Breaking News

युनिटीकै शैलीमा अर्को ठगीको संजाल विन विन फैलिंदै!! सावधान रहनुहोस् है

Feb Tue 2020 05:40:44

376 views

युनिटीकै शैलीमा अर्को ठगीको संजाल विन विन फैलिंदै!! सावधान रहनुहोस् है

युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका नाममा नेपालीहरुबाट अर्बौं रुपैयाँ ठगी गर्ने घटना सेलाउन नपाउदै अर्को कम्पनीले करोडौ ठगि गरिरहेको खुलासा भएको छ । उक्त कम्पनी कै महँगो ब्याजदरमा लिएको ऋण तिर्न नसक्दा सयौ सर्वसाधारण नेपालीहरुले बास र जग्गाजमिन गुमाउने अवस्थामा पुगेका छन् । यसरी मासिक ५० हजार कमाउने प्रलोभनमा पारेर सर्बसाधारणलाई फसाउने कम्पनी हो भारतीय मार्केटिङ कम्पनी ‘विन विन’ । सर्बसाधारणले कम्पनीका एजेन्टहरुलाई ऋण लिएर बुझाएको २ लाख फिर्ता नपाउँदा अहिले उनीहरुको बिचल्ली भएको छ । एजेन्टको लोभमा परेका सयौ नेपालीहरुको अवस्था अहिले दयनीय बनेको छ । मासिक ५० हजार कमाउन त कता हो कता, आफुले लगानीबापत बुझाएको २ लाख सम्म डुबेपछि अधिकांस नेपालीहरु घरजग्गा गुमाउने अवस्थामा पुगेका छन । विन विन कम्पनीका एजेन्टहरुको जालोमा फसी दुख पाउने अधिकांस सर्वसाधारणहरु स्याङ्जा, दाङ, सिन्धुपाल्चोक, गोर्खा, लमजुङ, बाँके, कैलाली, कन्चनपुर्, बर्दिया, चितवन लगायतका क्षेत्रका रहेका छन । स्याङजा-३ का हरि शर्मा (नाम परिवर्तन)ले गत जेष्ठमा घर बैंकमा धितो राखेर ऋण लिई विनविन ट्रेडमार्क लिमिटेडलाई बुझाएका थिए । उनले विनविनका एक एजेन्ट मार्फत बनारस पुगेर कम्पनीलाई दुई लाख बुझाएका थिए । कम्पनीलाई २ लाख बुझाएको १० महिना बितीसक्दा पनि उनले त्यस बापत केहि प्रतिफल पाएका छैनन । उनी होम गुरुङ र विजय गुरुङ मार्फत यो संजालमा लागेको बताए  । हाल भने ति दुवै जना भारतमै बसेर संजाल बिस्तार गरिरहेको उनले बताए  । २ लाख बुझाएपछि मासिक ५० हजार कमाउने आशा बोकेका उनलाई अहिले बैंकको ब्याज तिर्न समेत हम्मे हम्मे परेको छ । २ लाख जुन एजेन्टमार्फत कम्पनीलाई बुझाएका थिए त्यो एजेन्टको पनि अत्तो पत्तो छैन । उनले बिजपाटीसंग भने ‘महिनामा ५० हजार कमाउने आशामा २ लाख त गुमाए गुमाए, आफ्ना साथि भाइ र आफन्त पनि गुमाए’ विनविन या यस्तो कम्पनीमा लागेका एजेन्टको जालोबाट म जस्ता सोझा साझालाई बचाउन सबैसम्म यो कुरा पुर्याउन उनले आग्रह गरे । गोरखाका गोपाल भुजेलले (नाम परिबर्तन) आफन्तको बिश्वासमा परि विन विनको डर लाग्दो संजालमा फसेको बिगतलाइ यसरी सम्झिए   । ‘ धेरै कामाइन्छ भन्ने आश देखाए । भारतको बनारसमा कार्यालय रहेको र त्यहाँ गएर तालिम लिनु पर्छ भने पछि बनारस गयौ  । तालिममा धेरै कमाउन सकिने प्रलोभन देखाए । एकै पटक धेरै कमाउछु भनेर ४१ प्रतिशतको सबै भन्दा ठुलो स्किम लिए  । नेपाल फर्केर ४-५ जना सदस्य बनाए  । सदस्य थपे पछि  केहि कमिशन आउछ भन्थे ।  तर कमिशन आएन  । लगानी फिर्ता माग्न जाँदा उल्टै डर धम्कि देखाए  । ‘ भर्खरै दुवईबाट फर्केका सिन्धुपाल्चोकका भरत थामी(नाम परिवर्तन)को पीडा पनि अन्यको भन्दा कम छैन । उनले धेरै कमाउने आशमा विदेशमा पसिना बगाएर कमाएको २ लाख रुपियाँ लगानी गरे । प्रतिफल आउने आशामा सात महिना बिताए तर केहि पाउनु त् परै जाओस् उल्टो कमाएको पनि  डुबाए । अहिले उनलाई आफन्तले  यस्तो कार्यमा नलाग्नु भनेर दिएको सल्लाह नमान्दा पछुतो भई रहेको छ । यी त विन विनको संजालमा फसेका केहि प्रतिनिधि पात्र मात्र हुन्   ।

