Breaking News

बलात्कारमा परेकी एउटी ३७ बर्षे महिलाको बकपत्र, ‘अरुले सहे, म सहन्नँ’

Feb Tue 2020 05:40:10

516 views

बलात्कारमा परेकी एउटी ३७ बर्षे महिलाको बकपत्र, ‘अरुले सहे, म सहन्नँ’

आकृती

‘बलात्कार भनेको के हो, तपाईंलाई थाहा छ ?’ प्रहरी निरीक्षक यसरी कड्किएपछि मैले आफूलाई थप पीडित भएको महसुस गरेँ । प्रहरी अधिकारीहरु यसरी कड्किँदा आईमाई मान्छेहरु बलात्कारको भोगाई भन्नुको साटो निन्याउरो अनुहार लगाएर फर्कने गरेको एक दुई घटना सुनेकी थिएँ, त्यसदिन आफैँले भोगेँ । एक मनले सोच्यो, ‘अरुजस्तै चुपचाप सिरकले मुख छोपेर केही दिन रोएपछि दैनिकीमा फर्कन्छु ।’ अर्को मनले सोच्यो, ‘हैन यो ज्यादतीविरुद्ध डटेर लड्न नसके, मेरो जन्म धर्तिका लागि बोझ शिवाय केही हुने छैन ।’ अनि मन दह्रो बनाएर प्रहरी निरीक्षकलाई जवाफ दिएँ, ‘पढेलेखेको नारी हुँ, तपाईले जुन पुस्तक पढ्नुभो मैले पनि त्यही पढेँ । तपाईले ‘बलात्कारको परिभाषा मात्र घोक्नुभयो होला, म भोगेर आएकी छु, त्यसैले ‘बलात्कार के हो ?’ भन्नेबारे तपाईभन्दा बढी मैले जानेकी छु ।’ प्रहरी निरीक्षकका अनुहार रातो भयो, मेरा आँशु थामिएन ।aakriti शक्ति र सत्ताले तर्सिएको प्रहरी संगठनमा म जस्तो निर्धो आइमाईको किटानी जाहेरी बल्लतल्ल दर्ता भयो । अहिले न्यायालय धाउँदै छु । कुरा २०७२ कात्तिक १५ गतेको हो । अघिल्लो साँझ अर्थात १४ गते शनिवार म जेठानी दिदीसँग भैँसेपाटीको तिरुपती रेष्टुरेन्टमा खाना खान गएकी थिएँ । छोरी पनि सँगै थिइन्, रेष्टुरेन्टमा पुगेको केही समयपछि साथीहरुसँग डिनर जाने भनेर छोरी निस्किइन् । जेठानी दिदी र म खानपिन गरेर बसिरहेका थियौँ । त्यतिकैमा दिदीले केहि फोटोहरु देखाउँछु भनेर मोवाइल झिक्नखोज्दा ब्यागमा मोवाइल भेटिएन् । रेष्टुरेन्ट नजिकैको घरसम्मको बाटोमा पटक–पटक खोज्दा पनी मोवाइल नभेटिएपछि हामीले क्याफेका स्टाफहरुलाई पनि मोबाइल हराएको कुरा गर्यौँ । हामी बसेको भन्दा केही पर गार्डेनको टेबुलमा तीन जना केटा खानपिन गरिरहेका थिए । तिनीहरुमध्येका एकजनालाई जेठानी दिदीले चिन्नुभएको रहेछ । उनी थिए, ‘हाईड्रोपावर डेभलपर’ भुषण थापा । दिदी नेहा शाहले मोबाइल खोजिदिन आग्रह गरेपछि भुषण पनि हाम्रो टेबुलमा आएर मोबाइल खोज्न सहयोग गरे, तर मोबाइल भेटिएन् । हाम्रै टेवुलमा भुषण र मेरो चिनजान भयो । रात ढल्दै थियो, होटल संचालकले रेष्टुेन्ट बन्द गर्न लागेको जानकारी दिए । त्यसपछि भुषणसहित उनका साथीहरु गगन कुँवर र मेनपावर संचालक पिताम्बर खनाल बाहिरिए । उनीहरु हिँडेको केही मिनेटपछि हामी पनि बाहिरियौँ । मेरो गाडी रेष्टुरेन्टको बाहिरपट्टि थियो । नेहा शाहले उहाँको स्कुटरको पछाडी बसेर पुन ः एकपटक मोबाइल खोज्न आग्रह गरेपछि हामी फेरी हराएको मोबाइल खोज्न थाल्यौँ । मैले उहाँको मोबाइलमा पटक–पटक फोन डायल गर्दै मोबाइल खोज्यौ, तर भेटिएन् । पछि नेहा दिदीले मोबाइल खोज्न ‘भुषणको सहयोग लिनुपर्ने भयो’ भन्दै भुषणको साथीको घरमा लिएर जानुभयो । भैँसेपाटीको विनायक कोलोनी पछाडी रहेको गगन कुँवरको घरमा रहेछन् भुषण । नेहाले बोलाएपछि भुषण र उनको