काठमाडौँ, असार ११ सम्माननीय प्रधानमन्त्री ज्यु !
काबुल घटनाले धेरै चर्चा पायो चाहे त्यो बिरोधको होस या प्रशंसाको, म आफै पनि पछि परिन कि तपाइँलाई प्रशंसा गर्न । मलाइ पनि थाहा छैन मैले गरेको प्रशंसा आदरको लागि भयो या अनादरको लागि, मैले यसो भनिरहदा अनर्थ नहोस ।
किन कि समाजिक संजालमा यस्तो खबर पनि देखियो कि जुन कामको लागि नेपाल सरकारले कुनै कदम चालेकै छैन, सबै कुरो कम्पनीले नै बेहोरेको छ । प्रत्येक ब्याक्तिलाई हामिले दस हजार डलरको दरले दिएका छौ भनेर भनिएको थियो ।
यदि त्यसो हो नै भने त, कुरो जनता प्रति उत्तरदायी भन्दा पैसाको राजनीति देखियो र यो सरासर साउदी कतारमा काम गर्ने नेपाली माथिको ठूलो अन्याय हो । यसो भनिरहदा मैले सरकारले गरेको काबुल घटनाको बिरोध गर्न पुगेको हैन । कुरो त यो हो जुन आज हजारौं नेपालिको यस्तो चीत्कार चिच्याउनु परेको छ ।
‘म नेपाल फर्किन चाहन्छु । मलाई आमा भेट्न मन छ । जसरी हुन्छ पहल गरेर छिटो निकालिदिनुहोस्’ । मलाइ बिश्वास छ यो चीत्कार तपाइँको कानमा गुन्जियो होला । यदि गुन्जिएको छैन भने यो चित्कार हो ११ बर्ष देखि साउदीमा बन्धक बनाइएकी नवलपरासीको जता ४ की शान्ति गुरुङको ।
शान्तिलाई घर फर्काउन अनुरोध गर्ने व्यक्तिलाई घर मालिकले भाका राख्दै झुक्याउँदै गरेको छ । उसले कहिले रमजान सकिएपछि पठाउँछु भन्छ त कहिले ईद सकिएपछि पठाउँछु भन्छ । तर धेरै वटा रमजान र इद सकिँदा पनि शान्ति घर फर्कन सकेकी छैनन।
शान्तिले काम गर्दै आएको घरको मालिकले केहि दिनदेखि त मेरो घरमा कोहि पनि नेपाली छैनन् भन्न थालेको छ । शान्तिले घरमा फोन गर्दा छिटो नेपाल फर्काइदिनु भन्न छाडेकि छैनन् । शान्तिले बारम्बार फोन गरेपछि परिवार नआत्तिउन पनि कसरि । विभिन्न संघ संस्थामा उद्धारका लागि आग्रह नगरेका पनि हैनन । तर न संघसंस्थाले उद्धार गर्न सके न त सरकारी निकायले नै चासो दियो ।
नेपाली राजदूतावास साउदीमा पनि शान्तिलाई फर्काउन पहल गरिदिन आग्रह त गरे। तर दूतावासले वास्ता नगरेको पीडितको गुनासो छ । परिवारले शान्तिको पासपोर्ट, भिसा र घर मालिकको फोन नम्बर सहित दूतावासमा आग्रह गरेका छन् । तर दूतावासले कुनै वास्ता नगरेको बताउँछन् ।
२०६२ सालमा रोजगारीका लागि शान्ति साउदीको दमामस्थित एक घरमा पुर्याइएकी थिइन । दलालले भारतको बाटो हुँदै साउदी पुर्याएकी शान्ति एक पटक घरमा फोन गरेपछि लामो समयसम्म सम्पर्क बिहिन भइन ।
नवलपरासीकै चिसापानी बरघाटका दम्पती अशोक गुरुङ र कुमारी गुरुङले शान्तिलाई साउदी पुर्याएका थिए । अशोकको मृत्यु भैसकेको छ भने कुमारीले झापाका एक युवकसँग दोश्रो विवाह गरिसकेकी छन् । १८ वर्षे शान्ति कक्षा ८ को पठाई छाडेर साउदी उड्नु भएको थियो । दलालले आफ्नै खर्चमा पासपोर्ट बनाएर मुम्बई पुर्याएका थिए । त्यहाँबाट साउदी पुर्याए ।
अहिले शान्तिको पासपोर्टको म्याद पनि सकिएको छ । घर मालिकले अर्को पासपोर्ट बनाउन पनि दिएको छैन । अब भन्नुस प्रधानमन्त्री ज्यु, हाम्रा यी शान्ति जस्तै हजारौं भाइ बहिनिहरुलाई कस्ले उद्धार गर्ने ? दूतावासले कुनै चासो देखाउदिन भने किन बिदेशमा दूतावास राख्ने ? कहिले सम्म हामी नेपालिले यस्तो चीत्कार चिच्याउनु पर्ने ? डि. बि. बुढाथोकी गुम्चाल १ रोल्पा ।