Breaking News

सवारी नियम उल्लंघनको कारवाहीमा परी फिर्ता लिन नगएका साढे ३४ हजार लाइसेन्स खारेज

Feb Wed 2020 02:40:53

456 views

सवारी नियम उल्लंघनको कारवाहीमा परी फिर्ता लिन नगएका साढे ३४ हजार लाइसेन्स खारेज

काठमाडौं ।  सवारी नियम उल्लंघनको कारवाही परेपछि ट्राफिक प्रहरीले लिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फिर्ता लिन जानुभएको छैन भने अब त्यो खारेज भएको छ । सरकारले २०५९ सालदेखि गत २०७२ सालसम्म कारवाहीका लागि ट्राफिक प्रहरीले लिएर त्यसै अलपत्र परेका लाइसेन्स खारेज गरिदिएको हो ।

यातायात व्यवस्था विभागले बितेको एक महिना निलम्बनमा परेका ३६ हजार लाइसेन्स ब्युँताउन समय दिएको थियो । तर, त्यस अवधिमा १५ सय मात्र लाइसेन्स सवारी धनीले फिर्ता लिएका छन् । अलपत्र परेका बाँकी साढे ३४ हजार लाइसेन्सलाई खारेजी गरिएको विभागका प्रवक्ता बसन्त अधिकारीले बताए ।

खारेजीमा परेका सबै लाइसेन्सको विवरण सबै यातायात व्यवस्था कार्यालयमा पठाइँदैछ । ‘लाइसेन्स समातिएपछि हराएको बाहना पार्दै लाइसेन्सको प्रतिलिपि लिनेहरु धेरै भएको आशंका हामीलाई छ’ प्रवक्ता अधिकारीले भने,’अब अहिले खारेज भएका लाइसेन्सको प्रतिलिपि लिनेहरु कुनै कार्यालयमा नवीकरणका लागि पुगे त्यहीँ खारेज भएको जानकारी दिइनेछ ।’

लाइसेन्सको विद्युतीय रेकर्ड नहुँदा ट्राफिकले लाइसेन्स समातेपनि हराएको भन्दै फेरि प्रतिलिपि निकाल्ने प्रचलन छ । तर, खारेज भएका लाइसेन्सलाई अब नवीकरण प्रक्रियामा लैजान नसकिने र सबै यातायात कार्यालयलाई यसमा सतर्क गराइएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?