Breaking News

आइसिटी नेपालका हस्ती महावीर पुन 'कुनै बेला बाँच्नकै लागि खाडी जाने सोचाइमा थिए'

Feb Tue 2020 05:40:36

729 views

आइसिटी नेपालका हस्ती महावीर पुन    'कुनै बेला बाँच्नकै लागि खाडी जाने सोचाइमा थिए'

म म्याग्दी जिल्लामा जन्मिएको हुँ । मेरो गाउँ नेपालका अन्य गाउँजस्तै सामान्य र सुन्दर छ । त्यति बेला हाम्रो गाउँबाट सबभन्दा नजिकको बजार पुग्न नै केही दिन हिँड्नुपथ्र्यो । त्यस्तो ठाउँमा कुनै आधुनिक प्रविधि पुग्ने कुरै थिएन । गाउँलेहरू खेती गर्थे, बस्तु पाल्थे । तन्नेराहरू कमाउनका लागि बेलायती र भारतीय सेनामा भर्ती हुन्थे । भात खानका लागि दशैँ, माघे सङ्क्रान्ति तथा चैते दशैँजस्ता चाड कुर्नुपथ्र्यो ।

एक चोटि हाम्रा गाउँमा कुनै लाहुरेले एउटा रेडियो ल्याए । मलाई त त्यहाँभित्र सानासाना मान्छेहरू बोलेजस्तो लाग्यो । मैले जिन्दगीमा कुनै विद्युतीय सामग्री देखेको त्यो नै पहिलो पटक हो । हाम्रा गाउँमा सेनाको जागिरबाट पेन्सन पकाएकाहरूले हामीलाई काठको पाटी र चकले अलिअलि पढाउँथेँ । पढाइको एक मात्र उद्देश्य हामीलाई सेनामा भर्ती गर्न अक्षर चिनाउनु थियो । मेरा बा पनि बेलायती सेनाको जागिरे हुनुहुन्थ्यो । उहाँको सोचाइ सकारात्मक र आधुनिक थियो ।

मलाई अलिक माथिसम्मै पढाउने बाको इच्छाका कारण हामी चितवन बसाइ गयौँ । चितवनमा मामाले जग्गा किन्नुभएको थियो । मेरो स्कुले पढाइ नसकिउन्जेल बा र मैले त्यो जग्गामा खेती लगायौँ । त्यसपछि अमृत साइन्स क्याम्पस पढ्न भनेर म काठमाडौँ आएँ । महिनाको ३० रुपैयाँ तिर्ने गरी ठमेलमा डेरा लिएँ । ३० रुपैयाँको डेरा त्यति बेला महँगै मानिन्थ्यो ।

भर्ना त भइयो तर अङ्ग्रेजी कमजोर हुनाले कक्षामा पढाएका आधाभन्दा बढी कुरा मैले बुझिनँ । साथीहरूका कुरा सुनेर अनि जाँच अगाडि घोकेर अलिअलि बुझेँ । त्यतिले मात्र आइएस्सीमा फस्र्ट डिभिजन ल्याउने सपना पूरा भएन ।

यदि फस्र्ट डिभिजन आएको भए इन्जिनियरिङ् पढ्न विदेश जान पाइन्थ्यो । अब फेरि मेरो पढाइमा बाको पैसा खर्च गराउन मैले सकिनँ । त्यसैले म चितवन फर्किएँ र एउटा स्कुलमा पढाउन थालेँ ।

अलि पछि म फेरि काठमाडौँ आएँ । कामका लागि युवाहरू खाडी जाने क्रम चलेको थियो । मलाई पनि खाडी जाऔँ र पैसा कमाऔँजस्तो लाग्यो । तर फेरि, अमेरिका गएर पढौँजस्तो लाग्यो । तर त्यसका लागि अमेरिकी विश्वविद्यालयबाट स्वीकृति पाउन मैले डेढ वर्ष गहन स्वाध्ययन गरेँ ।

आजकाल म समुदायका लागि सामाजिक उद्यमशीलता विकास गर्न मेरो समय खर्चिरहेको छु र मेरो राष्ट्रिय आविष्कार केन्द्र मार्फत् दिगो उद्यमशीलताका लागि विचार मन्थन गरिरहेको छु । हामी स्थानीय स्रोत साधनको प्रयोग गरी दिगो उद्यम विकास गर्ने काम गरिरेका छौँ । चिज उत्पादन, हाते कागज उत्पादन, मौरी पालन, नगदे बालीको खेती, पदयात्रा मार्गको खोजी, पर्यटकका लागि सामुदायिक लज सञ्चालन आदि यसका उदाहरण हुन् ।

विदेशमा काम गरेका युवाहरू नेपालमा आएपछि यतै केही गरेर बस्न चाहान्छन् । त्यसका लागि उनीहरूलाई लगानी सुरक्षित हुने र काम गर्न सकिने ढाँचा (मोडेल) चाहिन्छ । अचेल उनीहरूले प्रायः जग्गामा लगानी गर्ने र सुखको जिन्दगी जिउन सहरमा बस्ने गरेको देखिन्छ । तर यदि हामीले उनीहरूलाई केही नयाँ विचार दिन सक्यौँ भने, अझ त्यसभन्दा बढी यो विचार कसरी काम गर्छ भन्ने देखाउन सक्यौँ भने, उनीहरू गाउँमै जिन्दगी बिताउन चाहान्छन् ।

सम्पादकका तर्फबाट : डाक्टर महावीर पुन तल दिइएका लगायत विभिन्न पुरस्कारका विजेता हुन् : २००२ : अशोका फेलोसिप (अशोका फाउन्डेसन) २००४ : ओभरअल सोसियल इनोभेसन अवार्ड (ग्लोबल आइडियाज ब्याङ्क) २००७ : सामुदायिक नेतृत्वका लागि म्यागासेसे अवार्ड २००७ : (मानार्थ) महाविद्यावारिधि (नेब्रास्का विश्वविद्यालय) २०१४ : जोनादन बी पोस्टल सर्भिस (इन्टरनेट सोसाइटी)

आफ्नो राष्ट्रिय आविष्कार केन्द्र मार्फत् उनी विभिन्न परियोजनाका लागि आर्थिक स्रोत जुटाउन क्रियाशील छन् । सरकारले आवश्यक सहयोग नगरेको भन्दै उनले हालसालै आफ्ना परियोजनाका लागि खर्च जुटाउन आफ्ना केही पदक तथा उपाधि बेचेका छन् । -Source copied: ICONS Nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?