्रविधि जडान गर्नेछ । नयाँ बसपार्क, नारायणगोपालचोक, लगनखेल रुटमा चल्ने बा १ख २२१७ नम्बरको बसबाट स्मार्ट यात्रा कार्ड प्रयोग गर्ने प्रविधि परीक्षण गरिएको थियो । एक महिनापछि साझाका अन्य १६ वटा यातायातमा पनि यो प्रविधि लागू गरिने यातायातका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले बताउनुभयो । उपत्यकाका विभिन्न रुटमा हाल साझाका १६ वटा बस सञ्चालनमा छन् । “छ महिनामा काठमाडौँ महानगरपालिकाको सेयरमा रु १० करोडका २५ वटा बस थप्ने तयारी भएको छ, थपिने बसमा पनि यो प्रविधि जडान गरिनेछ”–निर्देशक पाण्डेले भन्नुभयो ।

रु दुई सयको कार्ड किनेर स्मार्ट कार्ड प्रविधि साझा बसमा प्रयोग गर्न सकिने यातायातले जनाएको छ । यसमा रु ५० को मौज्दात हुनेछ । साझाको पछाडिको ढोकाबाट चढ्ने बित्तिकै डिभाइसमा कार्ड देखाउने र अगाडिको ढोकाबाट झर्ने बेलामा पनि डिभाइसमा कार्ड देखाएर झरेपछि दुरी अनुसारको भाडा काटिनेछ । यसलाई बेला बेलामा नवीकरण गर्नु नपर्ने भएकाले यो एटिएम भन्दा पनि झन्झट मुक्त छ ।

पैसा सकिएपछि मोबाइलको रिचार्ज गरेजस्तै गरी रिचार्ज गर्न सकिनेछ । कार्ड हराएमा भने अर्को कार्ड किन्नुपर्नेछ । यो प्रविधिबाट भाडा तिर्दा बढी भाडा नपर्ने भएकाले यात्रु ठगिने सम्भावना कम हुनेछ । विकसित देशमा लागू भएको यो प्रविधि नेपालमा पहिलोपटक भित्रिदा यात्रु खुसी भएका छन् ।

सुरुवात् कार्यक्रममा उपस्थित यात्रु रामेश्वर श्रेष्ठले सरकारले लागू गरेको भाडादर कार्यान्वयनका लागि यो प्रविधि उपयोगी देखिएकाले यातायात व्यवस्था विभागले सबै सार्वजनिक यातायातमा लागू गराउनुपर्ने बताउनुभयो ।

मोबाइलमा विशेष एप्लिेकेसन डाउनलोड गरी साझाको बस कहाँ गुिडरहेको छ भन्ने थाहा पाउन सकिन्छ । यसैका आधारमा यात्रु घरबाट निस्कन सक्नेछन् । यसका लागि समेत यो प्रविधि उपयोगी हुने सो अवसरमा जानकारी गराइएको थियो । यात्रुले प्रविधिमार्फत् तिरेको भाडा नेपाल बैंकमा रहेको साझा यातायातको खातामा जम्मा हुन्छ । डिभाइस राखेमा कार्डको प्रयोग विभिन्न सुपर मार्केटमा पनि गर्न सकिन्छ ।

यातायातमा हाल सरकारको ७० प्रतिशत भन्दा बढी सेयर छ । आव २०७२/७३ को बजेट वक्तव्यमा साझाको पुरानो रु १० करोडको ऋणलाई सेयरमा परिणत गर्ने घोषणा गरेकाले ९५ प्रतिशत लगानी सरकारको पुग्ने निर्देशक पाण्डेले जानकारी दिनुभयो । साझालाई सक्षम बनाउँदै लैजान सके उपत्यकामा यातातको एकाधिकार हट्ने विश्वास गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?