Breaking News

जरिवाना तिर्न नसकेका काका भतिजले युएईमा जेल बस्छु भन्दा पनि पाएनन्

Feb Tue 2020 05:40:51

410 views

जरिवाना तिर्न नसकेका काका भतिजले युएईमा जेल बस्छु भन्दा पनि पाएनन्

उमाकान्त पाण्डे/युएई

 युएईको एक कम्पनीमा कार्यरत रोल्पाको निचवाङ ९ राङसीका सुजन र उहाँका काका डालप्रसाद घर्ती मगरले लामो समय देखि तलव पाउनु भएको थिएन् । तलव लिएर घर फर्किने योजना थियो ।

तलवका लागि कम्पनी मालिकलाई उनीहरुले ताकेता पनि गरिरहेका थिए । तर मालिक कम्पनी बन्द गरेर भाग्यो । कम्पनी मालिक तलव नदिई भागेपछि उनीहरु अदालतमा पनि पुगेका थिए । तर अदालतले उनीहरुको पक्षमा फैसला गरेन् ।

अलपत्र पारेर मालिक सम्पर्कविहिन भएको एक महिना पछि उनीहरुले नेपाली दूतावासमा ट्राभल डकुमेन्ट बनाएर विमानस्थलसम्म पुगेका थिए नेपाल फर्कन । तर सारजहाँ विमानस्थलमा प्रहरीले रोक्यो । अवैधानिक तवरमा बसेको अभियोग लाग्यो उनीहरुलाई । घर फर्किन बाटो लागेका सुजन र डालप्रसादलाई ६ लाख ५० हजार रुपैयाँका दरले जरिवाना मागियो । जरिवाना तिर्ने पैसा नभएपछि उनीहरुको नेपाल यात्रा तत्कालका लागि रोकियो ।

यात्रा अनुमती पत्रले नेपाल फर्किन नपाएपछि उनीहरुले नेपाली दूतावासलाई जानकारी गराए ।  दूतावासले सुझायो, स्थानीय प्रशासनसँग आत्मसमर्पण गरेर जेल बस्ने र नेपाल फर्कने । दूतावासकै सल्लाहमा उहाँहरु आवुधावीको जेल पुग्नुभयो । तर जेलले कैदी राख्ने ठाउँ नभएको भन्दै फर्कायो । अवैधानिकको अभियोग लागेपछि कावरवाही समेत भोग्न पाउनुभएन् ।

जेलमा ठाउँ नपाएपछि उनीहरु अहिले मगर संघ युएईको अलऐन क्षेत्रीय समितिका अध्यक्ष मोहन बुढाथोकी मगरको कोठामा बसिरहनुभएको छ । बाहिरफेर हिड्डुल गर्न र खानपिनमा समेत समस्या भयो । लामो समयदेखि काम नपाएका काका भतिज कम्पनी मालिकले तलव नदिई भागेपछि खाली हात थिए । त्यसको केहि समयपछि जेल बस्न जाँदा पनि ठाँउ भएन् ।

कम्पनी मालिक फरार मात्रै भएको भए पनि ठुलो समस्या हुने थिएन । तर कम्पनीले यी दुई नेपालीको भिसा नलगाई कामदार परिचय पत्र (पतका) समेत नक्कली  देखाएर छलकपट गरेकोले उनीहरु झनै समस्यामा परेका हुन् । गएको जनवरी २४ देखि उनीहरु अलऐनमा अलपत्र परेका थिए । पीडित डालबहादुरले भन्नुभयो, तिमीहरुलाई तीन दिन भित्र नेपाल पठाउँछु, ‘यो कागजमा हस्ताक्षर गर भन्दै श्रम अदालतमा लगेर जबरजस्ती हस्ताक्षर गर्न लगाई कम्पनी मालिक भागे । न काम गरुन्जेल दाम पाइयो, न त फर्किन्छौ भन्दा अनुमती पाइयो ।’

१५ वर्षकै उमेरमा साउदी गएका थिए सुजन

सुजन यसअघि १५ बर्षकै उमेरमा साउदी पुग्नु भएको थियो । माओवादी बढ्न थालेकोे समयमा गाउँमा बस्न युवालाई सहज थिएन । माओवादीले आफूसँग हिँड्न आग्रह गरिरहेको थियो । त्यतिबेलै सुजन साउदी हिँड्नुभएको हो । छोरालाई आन्दोलनमा पठाउनको डरले परिवारले ८ कक्षा पढ्दै गरेका सुजनलाई उमेर नपुग्दै नागरिकता र पासपोर्ट बनाएर साउदी पठाएका थिए ।

म्यानपावरले साउदी अरबको एक कम्पनीमा सुपरभाइजरको काममा सात सय ५० साउदी रियाल कमाइ हुन्छ भनेको थियो । तर साउदी पुगेपछि ४ सय रियाल तलबमा काम गर्नु पर्यो । ९ महिना कम्पनीमै काम गरेपनि भने जस्तो तलब नपाएपछि अवैधानिक रुपमा साँढे दुई बर्ष बस्नु भएमो थियो ।

साउदी बाट नेपाल फर्किएको एक बर्षपछि काका डालबहादुरसँग सल्लाह गरेर अलऐनको गोल्डेन पिकअप कम्पनीमा आउनु भएको थियो । जेल बस्न तयारहुँदा समेत ठाउँ नपाउँदा नेपाल फर्किने कहिले पाउने भन्ने कुनै पत्तो छैन् ।

 - Ujyaaloonline.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?