Breaking News

अनेरास्ववियुको अध्यक्षमा नविना लामा र महासचिव ऐन महर निर्वाचित

Feb Tue 2020 05:40:29

723 views

अनेरास्ववियुको अध्यक्षमा नविना लामा र महासचिव ऐन महर निर्वाचित

काठमाडाैं ।

नेकपा (एमाले)को जनवर्गीय संगठन अनेरास्ववियुको २२ औं महाधिवेशनबाट नविना लामा अध्यक्षमा निर्वाचित भएकी छिन् । प्रतिद्धन्द्धी दिपक गौतमलाई हराउदैं निर्वतमान महासचिव लामा अध्यक्षमा निर्वाचित भएकी हुन् । लामाले ८ सय ६५ मत ल्याएकी छिन् भने प्रतिद्वन्द्वी दीपक गौतमले मत ६ सय ४९ पाएका छन् ।

२० बर्षदेखी निरन्तर अखिलको राजनीतिमा क्रियाशिल नविना अखिलको दोस्रो महिला अध्यक्ष बनेकी छिन् । अखिल इतिहासमा रामकुमारी झाँक्रीपछि नेतृत्व सम्हाल्ने नविना दोस्रो नेतृ भएकी छन् । यस्तै उपाध्यक्षमा महेश बर्तौला ७८६ ,रश्मि आचार्य ७४२,शैलेश लामा ६८२ र सुनिता बराल ७२१ मतका साथ निर्वाचित भएका छन्।

यसैगरी महासचिवमा लामा प्यानलकै ऐनबहादुर महर निर्वाचित भए। उनले गौतम प्यानलका अब्दुल हुसेन खाँलाई पराजित गरे। महासचिवमा निर्वाचित ऐन महरले ८३१  मत प्राप्त गर्दा हुसेनले ६६० मत प्राप्त गरे।

त्यस्तै, सचिवाहरुमध्ये खुल्लातर्फ समिक बडाल, आरसी लामिछाने, सुदेश पराजुली र मकर खड्का विजयी भएका छन् । महिला सचिवमा आरती लामा, मधेसीतर्फको सचिवमा ओसिम आलम र जनजातीतर्फबाट अमृत बुढा विजयी भएका छन् । यीमध्ये पराजुली, लामा र आलम नेपाल निकट मानिन्छन् । कोषाध्यक्षमा भने संस्थापनकै झपिन्द्र खत्री विजयी भएका छन् ।
त्यस्तै, अनुशासन आयोगमा नीशा अधिकारी, निर्वाचन आयोगमा तुलसी मैनाली तथा लेखा आयोगमा धर्मेन्द्र रोकाय निर्वाचित भएका छन् । सचिवालय सदस्यतर्फ सुदर्शन शिबाकाटी, यशु लामा, भाष्कर खनाल, टीकाजंग थापा, यमराज पाण्डे, युवराज कुँवर, सूर्य रोकाय, डम्बर अधिकारी, नारायण घर्ती, अर्जुन अधिकारी, उमेश आचार्य, श्याम प्रजापती, कनिष पटेल, कल्पना थापा, एलबी सिंह, मर्यादा विष्ट, सम्झना अधिकारी, रामशरण चौधरी, जेनिश लामालगायत निर्वाचित भएका छन् ।
गत २८ गते सुरु भएको अखिल महाधिवेशन दुई साता लम्बिएर नयाँ नेतृत्व चयनसँगै आइतबार मात्रै सम्पन्न भएको छ । महाधिवेशनमा १५ सय ९७ प्रतिनिधि सहभागी भएकोमा १५ सय १९ मत खसेको थियो ।

को हुन् नविना ?

‘२० वर्षदेखी निरन्तर अखिलको राजनीतिमा, जो अहिलेसम्म कहिल्यै हारेनन्’

लामा अनेरास्ववियुको महेन्द्र मावि मादनकुँडारीको प्रारम्भिक कमिटीदेखि, जिल्ला कमिटी उपाध्यक्ष, बानेश्वर क्याम्पसको स्ववियु सचिव, सभापति भएर साझा विद्यार्थी फोरममा पनि निर्वाचित नेत्री हुन् ।

उनी अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै दुई कार्यकाल सचिवालय सदस्य, एक कार्यकाल उपाध्यक्ष र एक कार्यकाल महासचिव समेत भइसकेकी छिन् । महासचिव लामा १२ वर्षको उमेरदेखि निरन्तर राजनीतिमा छिन् । काठमाडौंको बानेश्वर क्याम्पसमा उच्च शिक्षा अध्ययन सुरु गरेकी नविना ०६० सालको स्ववियु निर्बाचनमा बानेश्वर क्याम्पसको सचिव पदमा निर्वाचित भइन् । ०६२ को निर्वाचनमा सोही क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित भइन् ।

अनेरास्ववियुको १४ औँ, १५ औं र १६ औँ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्य निर्वाचित भएकी उनले १७ औँ सम्मेलनबाट केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्न पुगिन् । १८ औँ राष्ट्रिय सम्मेलनमा सचिवालय सदस्य निर्वाचित भएकी नविनाले महिला विभाग प्रमुखको जिम्मेवारी सम्हालिन् ।

