Breaking News

आइसिटी डे २०१७ को अवसरमा प्रभातफेरि, २५ औं क्यान रजत जयन्ती र सूचना प्रविधि पुरस्कार

Feb Tue 2020 05:40:30

506 views

आइसिटी डे २०१७ को अवसरमा प्रभातफेरि, २५ औं क्यान रजत जयन्ती र सूचना प्रविधि पुरस्कार
  • भरतरज उप्रेती

नेपालमा मे २ लाई आइसिटी डे अर्थात राष्ट्रिय सूचना प्रविधि दिवसको रुपमा मनाउन थालिएको छ । क्यान स्थापनाको दिनलाई आधार मानेर क्यान महासंघको अगुवाइमा आइसिटी दिवस मनाउन थालिएको हो ।

विगत वर्षहरुमा झै यस वर्ष पनि क्यान महासंघ र राष्ट्रिय सूचना प्रविधिको संयुक्त आयोजनामा २०७४ बैशाख १९ गते २ मे को अवसर पारेर आइसिटी डे २०१७ प्रभातफेरि कार्यक्रमको आयोजना गरी मनाइयो । प्रभातफेरिको कार्यक्रममा सूचना प्रविधि सरोकारवाला निकायका प्रतिनिधिहरु, कम्पनी, संघ संस्थाका प्रमुखहरु, सूचना प्रविधिका अगुवा, बिद्यार्थी र सूचना प्रविधिप्रेमीहरुको सहभागीता रहेको थियो । प्रभातफेरि कार्यक्रम भृकुटीमण्डप, शहीदगेट, सुन्धारा, न्युरोड, जमल रत्नपार्क हुदै भृकुटीमण्डपमा आएर सम्पन्न भएको थियो ।

२५ औ रजत जयन्ती तथा राष्ट्रिय सूचना प्रविधि अवार्ड २०१७

आइसिटी डे २ मे २०१७ को अवसर पारेर क्यान महासंघले स्थापनाको २५ औं रजत जयन्ती महोत्सव भव्यताकासाथ मनाएको छ । ‘दिगो विकासको लागि सूचना तथा सञ्चार प्रविधि’ नारा सहित सम्पन्न रजत जयन्तीको उद्घाटन विज्ञान तथा प्रविधि मन्त्री प्रेम बहादुर सिंहले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए । रजत जयन्ती उद्घाटन समारोहमा बोल्दै मन्त्री प्रेम वहादुर सिंहले सूचना प्रविधिको विकासको निम्ति अनुसन्धान र विकासलाई प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिनुपर्ने बताए । दिगो विकास, सुशासन र समृद्धिका साथै स्मार्ट भिलेज र स्मार्ट सिटीको माध्यमबाट देश विकास सम्भव भएको बताउदै सूचना प्रविधि अबको पहिलो प्राथमिकतामा हुनुपर्नेमा कसैको दुइमत नरहेको मन्त्री सिंहले स्पष्ट पारे । रजत जयन्तीको अवसरमा क्यानको गतिविधिहरुलाई समेटेर तयार पारेको ‘इ नेपाल सफल पारौं’ भन्ने सन्देश सहितको वृत्तचित्र पनि प्रदर्शन गरेको थियो । नेपालमा सूचना प्रविधि क्षेत्र फराकिलो बन्दै गएकोले यसको विकास बिस्तारका लागि आइसिटी क्षेत्रका सरोकारवालाहरु गोलबन्द हुन जरुरी रहेको क्यान महासंघका महासचिव विश्व बलामीले बताए ।

आइसिटी डे र २५ औं रजत जयन्तीको अवसर पारेर क्यान महासंघले राष्ट्रिय सूचना प्रविधि पुरस्कार बितरण गर्यो । आइसिटी एक्सेलेन्स अवार्ड २०१७ बाट मनोहर कुमार भट्टराईलाई नगद रकम ५० हजार सहित पुरष्कृत गरेको छ । यसैगरी क्यान महासंघले बेष्ट आइसिटी युजर इन प्राइभेट सेक्टर अवार्डबाट इन्फो डेभलपर्स प्रा।लि।लाई पुरष्कृत गरेको छ । बेष्ट आइसिटी युजर इन पब्लिक सेक्टर अवार्डबाट सर्वोच्च अदालत सम्मानित भएको छ ।

क्यान महासंघले स्थापना काल देखि अहिले सम्म आइपुग्ने क्रममा क्यान महासंघलको नेतृत्व लिनुभएका अग्रजहरुलाई पनि सम्मानित गरेको छ । संस्थापक अध्यक्ष डा. विमल कुमार शर्मा, पूर्व अध्यक्षहरु संजीवराज भण्डारी, विजय कृष्ण श्रेष्ठ, लोचनलाल अमात्य, विप्लवमान सिंह, सुरेश कुमार कर्णलाई सम्मान गर्नुको साथै ह्याप्पी कोडिङ नेशनल एप एण्ड वेएवसाइट डेभलपमेन्ट क्याम्पियनका उत्कृष्टहरु यासिक सेक, सुमन सापकोटा, विभुति पौडेल, ध्रुव अधिकारी लगायतलाई पनि सम्मानित गरेको छ । कार्यक्रमको समापनमा बोल्दै क्यानका अध्यक्ष विनोद ढकालले नेपालका राजनेताहरुले नयाँ नेपाल भनिरहँदा आफूहरु इ–नेपालको मुद्दालाई अघि सार्दै आएको बताए । पछिल्लो समय नेपालमा सूचना प्रविधि क्षेत्रको विकासको निम्ति स्थापना भएको राष्ट्रिय सूचना प्रविधि परिषद् सक्रिय हुन नसकेको उल्लेख गर्दै ढकालले परिषद्लाई ब्युझाउन विज्ञान तथा प्रविधि मन्त्रालय नै ससक्त तवरले अगाडी बढ्नुपर्ने सुझाव समेत व्यक्त गरे ।

क्यानले सन् १९९५ देखि क्यान इन्फोटेक, क्यान सफ्टेक, क्यान कमटेक, आइसिटी डे, कार्यशाला गोष्ठी लगायतका विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?