कस्ता मानिसहरु बढी फसाइन्छ ?

बेरोजगार युवा युवतीहरु भर्खर विदेशबाट फर्केकाहरु लगानी गर्ने हैसियत राख्ने गाउँघरका मानिसहरु ऋणमा डुबेकाहरु विदेश जाने तयारीमा रहेकाहरु यसले मानिसक प्रभाब मात्र  नभई सामजिक बिकृति फैलाउन थालेको पीडितहरु बताउछन्   । आफन्तहरुसंगको मन मुटाव र साथीहरुसंग झैँ झगडा हुनु सामान्य भई सकेको छ  ।

कसरी फसाइन्छ ?

  थोरै समयमा धेरै कमाईन्छ भनेर बिश्वस्त भएकाहरुलाई पहिले बनारस वा गोरखपुरमा रहेको कार्यालयमा तालिमको लागि पुर्याईन्छ  । एक हप्ते तालिममा ६ दिन सम्म कठोर तालिम दिईन्छ  । जसमा भुईमै सुताउने, एक छाक मात्र खान दिने, तोकिएको निश्चित क्षेत्रभन्दा बाहिर जान नदिने, फोन सम्पर्क इन्टरनेट चलाउन नदिने जस्ता कार्यहरु पर्दछन्  । तालिम कै क्रममा नेपाल र भारतका नाम चलेका कलाकारहरु आउने र उनीहरुले  यस स्किमबाट राम्रै कमाई हुने भन्दै कुनै शंका नगरी बिश्वस्त भएर लगानी गर्न आग्रह गर्ने गरेको खुल्न आएको छ । पीडितका अनुसार तालिम हलमा नेपालका चर्चित कलाकार राजेश हमालले एउटा विन विन कै  समारोहको उद्घाटन गरेको फोटो देखाईन्छ  । विन विनको संजालमा भद्रगोलका अशोक धिताल (बाउन डन), पहिले मेरी बासैमा र अहिले खास खुसका संदेश लामिछाने, नायक सुमन सिंह, लोक गायक सुमन अधिकारीलगायतका कलाकारहरु पनि तालिम स्थलमा देखिने गरेको पीडितले बताउने गरेका छन्  । यद्यपि यी कलाकारहरु विन विनको प्रबर्धन र प्रचार गर्नका लागि त्यहा उपस्थित भएका हुन् वा उनीहरु स्वयं यस संजालमा फसेका हुन् भन्ने बारे भने पीडितहरु आफै अनविज्ञ छन्  । तालिमको अन्तिम तथा सातौ दिन एक परीक्षा लिने गरिन्छ जसमा सबै जनालाइ पास गराईन्छ र पास भएका सबैलाइ निम्न मध्येको एक  स्किम छान्न लगाईन्छ  ।

