काठमाडौं, बुद्धि तामाङ, दीपाश्री निरौलाले निर्देशन गर्ने चलचित्र छक्का पञ्जामा अनुबन्ध भएका छन् । कबड्डी र कबड्डी कबड्डीमा उनले गरेको अभिनयले दर्शकको मन छोयो । उनले ती सिनेमामा बोलेको थेगो हैट ! दर्शकमाझ चर्चित बन्यो ।
बुद्धिले कबड्डी र कबड्डी कबड्डीसँगै त्यान्द्रोमा पनि दयाहाङ राईसँग अभिनय गरे । ती सिनेमामा उनले देखाएको अभिनय कौशलकै कारण उनी चर्चित हास्यब्यङ्ग्य श्रृङ्खला मेरी बास्सैमा पनि छाए । त्यहाँबाट उनको लोकप्रियता झन् बढ्यो । उनको बढ्दो लोकप्रियताले नै छक्का पञ्जासम्मको यात्रा तय गरेको हो । सिनेमामा स्थापित बन्दै गरेका बुद्धिले यहाँसम्म आइपुग्न भने गतिलै संघर्ष गरेका छन् ।
पैसाका लागि जे भेट्यो त्यही पेशा
बुद्धि काभ्रेका हुन् । गाउँमा रहँदा उनमा कुनै सपना थिएन । १६ वर्षमा एसएससी दिए । बिना कुनै योजना काठमाडौं आए । काठमाडौं आएपछि, बल्ल उनले सपना देखे –जतिसक्दो धेरै पैसा कमाउने । डाक्टर बन्छु, ईन्जिनियर बन्छु या कुनै पेशा अंगाल्छु भन्ने उनको सपना थिएन । सपना थियो–पैसा कमाउने । पेशाको निक्र्यौल गर्न नसकेका बुद्धिले पैसाका लागि जे भेट्यो त्यही पेशा अंगाले । ‘मैले सुरुमा काठमाडौँ आएर जागिर खोजेँ । तिमीले एसएलसी पास गरेर काठमाडौँ आयौ भने जागिर दिने जिम्मा मेरो भनेर भन्ने फुर्ति लाउनेहरु धेरै थिए । धाएँ धाएँ, लास्टमा केहि पनि भएन’ उनले आफ्नो भोगाई सुनाए ।
उनलाई न यो गर्छु भन्ने थियो न त्यो गर्छु भन्ने । जे होस् जसरी हुन्छ पैसा चाहिँ कमाउनुपर्छ भन्ने थियो । जागिरको आश्वासन दिनेले पर्खाएरै राखेपछि बल्ल उनले जागिरको खोजी थाले । त्यतिञ्जेल उनमा अझै आश गर्ने धैर्यता बाँकी रहेन । उनले ईँट्टामा पैसा देखे । ईँट्टा बनाउने काममा लागे । ‘काठमाडौं आईसकेपछि एक दिन दुई दिन त आशाले नै डोर्यायो । तीन, चार दिन पछिसम्म आश्वासनले थमथम्यायो । अनि त्यस्तै एक महिना जति भैसकेपछि निराशाले धेरै सताउन थालेको थियो’ उनले भने । धेरै पैसा कमाउने सपना देखेको मान्छे यति छिट्टै निराश हुनुले जिन्दगीमा केही हुने थिएन । त्यसैले उनले त्यो आत्मग्लानीलाई शक्तिमा बदलेर ईँट्टा बनाउन थाले ।
ईँट्टा बनाएर आमाको उपचार
ईँट्टामा पैसा देखे । जाँगर खुब लाग्यो । सखारै ४ बजे उठेर २ बजेसम्म काम गर्थे उनी । ईँट्टा बनाउन जाडो महिना उत्तम हो । जाडो महिना । लगातार एउटै काम । एउटै सेड्युल । काम दिक्क लाग्दो लाग्न थाल्यो । एउटै काम गर्दा गर्दा वाक्क लागेपछि उनले २ वर्षपछि त्यो काम छाडे । त्यो पैसाले बिरामी आमाको उपचारमा खर्च गरे । पाठेघरको समस्या थियो आमालाई । गाउँघरमा धामीझाँक्रीका भर परेर ज्यान असाध्यै बिग्रिएको थियो । त्यही पीडा सहन नसकेर उनी आमालाई काठमाडौं ल्याएर उपचार गर्न चाहन्थे । दुई वर्ष त्यो झण्झटलाग्दो ईँट्टा बनाउने काम गरेर कमाएको पैसा आमाको उपचारमा काम आयो ।
