Breaking News

नेपालका एटिएम बुथ हृयाकरको निशानामा

Feb Tue 2020 05:40:38

239 views

नेपालका एटिएम बुथ हृयाकरको निशानामा

 एटीएमबाट पैसा चोर्दै गर्दा यसरी पक्राऊ परे रोमानियाली नागरिक

युरोप र अमेरिकाका ग्राहकको एटीएम कार्डको पिन नम्बर र पासवर्ड चोरी नेपाल आएर एटीएमबाट पैसा निकाल्न सक्रिय अन्तर्राष्ट्रिय समूहका सदस्य पक्राउ परेका छन्। अमेरिका, फ्रान्स, इन्डोनेसिया, जर्मनीलगायत देशका नागरिकको एटीएमको पिन नम्बर चोरी गरी नेपालबाट पैसा निकाल्ने रोमानियाका नागरिक अबालियन प्रेडालाई ठमेलबाट नेपाल प्रहरीले पक्राउ गरेको हो ।

एटीएमको सुरक्षा संयन्त्र कमजोर रहेका पपुवा न्युगिनी, बोलिभिया, इन्डोनेसिया, थाइल्यान्ड हुँदै उनी नेपाल आइपुगेका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शंकर गेस्ट हाउसमा पक्राउ गर्दा उनको साथबाट विभिन्न देशका ६० एटीएम कार्ड र १ करोड २० लाख रुपैयाँ फेला परेको थियो। २ महिनादेखि नेपालमा बसिरहेका उनले विभिन्न बैंकको एटीएम प्रयोग गर्दै अर्काको नामको पैसा निकाल्दै आएको प्रहरी ब्युरो अनुसन्धानले जनाएको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार कमजोर एटीएम प्रणाली रहेका देश पुगी चोरीको कार्डबाट पैसा निकाल्ने दुई अन्तर्राष्ट्रिय समूह सक्रिय छन्। विभिन्न देशमा रहेका प्रेडाको समूहका सदस्यले पिन नम्बर चोरी गरी उनलाई दिने गर्थे। जसलाई प्रयोग गरी खाली एटीएम कार्ड वा गिफ्ट कार्डमा सो पिन नम्बर राखी नेपाली एटीएमबाट उनले सहजै पैसा निकाल्ने गरेका थिए।

चोरीको पैसा ठमेलमा रहेका मनी चेन्जरमा गएर डलरमा साट्ने र यो पैसा पिन नम्बर चोर्नेले ३० प्रतिशत र पैसा निकाल्नेले ७० प्रतिशतका दरले भागबन्डा गर्दै आएका थिए। प्रेडाले हिमालयन बैंकको एटीएमबाट पटक–पटक पैसा निकालेपछि बैंकले उनीमाथि शंका लागेर प्रहरीलाई खबर गरेको थियो। उनको गतिविधि निगरानी गर्दा एटीएम चोरीमा संलग्न अन्तर्राष्ट्रिय समूहको सदस्य रहेको ठहर गरेपछि ब्युरोले उनलाई पक्राउ गरेको हो। उनी यसरी पैसा निकाल्न दोस्रोपटक नेपाल आएको पनि अनुसन्धानबाट खुलेको छ।

‘नेपालको एटीएममा जबसम्म चिप्सको प्रयोग हुन्छ तबसम्म यसरी पैसा निकालिइरहन्छन्,’ प्रेडाको बयान उद्धृत गर्दै अनुसन्धानमा सहभागी एक प्रहरी अधिकारीले भने।

ब्युरोले यसअघि पनि नेपाल आएर चोरीको पिन नम्बरका आधारमा एटीएमबाट पैसा निकाल्ने बुल्गेरियन समूहलाई पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?