♦बिनु पोखरेल फेसबुक खोले पनि मेरो हत्तपत्त इन्बक्समा आँखा जादैन । अक्सर फेसबुकको टाइमलाइनमा के समाचार आयो नयाँ भनेर नै फेसबुक खोल्छु म । धेरै टाइमलाइनमै ब्यस्त हुन्छु । कि धेरै म्यासेज गर्ने, कि त केही फरक स्टाइलमा म्यासेज आयो भने किन रहेछ भनेर आक्कल झुक्कल इन्बक्समा आँखा लगाउँछु ।
साँझपख फेसबुक खोलेँ । खोल्नासाथ म्यासेज आयो– ‘हेल्लो म्याम !’ मैले जवाफ फर्काइनँ । उताबाट लगातार आइरह्यो– ‘किन नबोल्नु भएको ?, हेल्लो !, बोल्नु न प्लिज, एकपटक बोल्नु न प्लिज, एक पटक बोल्न मन लागेको छ बोल्छु नि, हजुर यति निस्ठुरी हुनुहुन्छ भन्ने मैले सोचेको पनि थिइनँ । ‘निष्ठुरी’ भन्दा मलाई झनक्क रीस उठ्यो । किनकि मलाई थाहा छ म कोमल छु । मेरो एकाग्रता भङ्ग भयो । एकछिन अडिएँ र जवाफ फर्काएँ– ‘यु नो मि ?’ फेरि लेखँे– ‘मेआइ नो यु ?’ उसले पठायो – ‘म चिन्छु । राम्ररी चिन्छु हजुरलाई ।’ ‘कसरी नि ?’ फेरि अर्काे प्रश्न गरेँ– ‘कहाँ हो तिम्रो घर ?’ ‘म चिन्छु हजुरलाई र भएन ?’ ‘तिमीले मात्र चिनेर हुन्छ ? भन न, म पनि चिनौं ।’ (एकछिन् चुपचाप) मैले उसको टाइमलाइन खोलेर हेरेँ । अमित अमित । घर झापा । बसाई सरेर काठमाडांै । एक बहिनी आमा, बुबा । उमेर त मेरो भन्दा १२ बर्ष कम । चाटर्र एकाउन्टेन । इन्डीयामा पढेको । त्यहीँको एक प्रतिष्ठित कम्पनीमा काम गरेको । ट्यालेन्ट रहेछ केटो । त्यति हेरेर म इन्बसमा फर्किएँ । यतिबेलासम्म उसका म्यासेज कति हो कति– ‘म्याम बोल्छु नि प्लिज । एकछिन् बोलीस्यो न । म त्यति नराम्रो मान्छे हँु र, हजुरले बोल्नै नहुने ? मैले त्यस्तो नराम्रो के भनेँ र अहिलेसम्म ? बोलीस्यो न प्लिज । कति पटक बोल्न खोजेँ तर, हजुरलाई कहिल्यै अनलाईन पाउँदिनँ ।’ उसले के पठाएछ भनेर हेर्न मन लाग्यो, पुरानो म्यासेज खोलेर हेरेँ । सुरुमा हेल्लो, हाई, फेरि हेल्लो ब्यूटीफुल म्याम । यस्तै यस्तै धेरै धेरै । उसले झण्डै डेढ बर्ष देखि मलाई हेल्लो हाई भनेर म्यासेज पठाएको रहेछ , सयवटा जति । यो हेरेपछि किन त्यसै त्यसै माया लागेर आयो । ‘ल भन’ –मैले भनेँ ।