आयोजक फ्रान्सलाई १-० गोल अन्तरले पराजित गर्दै रोनाल्डोको टोली पोर्चुगलले जित हात पारेको छ । निर्धारित ९० मिनेटको खेल बराबरीमा रोकिएपछि अतिरिक्त समयमा गएको खेलमा पोर्चुगलको लागि १०९ औं मिनेटमा इडरले गोल गर्दै यूरोकपको उपाधि पक्का गरेका हुन् ।
रोनाल्डोको बहिर्गमनले निराश पोर्चुगली टोलीको लागि गोलकर्ता इडर नायक ठहरिए । खेल अवधिभर फ्रान्सले पोर्चुगललाई दबावमा राखे पनि जितको लागि पोर्चुगलले गोल गर्न सक्यो ।
खेल अवधिभर पटक पटक पोर्चुगाली पोष्टमा दवाब सिर्जना गरेको आयोजक टोली फ्रान्सले जितको लागि कुनै गोल गर्न सकेन । निर्धारित समयभरी खेलमा फ्रान्सले पोर्चुगाली किपर र डिफेन्सलाई व्यस्त राखेको थियो ।
घरेलु भूमिमा आयोजित विश्वकप र यूरोकप उपाधि जितेको फ्रान्सले भने यो पटक स्टेडियममा उपस्थित आफ्नो हजारौं समर्थकलाई निराश तुल्यायो ।
खेल अवधिभर महत्वपूर्ण अवसर सिर्जना गरिरहे पनि उपाधिको लागि आवश्यक गोल गर्नबाट चुक्दा फ्रान्स निराश बनेको हो । यूरोकपमा ८ गोल गरेका फ्रान्सका ग्रीजमेनले गोल्डेनबुट जिते ।
फाइनल प्रवेशको लागि पोर्चुगलले वेल्स र फ्रान्सले विश्वविजेता जर्मनीलाई सेमीफाइनलमा पराजित गरेको थियो ।