Breaking News

जलविद्युत कम्पनीको आइपिओ खुल्यो, साना लगानीकर्तालाई धेरै कित्ता सेयर पर्यो

Feb Tue 2020 05:40:40

315 views

जलविद्युत कम्पनीको आइपिओ खुल्यो, साना लगानीकर्तालाई धेरै कित्ता सेयर पर्यो
जलविद्युत लगानी तथा विकास कम्पनीको सेयरमा साना लगानीकर्ता निकै लाभान्वित हुने भएका छन्। कम्पनीको सेयर बाँडफाँडको टुङ्गो लागिसकेको छ। औपचारिक बाँडफाँडको घोषणा बुधबार हुने भएको छ। साना लगानीकर्ता र ठूला लगानीकर्ताले पाउने सेयर कित्ता फाइनल भइसकेको छ।
स्रोतका अनुसार साना लगानीकर्ताले माग गरेको आवेदनको ११ दशमलव ४ प्रतिशत कित्ता सेयर पाउने भएका छन्। लगानीकर्ता प्रत्येकलाई कम्तीमा १० कित्ता सेयर दिइने भएको छ।  चिट्ठा विधि अवलम्वन नगर्ने भएपछि साना लगानीकर्तालाई थप फाइदा पुगेको हो।
५० हजार वा सोभन्दा थोरै रकमको सेयर आवेदन हाल्नेलाई साना लगानीकर्ताको रुपमा लिइन्छ। तय गरिएको अनुपातबाट कम्तिमा १० कित्ता सेयरभन्दा माथि पर्नेले ११ दशमलव ४ प्रतिशत सेयर पाउने छन्।
त्यस्तै ठूला लगानीकर्ताले माग गरेको सेयरको २ दशमलव ९ प्रतिशतका दरले सेयर पाउने भएका छन्। ५० हजारभन्दा माथिको रकममा सेयर माग गर्ने लगानीकर्तालाई ठूला लगानीकर्ताका रुपमा लिइन्छ।
ठूला लगानीकर्ताले ५० करोड रुपैयाँसम्मको कित्ता सेयर माग गरेका छन्। ४ वटा वाणिज्य बैंकहरुले ५०–५० करोड रुपैयाँको सेयर मागेका छन्। कृषि विकास बैंक, वाणिज्य बैंक, सनराइज बैंक र एनआईसी एसिया बैंकले सो रकमको सेयर आवेदन हालेका हुन्। ति कम्पनीहरुले १ लाख ४५ हजार कित्ताका दरले सेयर पाउने भएका छन्। १ देखि २० करोड रुपैयाँको सेयर माग गर्ने ठूला लगानीकर्ताका रुपमा बिमा कम्पनीहरु, फाइनान्स र ठूला संस्थाहरु धेरै छन्।
सेयर बाँडफाँट भइसकेपछि नपरेको सेयर रकम फिर्ता गर्नका लागि केही समय थपिने भएको छ। स्रोतका अनुसार अत्याधिक संख्यामा आवेदकहरु भएकाले यसको समय करिब १ हप्ता थपिने भएको हो।
१ अर्ब ८६ करोड रुपैयाँको सेयर आवेदन माग गरिएकोमा ३ लाखभन्दा धेरै आवेदकहरुबाट ४३ अर्ब रुपैयाँ रकम संकलन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?