साथी तल आएनन्, बरु हामीलाई माथि आउन आग्रह गरे । दिज्युले पनि ‘केही छैन, एकछिन बसौँ चिनेजानेकै मान्छे हो’ भनेपछि हामी गगन कुँवरको घरको माथिल्लो भागको किचेनमा बस्यौँ । त्यहाँ गगनले हामीलाई एक–एकवटा बियरको अफर गरे, मैले पनि एक क्यान वियर लिएँ । पिउने बानी थिएन्, सिध्याउन सकिँन् । यसबिचमा नेहा दिदी र भुषण करिब एक घण्टा त्यही घरमा हराएका थिए । गगनले भने, ‘उहाँहरु कुरा गर्दै हुनुहुन्छ ।’ मैलै सोध्न उचित ठानिनँ र सोधिनँ । त्यतिवेलासम्म रात छिप्पिसकेको थियो । करिब सवा एक बजेतिर हामी सबै आ–आफ्नो घर जाउँ भनी त्यहाँबाट हिँड्यौ । मेरो गाडी तिरुपातिमै थियो । नेहा दिदीको घर गगनको कुँवरको घरबाट केही मिटरमात्रै पर थियो, उहाँले भुषणको गाडीमा मलाई घरसम्म छाडीदिन आग्रह गर्दैै बिदा हुनुभो । म भुषणको गाडीमा बसेँ । भैँसेपाटी दोबाटोबाट वाईवाई फ्याक्टितिर जानुको साटो भुषणले मगर गाउँतिर गाडी मोडेपछि मैले भनेँ, ‘बाटो यो होइन्, हामी बस्ने रिलायवल कोलोनी पुग्न चाउचाउ फ्याक्टितिरबाट जानुपर्छ ।’ मेरो आग्रहलाई सामान्य रुपमा लिएका भुषणले ‘त्यहीँ परसम्म जाउँ न’ भन्दै मेरो हातको मोबाइल र गाडीको साँचो खोसे अनि सरासर सानो खोकनाको प्लटिङमा पुर्याए । जहाँ घरबस्ती केही थिएनन्, सुनसान खाली ठाउँमा बत्ति हुने कुरै भएन । बहिर निस्पट्ट अन्धकार थियो । गाडी रोकिएपछि मैले ढोका खोल्न खोजेँ, खुलेन । अनि उनले ममाथि अचानक हमला गरे । भुषणले मलाई गाडीभित्र छुन र सुम्सुम्याउन थाले । मेरो पाईन्ट जबर्जस्ती सारेर संवेदनशील अंगमा हात पुर्याए । करिब तीन घण्टा मेरो शरिर बन्धक बनाएर उनले मलाई के–के गरे सबैकुरा शब्दमा भन्नै सक्दिनँ । मैले दर्जनपटक प्रतिकार गर्दा उनले मलाई पटक–पटक कुटपिट गरे, जसका कारण मेरो आँखामा चोट लाग्यो, गाला सुन्निएको थियो । पटक–पटकको मेरो प्रतिकारपछि उनले मलाई ज्यानमार्ने धम्की दिँदै भने, ‘तँलाई मैले यहीँ मारेर लाश वेपत्ता पारेपनि कसैले थाहा पाउँदैन ।’ उसको राक्षसी पञ्जाबाट उम्कन मैले बाथरुम जान हतारो भएको कुरा बारबार गरेपछि गाडीबाट उत्रेर उनकै अगाडि पिसाब फेर्न आदेश दिए । मैले त्यसो गर्न मानिँन् । पहिले बौद्धको हायात होटलमा गएर बसौँ भनेका भुषणले त्यसपछि मलाई कुपण्डोलको हिमालय होटल पुर्याए । जतिबेला विहानको साँढे चार भएको थियो । मेरो फोन र गाडीको साँचो उ सँगै थियो । हिमालय होटलमा पुगेपछि बाथरुममा जाने बहानामा मेरो ब्यागमा भएको अर्को मोबाइलबाट मुमा र छोरीलाई फोन गरेर बचाउन आग्रह गरेँ । म आत्तिएर बोल्नै नसक्ने भएकी थिएँ । म बाथरुमबाट निस्कँदा भुषण हिमालय होटलको लवीमा पर्खिरहेको रहेछ, जुन कुरा मैले सोचेकै थिइन् । बाथरुमबाट निस्केपछि उनले मलाई भने, ‘किन यत्रो समय लगाएको हिँड् गाडीमा ।’ मलाई लाग्यो अब यही होटलमा सुरक्षित हुनेछु । ततपश्चात मैले उनलाई मेरो मोबाइल र गाडीको साँचो दिन आग्रह गरेँ । ‘गाडीमा छ दिन्छु’ भन्दै हिमालय होटलको पार्किङमा पुर्याएका थापाले मलाई पुन गाडीभित्र छिर्न धम्किपूर्ण भाषा बोले । म तर्सिएर रुँदै होटलको लवितिर दौडिएँ । बाहिर केही पर्यटकहरु थिए । रिसेप्सनमा गएर गुहार मागेपछि उनीहरुले प्रहरीलाई खबर गरिदिए । प्रहरी आउने थाहा पाएपछि भुषण हिमालय होटलबाट हिँडे । केहीबेरमा मेरी छोरी र मुमा पुग्नुभो । त्यसपछि आएका प्रहरीले जावलाखेलमा गएर रिपोर्ट लेखाउन आग्रह गरे । कात्तिक १५ गते बिहान करिब ६ बजेतिर हामीले जावलाखेलको एसपीलाई भेटेर मैले लिएको भुषणको मोबाइल बुझाइदिएँ । अनि उनकै सल्लाहअनुसार जबर्जस्ती करणी विरुद्ध कारवाहीको माग गर्दै ठाडो निवेदन दिएँ । मैले निवेदन दिएको तीन घण्टापछि भुषणलाई पक्रेर प्रहरीले जावलाखेल ल्यायो । सुरुवाती चरणमा जाहेरी लिन नमानेको प्रहरीले दोस्रो दिन सम्झौता गर्न आग्रह गरेको थियो । भुषण शक्तिशाली रहेछन्, त्यसैकारण मसँग सहमति गराउन महानगरीय प्रहरी परिसर जावलाखेलमा छुट्टै कोठाको व्यवस्था भयो । प्रहरीले व्यवस्था गरिदिएको त्यही कोठामा भुषणले मसँग पटक–पटक माफी मागेको थियो । ममाथि भएको घृणित र जघन्य अपराधमा मैले माफि दिन अस्विकार गरेपछि मलाई जावलाखेल प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीको चेम्बरमा लगियो । त्यहाँ पिताम्बर अधिकारीले भने, ‘भुषण थापा पटके होइन, उसलाई माफी देउ ।’ मैले मान्दै मानिनँ, बरु एसएसपीलाई भनिदिएँ, ‘म आज रोइरहेकी छु, उसले म जस्ता अरु कत्ति नारीको अस्मिता लुटेको होला ? अरुले सहे होलान, म सहन्नँ ।’ पछि बुझ्दा थाहा लाग्यो भुषणको विरुद्ध जाहेरी दर्ता नगर्न एसएसपी अधिकारीलाई उच्च तहबाट दबाब आएको रहेछ । ३७ बर्षकी भएँ, जिन्दगीमा यस्तो कहिल्यै भोगेको थिइँन् । समाजको शिक्षित वर्गको प्रतिनिधित्व गर्ने महिलाको नाताले पनि ममाथिको अन्यान सहेर नबस्ने निर्णय लिएकी छु । मैले यो पीडा सहेर बसेँ भने, अरु महिला पनि सहन बाध्य हुनेछन् । त्यसैले लड्ने अठोट गरेकी छु । यो लडाईँमा मलाई सबैको सहयोग आवश्यक छ । पैसा र शक्तिको बलमा जसले जे गरेपनि हुन्छ भन्ने नजिर नेपाली समाजमा जबर्जस्त स्थापित भएको छ, म त्यो नजिर तोड्न चाहन्छु । भुषणको विरुद्धको किटानी जाहेर फिर्ता लिन उनका साथी गगन कुँवर र मेनपावर व्यवसायी पिताम्बर खनालले मलाई दश लाख रुपैयाँ अफर गरेका थिएँ । म पैसामा बिक्न चाहिँन् । म गुमेको मेरो अस्मिता र मर्यादा फिर्ता लिन चाहन्छु । त्यसैले अहिले न्यायालयको शरणमा छु । ललितपुर जिल्ला अदालतमा मेरो मुद्दा हार र जितको संघारमा छ । त्यस्ता दुष्टलाई कानुनले दण्डित गरेको दिन मजस्ता सयौँ नारीहरुले जितको महसुस गर्नेछन् । म त्यही दिनको प्रतिक्षामा छु । (ललितपुर भैसेपाटीका भुषण थापाले जबर्जस्ती करणी गरेको भन्दै न्यायालय धाईरहेकी आकृती थापालाई हामीले परिवर्तीत नाममा प्रस्तुत गरेका छौं । उनी आफ्नै नाममा यो कथा बताउन चाहन्थिन् तर, पत्रकारिताको मर्यादालाई ख्यालमा राखेर हामीले उनको वास्तविक नाम गोप्य नै राखेका छौं । अनुहार पुरै नदेखिने उनकै वास्तविक तस्बिर प्रयोग गरेका छौं । यो नाम कसैको वास्तविक चिनारीसँग मेला खाएमा संयोग मात्र हुनेछ– सम्पादक)

http://www.ratopati.com/photo-news/25278/- Ratopati.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?