सामान्यतया बिरामीको अवस्था अत्यन्त जटिल भएपछि उसलाई भेन्टिलेटरमा राख्ने गरिन्छ । भेन्टिलेटरमा राखेको बिरामी बाँच्दैन भन्ने भ्रम कतिपयलाई छ । त्यस्तो होइन । तर, बिरामी नबाच्ने अवस्थामा पुगेपछि वा ‘ब्रेन डेथ’ भइसकेपछि भेन्टिलेटरबाट कतिबेला निकाल्ने भन्ने दवाव सामान्यतया डाक्टरहरुलाई परेको पाइन्छ ।
के हो भेन्टिलेटर ?
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईका अनुसार भेन्टिलेटर भनेको आफै सास फेर्न नसक्ने विरामीलाई सास फेर्न मद्दत गराउने एक किसिमको मेसिन हो । यो मेसिन मुटुको अपरेशन गरेका विरामी, अपरेशन पश्चातका विरामी तथा अन्य रोगबाट ग्रसित गम्भीर अवस्थाका विरामीलाई प्रयोग गरिन्छ ।
भेन्टिलेटरमा राखेपछि विरामीको मुटुको अवस्था कस्तो छ, चाल कुन गतिमा बढेको छ, रक्तसञ्चार राम्रोसित भैरहेको छ कि छैन, राम्ररी सास लिएको छ कि छैन भनेर हेर्न सकिन्छ । त्यसैगरी मुटुले काम नगरेको अवस्थामा मष्तिस्कको अवस्था ठिक छ कि छैन भनेर हेर्न पनि यसले मद्दत गर्छ ।
मेसिनमा टाइम सेट गरी बिरामीको फोक्सोमा एक मिनेटमा कति पटकसम्म अक्सिजन पसाउने, मुटुको धड्कन कतिपटकसम्म बढाउने वा घटाउने भनेर निर्धारण गरिन्छ । रक्तचापलाई पनि व्यवस्थित गरिन्छ । यसका बाबजुद विरामीको मुटुको चाल अकस्मात कम हुदै गए वा धड्कन रोकिए, औषधीको माध्यमबाट त्यसलाई पुनः सञ्चालनमा ल्याउन सकिन्छ ।
त्यसको लागि मेसिनमा भएको पाइपलाई विरामीको फोक्सो नजिकै लगेर जोडिन्छ । यसले विरामीको फोक्सोमा अक्सिजन पठाउनुका साथै भित्र रहेको कार्वनडाइअक्साइड बाहिर निकाल्न मद्दत गर्छ ।
कतिबेला निकाल्ने भेन्टिलेटरबाट ?
भेन्टिलेटरमा राखेको केही समय पश्चात्त विरामीले आफै सास फेर्न सकेको अवस्थामा तथा उसको रक्तचाप स्थिर तथा मुटुको धड्कनले सामान्य काम गर्न सुरु गरेको अवस्थामा उसलाई मेसिनबाट निकाल्न सकिन्छ । तर त्यसमध्य कुनै एकले मात्र पनि राम्ररी काम नगरेको अवस्थामा उसलाई थप समयका लागि मेसिनभित्रै राख्नु पर्दछ ।
‘२/३ हप्तासम्म विरामीलाई भेन्टिलेटरमा राख्दा त खासै असर पर्दैन, तर त्यो भन्दा धेरै दिनका लागि राखे संक्रमण हुने जोखिम बढ्न जान्छ’, डा. भट्टराईले अनलाइनखबरसित भने, ‘त्यस्तो अवस्थामा विरामीको घाँटीमा प्वाल बनाएर पनि हामी उनीहरुलाई अक्सिजन प्रवाह गराउछौ ।’ त्यसरी अक्सिजन प्रवाह गराउँदा विरामीले विस्तारै विस्तारै आफै सास फेर्न सक्दछ र ऊ तङग्रिन थाल्छ ।
तर दुर्भाग्यवस यदी विरामीको मृत्यु भइहाले उसलाई भेन्टिलेटरमा राखिराख्नु डाक्टरको नैतिकता विपरित हुने अर्का चिकित्सक बताउँछन् । ‘सम्भव भएसम्म विरामीको मृत्यु हुन नदिनकै लागि उनीहरुलाई भेन्टिलेटरमा राख्ने हो । तर यदी मृत्यु भइहाले उसलाई त्यहाबाट तुरुन्तै निकाल्नु हाम्रो नैतिकता हुन आउँछ,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा.अञ्जनी कुमार झाले भने ।