२० प्रतिशतको सबैभन्दा सानो स्किम जसको खर्च आठ हजार भारतीय रुपैयाँ ३५ प्रतिशतको मझौला  स्किम जसको मूल्य भारु एक लाख १० हजार र ४१ प्रतिशतको ठूलो स्किम जसको मूल्य दुई लाख प्रत्येक सदस्यलाई स्किममा लगानी भएको रकम बराबरको कपडा दिईन्छ  । जसको मूल्य कम्पनी आफैले तोक्छ । ठुलो स्किम लिनेलाई स्किम लिएको  बोनस वापत  ३२ हजार लगतै फिर्ता दिईन्छ र  स्किम लिने व्यक्तिलाइ त्यहा पुर्याउने व्यक्तिले भने बोनस वापत १५ हजार भारतीय रुपियाँ पाउछ  ।

मझौला वा ठूलो स्किम लिनेले मात्रै नयाँ सदस्य थप्न पाउन पाउछ । यसरी सदस्य बनाएपछि प्रत्येक सदस्यमा पहिलो सदस्यबापत २७ हजार तीन सय ५० हजार भारु पहिलो सदस्यले फिर्ता पाउँछ । त्यस पछि आफूले बनाएको सदस्यले थप नयाँ सदस्य बनाए बापत पहिलो तहमा आठ प्रतिशत, फेरि नयाँ सदस्यले थप बनाएको नयाँ सदस्यबापत छ प्रतिशत पाउछ । ४१ प्रतिशत स्किममा भने   प्रत्येक नयाँ सदस्यबापत पाँच प्रतिशत रकम पहिलो सदस्यको खातामा जम्मा हुँदै जान्छ।  यसरी पुराना सदस्यले लाभ पाउने र नयाँ सदस्य थपेर संजाल विस्तार हुने गरेको खुल्न आएको छ । यदि कुनै सदस्यले ३ महिनाको अवधिमा २५ जना सदस्य बनाउन सके उसले ‘मार्किज’को दर्जा पाउछ भने ५ जना सदस्य थपे ‘प्रि मार्किज’को दर्जा पाउछ । यस्तो दर्जा पाउनेको मासिक कमिसन पाँच प्रतिशत भन्दा माथि हुन्छ । संजालमा पाँच वर्ष काम गरेपछि अनिवार्य रुपमा निवृत्तिभरण पाइने भनी प्रलोभन दिईन्छ  । निवृत्तिभरणबापत पछिल्लो समय जम्मा भएको कुल रकमको ५ प्रतिशत प्राप्त हुने प्रलोभन देखाईन्छ  ।  जालोमा फस्नुको  मुख्य कारणहरु मध्ये यो पनि एक हो   । नेपालमा सञ्चालन गर्न नपाइने भएपछि त्यस्ता कारोबारीले भारतीय बजार छानेका हुन् । जहाँ हरेक दिन नयाँ सदस्यबापत नौ हजारको दरले नौ लाख भारतीय रुपियाँ कम्पनीले असुल्ने गरेको छ  । ती सदस्यहरुबाट दश दिनभित्र एक लाख १० हजारको दरले रकम लिईन्छ । जसबाट कम्पनीमा दैनिक ११ करोड भारतीय रुपियाँ भन्दा बढी जम्मा हुन्छ । यसरी हरेक दिन सयौ नेपालीहरु भारतबाट संचालित विन विन कम्पनीबाट ठगिदै आएका छन् । विगतमा युनिटीलाई कारबाही गरे झैँ सम्बन्धित निकायले  विन विनको संजाल बारे पनि थप अध्ययन अनुसन्धान गरि कारबाही प्रक्रिया अगाडी बढाउन जरुरी छ ।

(यो सामग्री पीडितहरुको कुराकानीमा आधारित छ । उनीहरुले नै असुरक्षा हुने भन्दै नाम नखुलाउँन आग्रह गरेका कारण उनीहरुको नाम परिवर्तन गरि प्रयोग भएको छ । सामग्रीमा लेखिएका कुराहरुको प्रमाण बिजपाटीसंग सुरक्षित छ । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?