जिन्दगी साईकल गतिमा कुद्यो
बुद्धि भन्छन् ‘त्यसपछि जिन्दगीको यात्रा साईकलको गतिमा भयो । जुन गाडीको स्पीडमा हुनुपर्ने थियो , तर भएन । मैले यहाँ मात्र बसेर भएन भनेर, त्यहाँबाट फुत्त निस्केर घुमन्ते, फिरन्ते कामहरु पनि गर्न थालेँ । बदम बेच्ने, बरफ बेच्ने, जे–जे अगाडि आउँछ, इन्कम हुने त्यो बाटोमा लागँे । मैले त्यो चँै धेरै गरिन । दुई, तीन महिना मात्र’ उनले भने ।
उनको सपनै पैसा कमाउने थियो । त्यसैले जहाँ पैसा कमाईन्छ जस्तो लाग्थ्यो उनी त्यतै हाम फाल्थे । यसैले पनि उनी आफ्नो जिन्दगीलाई साईकलको गतिमा कुदेको भन्न रुचाउँछन् । बदाम बेच्दा ताकाको रमाईलो घट्ना पनि उनी सम्झन्छन्, जतिबेला उनले राजेश हमाल भेटेका थिए । ‘त्यतिबेला एउटा फिल्मको सुटिङ पनि थियो । छोरी बुहारी फिल्मको सुटिङ थियो । राजेश हमाल पनि हुनुहुन्थ्यो । भक्तपुरको गुन्डुमा म बदाम बेच्न जान्थें । राजेश हमालको फिल्मको सुटिङ भइरहेको बेलामा । अनि एउटा सिन चाहिँ जुत्ता फुत्त उड्ने सिन थियो । हेरेर बसेँ । ए ! सुटिङ भनेको यस्तो पो हुँदो रैछ भनेर’ उनले भने ।
बदाम बेच्ने काम । घुमि हिँड्नुपर्ने । नयाँ ठाउँ पुग्थें । नयाँ मानिस भेट्थें । कमाई पनि नराम्रो थिएन । ‘मैले त्यो बेलामा दिनमा धेरै कमाएको भनेको ८ सय जति कमाएको छु । अनि थोरै कमाएको भनेको चैँ ३ सय जति कमाएको थिएँ, दिनमा । जे होस कमाईन्थ्यो’ उनले पुराना दिन सम्झे ।
बदाम बेचेपछि भाँडा माझ्ने यात्रा
काभ्रेबाट काठमाडौ आई पैसा कमाउने सपना बोकेको ठिटोको यात्रा अब भाँडा माझ्नेतर्फ मोडियो । उनी भक्तपुरबाट काठमाडौं बसाई सरे । कपनमा डेरा गरे र फेरि नयाँ व्यापार सुरु गरे खुर्सानी बेच्ने । उनी ति यसरी सम्झन्छन् ‘जे सुकै गर । तर, पैसा कमा केटो भन्ने लाग्थ्यो । यहि पैसा कमाउनुछ भने, व्यापार गर भन्ने पनि कता कता सुनेको थिएँ ।’ त्यसैले उनी भाँडा माझ्नसमेत पछि परेरनन् । त्यसैताका उनले एउटा रेष्टुरेण्टमा काम पाए । त्यो काम भाँडा माझ्ने थियो । उनले त्यहाँ मस्काउनसम्म भाँडा मस्काएँ ।
पत्रिका पनि बेचेँ
बुद्धिले पैसा कमाउने होडमा के गरेनन् ? बदाम बेचे । खुर्सानी बेचे । भाँडा माझे । अनि पत्रिका बेचे । बुद्धि अझै लजालु छन् । त्यति बेला झन् लजालु थिए । उनी पत्रिका बेच्दा कहिल्यै कराएर बोलेनन् । ‘म एकदमै सम्झन्छु, आफ्नो अनुहार । सोझो, फुस्रो त्यो कालो कालो भाको । धेरै नबोल्ने । मान्छेले सोधिहाले भने पनि प्रायँ एस, नो मा जान्थ्यो । मैले कैले पनि कराएर लौ आयो हजुर, यस्तो उस्तो भनेर कहिले पनि पत्रिका बेचिन’ उनले आफूले पत्रिका बेचेका दिनहरु सम्झँदै भने ‘खासमा प्रस्टै देखिने गरी, यो केटाले यो पत्रिका बेच्दैछ भन्ने गरी क्यारेक्टर रजिस्टरर चैँ मैले गरेको थिएँ । किनभने बेचेको हो भन्ने फिल गराको थिएँ । अनि कसैले, यसो आँखा पुर्यायो भने , साईकोलोजी चैँ चाहेको हो कि भन्दै नजिक जान्थेँ ।’