डा. झाका अनुसार कुनै पनि मानिसको शरीरको मुख्य अंग एकआपसमा अन्तर्निहित हुन्छन् । त्यस अवस्थामा कुनै एक अंग नचलेे त्यसलाई मेसिनको माध्यमबाट सहायता प्रदान गरेको खण्डमा त्यसले राम्ररी काम गर्न सक्छ । त्यस्तो अवस्थाकै लागि भेन्टिलेटरको आवश्यकता पर्ने गर्छ । यसले मानिसलाई पुनः स्वस्थ हुन मद्दत गर्छ ।
तर कतिपय अवस्थामा विरामीको अवस्था सुधार हुनुको साटो बिग्रदै जान्छ । भेन्टिलेटरमा राखिएको विरामीलाई कुन आधारमा मृत घोषित गरिन्छ त भन्ने प्रश्नमा झा भन्छन्, ‘विशेषगरी विरामीको मुटुको चाल, आँखाको नानी स्थिर भए नभएको, पल्स, फोक्सोले काम गरे नगरेको हेरेर अवस्था अनुसार उनीहरुलाई मृत घोषित गर्ने हो ।’ ।
मृत घोषित गर्ने अन्योल
कुनै पनि व्यक्तिलाई मृत घोषित गर्नु पुर्व उसको मुटुको धड्कन चलेको छ कि छैन, उज्यालो दिदा आँखाका सानो भए कि भएनन् भनेर हेर्नुपर्ने चिकित्सकहरु बताउछन् । त्यसैगरी इसिजीलाई पनि बलियो आधार मान्ने गरिन्छ ।
मृतक व्यक्तिको आँखामा उज्यालो छिराउँदा आँखाले कुनै प्रतिकृया जनाउदैन । जबकी सामान्य मान्छेको हकमा त्यसरी उज्यालो छिराउदा सबैभन्दा पहिले उसको आँखा सानो हुन्छ र आँखाको नानी सानो हुँदै जान्छ । त्यसैगरी मुटुको धड्कनले काम गर्न छोडेको खण्डमा इसिजीमा लामो तेर्सो धर्को देखिन्छ । फोक्सोले कुनै प्रतिक्रिया जनाउँदैन ।
कुनै पनि विरामीलाई त्यसरी मृत घोषित गर्दा उसको उपचारमा संलग्न चिकित्सकको टोलीले सहमति जनाउनु पर्छ । साथै उपचारमा संलग्न डाक्टरको टोलीले अवस्था हेरी यसबारे ठोस निक्र्योल निकालेपछि मात्र व्यक्तिलाई मृत घोषित गरिन्छ ।
त्यसो त प्राय देशहरुमा बिरामीको ‘ब्रेन डेथ’ भएपछि मृत घोषित गर्ने प्रचलन छ । तर, नेपालमा मुटुको धड्कन चल्दाचल्दै मृत घोषित गरिए बिरामीले विवाद गर्न सक्ने कुराले चिकित्सकहरु डराउँछन् । त्यसैले उनीहरुले मुटुको धड्कन पनि रोकिएको अवस्थालाई मुख्य आधार बनाउछन् ।
नाम उल्लेख नगर्ने शर्तमा एक चिकित्सकले बिरामीलाई मृत घोषित गर्ने विषयमा कानून नै बनाउनुपर्ने जिकिर गरे । उनले भने, ‘कानूनमै या-यो लक्षणदेखिए पछि मृत घोषित गनुपर्ने व्यवस्था गरिए चिकित्सकलाई सजिलो हुन्थ्यो ।’
यद्यपि चिकित्सक संघका अध्यक्ष झा भने यस विषयमा कानूनमै व्यवस्था गरिनु आवश्यक नरहेको बताउँछन् ।
‘कानूनमा लेख्दा झन् लफडा हुन्छ, अहिलेकै अभ्यास ठिक छ,’ उनले भने ।
खर्च कति लाग्छ ?
एउटा व्यक्तिलाई भेन्टिलेटरमा राख्दा अस्पतालले दैनिक आठदेखि दश हजार रुपैयासम्म बिल उठाउछन् । एक चिकित्सकका अनुसार सामान्यतया आइसीयुको न्युनतम खर्च नै चार हजार हुन्छ । त्यसमाथि भ्ोन्टिलेटरमा राख्दा थप चार हजार कम्तिमा जोडिन पुग्छ । नाम नबताउने शर्तमा उनले भने, ‘एक त भेन्टिलेटरको मुल्य नै महंगो हुन्छ । त्यसमा पनि त्यससित जोडिने अन्य कुराको खर्च पनि परिहाल्छ । जस्तैः प्रति विरामी एउटा नर्स, इसीजी, इको, औषधी, अक्सिजनको खर्च, मेसिनको मर्मतसम्भार, डाक्टरको फिस इत्यादी । त्यसैले पनि बिरामीलाई अत्यधिक भार पर्छ ।’
News Source : Onlinekhabar.com