त्यस्तै १९ औं राष्ट्रिय सम्मेलनमा पनि सचिवालय सदस्यमै निर्वाचित भएपछि प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालिन् । जनकपुरमा भएको २० औँ राष्ट्रिय सम्मेलनबाट उनी सचिवालय सदस्यबाट उपाध्यक्षको जिम्मेवारीमा पुगिन् । काठमाडौँमा सम्पन्न २१ औँ सम्मेलनबाट उनी पार्टी र संगठनको आग्रहमा एक पद घटुवा भएर महासचिवको उम्मेदवार बनेकी थिइन् । निरन्तर निष्ठाका साथ राजनीतिमा लागेका लामा भबिष्यमा देशको प्रधानमन्त्री बनेर देश चलाउने बताउँछन् ।

अखिलको निर्वाचनको तयारीको दौरानमा उनले नयाँ पेजसँग भनेकी थिइन्,‘आत्मविश्वासका साथ भोलि मैले देशको प्रधानमन्त्री बन्ने परिकल्पना गरेकी छु । आजसम्मको राजनीतिक कालखण्डमा मैले धेरै पीडा र संघर्ष भोगेकी छु । स्ववियुको निर्वाचनमा मैले नेविसंघ, अखिल क्रान्तिकारी जस्ता अतिवादी शक्तिसँग लडेका अनुभव संगालीकी छु ।

०६२/६३ को आन्दोलनमा पटकपटक हिरासत भोगेकी छु । राष्ट्रियताको आन्दोलनमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने क्रममा थुप्रै संघर्ष गरेकी छु । महिला संगठकका रुपमा आजसम्म सफलता हासिल गर्दै यहाँसम्म आइपुगेकी छु । मैले स्वभाविक ढङ्गले कार्यकारी प्रमुख बन्ने विश्वास लिएकी छु । आजका विद्यार्थीलाई नेतृत्व गर्दै भोली देशको नेतृत्व सम्हाल्नु नै मेरो राजनीतिक सपना हो ।’

अखिलको राजनीतिसँगै अब पारिवारिक जीवन पनि अगाडि बढाउने योजना छ नविनाको । ‘मान्छेको जीवनमा उतार चढाव हुन्छन् । जीवन सफलता र असफलताको संगम हो । जीवनको यात्र कहिल्यै टुंगिदैन । मान्छेको जीवनमा समस्या र चुनौती आउछन् । ति सबैलाई सामना गर्ने तागत राजनीतिक नेतृत्वमा हुनुपर्छ ।  राजनीतिक यात्रामा सुख, दुःख र पीडामा रमाउन सक्नु पर्छ । म अहिले स्वतन्त्र जीवनमा छु । विस्तारै व्यवहारिक जीवन सुरु हुन्छ । पारिवारिक बन्धनमा हुन्छन्,’ नयाँ पेजसँग उनले भनिन्‘ पारिवारिक र सामाजिक जीवनलाई सन्तुलित ढंगले अगाडि बढाउनुपर्छ । यी सबै चुनौतीको सामना गर्ने साहसका साथ राजनीतिमा अहिले सक्रियताका साथ अघि बढेकी छु ।

को हुन् ऐन महर ? बझाङको दुर्गम गाउँदेखी अखिलको केन्द्रमा

Yen Mahar (1)

महासचिव ऐन महर मध्यम वर्गीय परिवारमा वि.स. २०४० सालमा बझाङ जिल्लाको सुवेदामा जन्मिएका हुन । महरको पारिवारमा राजनीतिक पुस्तान्तरणको क्यामेष्ट्री रोमाञ्चक छ । उनका हजुरबुवा प्रधानपञ्च थिए भने बुबा गाउँमा नेपाली कांग्रेसका प्रभावशाली नेता ।

राजनीतिक त्रिकोणमा परेका महरलाई हजुरबुवाको पञ्चायती राजनीतिले तान्न सकेन । न त बुबाको कांग्रेसी राजनीतिले नै तान्यो । परिवारमा उनीले राजनीतिमा अर्को धार भित्र्याए । उनी भए कम्यूनिष्ट । चर्चित कम्यूनिष्ट नेता मदन भण्डारीको हत्या भएपछि महर कम्युनिष्टप्रति आकर्षित भएका हुन । महर सम्झन्छन ‘रेडियो नेपालमा भणडरीबारे खुब समाचार आउँथ्यो । मदन भण्डारी कम्युनिष्ट थिए भन्ने ज्ञान हुदै गयो र पछि कम्युनिष्ट राजनीतिप्रति आकर्षित भए’

बुबाले महरलाई काग्रेसको नेता बनाउँन चाहान्थे त्यसैले नेविसंघको प्रभाव रहेको त्रिचन्द्रमा विज्ञान विषय पढ्न भर्ना गरिदिए । तर, मनमा कम्युनिष्ट राजनीति टुसाउँदै गरेका महर काठमाण्डौबाट बुबा गाउँ फर्किने वित्तिकै अमृत साइन्स कलेजमा भर्ना भए जहाँ अनेरास्ववियु र अखिल क्रान्तिकारीको पुरै प्रभाव थियो । पछि नेताहरुका अनुरोधमा संगठन बिस्तार गर्ने उद्देश्यसहित उनी पुन त्रिचन्द्र फर्किए । उनी पोखरामा सम्पन्न १९ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य निर्वा्चित भए ।

जनकपुरमा सम्पन्न २० औं सम्मेलनबाट सचिवालय सदस्य र काठमाडौँमा सम्पन्न २१ औं सम्मेलनबाट उनी उपाध्यक्ष निर्वा्चित भएका थिए । २२ औं राष्ट्रिय महाधिवेशनमा उनी महासचिव पदका विजयी भएका छन् । उनी अखिलमा कुशल संगठक मानिन्छन् ।

-नयाँ पेजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?