नाटकले तान्यो
एक दिन आफ्ना साथी प्रभावकोमा गएका थिए । त्यसबेला उनी ट्रेकिङमा थिए । उनी पर्यटकलाई ट्रेकिङ लिएर जान्थे । त्यही यात्राको गफ छाँट्न उनी त्यहाँ पुगेका थिए । तर, त्यही मेसोमा उनले अनौठो प्रस्ताव पाए– नाटक खेल्ने । पैसा हुन्छ भने किन नगर्ने ? पैसाकै लागि उनले नाटक गर्न मुन्टो हल्लाए । साथीले, शंखनारायण प्रजापतिलाई भेटाईदिए । नाटक खेल्नु अघि तालिमको कुरा आयो । उनी कम्मर कसेर जावलाखेल स्टाफ कलेज पुगे । सुरुमा अंग्रेजी नबुझ्दा गाह्रो भयो । तर पछि बानी पर्दै गयो । नाटकको तालिमपछि उनी जिल्ला जिल्लामा सडक नाटक गर्न हिडेँ । नयाँ ठाउँ पुगिएकै छ । पैसा पनि आएकै छ । दंग परे । त्यसै बेला उनमा नाटकप्रतिको नशा चढेको थियो । लत बसेको थियो ।
नाटक गर्छु भन्ने फुर्ति उनमा बढ्दै थियो । तर, त्यो सोचेजति सजिलो कहाँ थियो र ? त्यही ताका दयाहाङ राई लगायतका कलाकारहरुले लेडी फ्रम द सी नाटक मञ्चन गर्ने भए । त्यसमा खेल्ने रहर निक्कै थियो उनमा । तर स्वरका कारण उनी त्यस नाटकमा नदेखिने भए । त्यतिखेर उनलाई पर्नुसम्मको पीर पर्यो । ‘म फिट भएन भ्वाइसको कारणले चैँ अलिकति समस्या भयो भनेपछि । म होपलेस भएँ । साला यो सेक्टरमा लाग्छु भनेर त लागियो । यहि सेक्टरमा केही गर्छु भनेर मन मनै सोचेँ तर अहिले आएर हुँदैन भने पछि, यसको बैकल्पिक पाटो छ नि त, टेक्निकल पाटो पनि हेर्छु नि त भनेर यसो बुझ्न थालँे । अहिले थियटर लाईट डिजाइनिङ गर्छु मजाले ।’
जुन–जुनु सेक्टरमा काम गरेँ, त्यहाँ जमेरै गरेँ
अहिले बुद्धि तामाङ, नाटक खेल्छन् । थियटर लाईट डिजाईनमा पनि पोख्त छन् । ठूला तथा साना पर्दाका चलचित्रमा उनको अभिनय जीवन्त भन्दै प्रशंसा भईरहेको छ । बदाम बेच्ने काभ्रेली ठिटो अहिले सेलिब्रेटी भएका छन् । आजभोली त उनको अटोग्राफ माग्नेहरु पनि बाक्लै भेटिन्छन् रे । भन्छन् ‘अटोग्राफ माग्ने फोटो खिच्ने चँै हल्का फुल्का भयो । जब मेरी बास्सैमा आएँ झन् प्लस पोईन्ट भयो । थियटर मैले आजसम्म झन्डै १० वर्ष बिताएँ । जुन –जुनु सेक्टरमा काम गरेँ, त्यहाँ जमेरै गरेँ । मैले टेक्निकल लाईनमा काम गरेँ त्यो पनि जम्यो । त्यही कामबाट, फिल्ममा पनि म आर्टको काम हेर्छु । जस्तै साँघुरो, कबड्डी कबड्डी , त्यान्द्रो, त्यहाँ पनि मैले आर्ट हिसाबले हेरेको हो ।’