भुइँचालोका दरार पछ्याउँदै वैज्ञानिक : वैशाख १२ मा कसरी हल्लियो काठमाडौं ? काठमाडौंमुनि थुप्रिएको भुइँचालो
Feb Tue 2020 05:40:22
231 views
भुइँचालो कथा
बेलायती भूगर्भ वैज्ञानिक जन इलियट र उनका सहकर्मीले वैशाख १२ को भुइँचालोका सम्बन्धमा सोमबार तीनवटा विश्लेषण सार्वजनिक गरेका थिए।
पहिलो, गोरखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएका भुइँचालाको सबै शक्ति निख्रिएको छैन। बचेको शक्ति काठमाडौंमुनि थुप्रिएर बसेको छ।
दोस्रो, यो भुइँचालोले काठमाडौं उपत्यका र वरपरका क्षेत्र साबिकभन्दा करिब एक मिटर माथि उठेको छ। काठमाडौंभन्दा उत्तरी हिमाली क्षेत्रको उचाइ भने लगभग ६० सेन्टिमेटर घटेको छ।
तेस्रो, ठूलो भुइँचालो जाँदा हिमाली शृंखला अग्लो हुन्छ।
‘नेचर जियोसाइन्स’ नामक अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित यी तीन विश्लेषणमध्ये पहिलो बुँदाबारे ‘भुइँचालो कथा’ शृंखलाको अघिल्लो लेखमा चर्चा गरिएको छ।
के काठमाडौं उपत्यकाले साँच्चिकै आफ्नो ठाउँ छाडेकै हो? काठमाडौंभन्दा उत्तरको गणेश हिमाल क्षेत्र पहिलेभन्दा ६० सेन्टिमेटर होचो भएकै हो? रोचक कुरा त, उत्तरी हिमालको उचाइ घटेको छ भने त्यो तथ्यांकले ठूलो भुइँचालो जाँदा हिमाली शृंखला अग्लो हुन्छ भनी बुझ्ने आधार कसरी दिन्छ?
वैशाख १२ गते भुइँचालो जाँदा काठमाडौं उपत्यका कसरी हल्लिएको थियो भनी चित्रण गर्न जिपिएस तथा स्याटलाइट तस्बिरका आधारमा तयार पारिएको ग्राफ। त्यही ग्राफसँग मिल्दोजुल्दो असनको सिसिटिभी फुटेज। सौजन्य : खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र।
यसका लागि सबभन्दा पहिला वैशाख १२ को भुइँचालोमा काठमाडौं उपत्यका, वरपरका क्षेत्र र उत्तरी हिमाली भूभाग कसरी हल्लियो भन्ने तथ्यांक हेरौं।
त्यस दिन जमिन कसरी हल्लिएको थियो भन्ने त तपाईंहरूलाई पनि मोटामोटी अन्दाज होला। आफू उभिएको धर्ती घरि पूर्व सरेको, घरि पश्चिम हुत्तिएको र घरि दक्षिणतिर बगेको हामीले महसुस गरेकै हौं। असन, इन्द्रचोकजस्ता भीडभाडयुक्त ठाउँको सिसिटिभी फुटेज हेर्ने हो भने त्यहाँ जम्मा भएको भीड कहिले हुर्रर पूर्व त कहिले हुर्रर दक्षिणतिर बत्तिएको मज्जैले देखिन्छ।
हामीले जे भोग्यौं, के काठमाडौं उपत्यका त्यसरी नै हल्लिएको तथ्यांकले देखाउँछ?
खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले त्यस दिन ककनी र चिलिमेबाट संकलन गरेको जिपिएस तथा स्याटलाइट तस्बिरले यहाँको भौगोलिक उतारचढाव झल्काउँछ। ककनीमा रेकर्ड गरिएको तथ्यांकले काठमाडौं उपत्यका र चिलिमेको तथ्यांकबाट धुन्चे, गोसाइँकुन्ड र गणेश हिमालसम्मको भौगोलिक उतारचढाव थाहा हुने विभागका उप–महानिर्देशक सोमनाथ सापकोटा बताउँछन्।
‘बेलायती वैज्ञानिकहरूको निष्कर्ष यही तथ्यांकमा आधारित छ,’ नेपालको भुइँचालोबारे लामो अनुसन्धान गरेका भूगर्भ वैज्ञानिक सापकोटाले सेतोपाटीसँग भने।
ककनी (हेर्नुहोस् ग्राफ)
वैशाख १२ गते भुइँचालो सुरु भएलगत्तै १० सेकेन्डको बीचमा काठमाडौं उपत्यका ८० सेन्टिमिटर पूर्व सरेको थियो। त्यहाँबाट अर्को पाँच सेकेन्डभित्र ह्वात्तै १.२५ मिटर पश्चिम हुत्तियो। र, केही बेर थर्थर हल्लिँदै त्यही ठाउँमा स्थिर हुन पुग्यो। यो भनेको साबिकभन्दा ४५ सेमी पश्चिम हो।
‘काठमाडौं उपत्यकाको यत्रो ठूलो भू–भाग यति कम समयमा ८० सेमी पूर्व गएर १२५ सेमी पश्चिम आउनु भनेको निकै ठूलो उतारचढाव हो,’ राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने।
त्यस दिन काठमाडौंको भू–भाग उत्तर–दक्षिण पनि मज्जाले नै हल्लिएको तथ्यांकले देखाउँछ।
यो सुरुमा ह्वात्तै १.८ मिटर दक्षिण सरेको थियो। त्यसपछि झन्डै २० सेन्टिमिटर उत्तर सर्यो। तुरुन्तै ४० सेमी दक्षिण गयो। फेरि ३० सेमी उत्तर गयो। त्यहाँबाट २० सेमी दक्षिण झरेपछि थर्थर हल्लिँदै त्यही ठाउँमा स्थिर हुन पुग्यो। यो भनेको पहिलेको ठाउँभन्दा लगभग १.८ मिटर दक्षिण हो। यो सबै उतारचढाव १५–२० सेकेन्डकै बीचमा भएको देखिन्छ।
यतिमात्र होइन, भुइँचालोले काठमाडौंलाई घरि तल थेचार्ने र घरि माथि उफार्ने पनि गरेको थियो।
तथ्यांकअनुसार यो भूभाग भुइँचालो जानेबित्तिकै खुत्रुक्क तल झर्यो, अनि एकैचोटि १.६ मिटर माथि चढ्यो। त्यसपछि २० सेकेन्डसम्म तलमाथि हल्लिँदै पहिलेको ठाउँभन्दा १.३५ मिटर माथि गएर स्थिर भयो।
बेलायती वैज्ञानिकले काठमाडौं उपत्यका करिब एक मिटर माथि उठेको छ भनेको यही हो।
चिलिमे (हेर्नुहोस् ग्राफ)
भुइँचालोलगत्तै काठमाडौं उपत्यका घचक्क पूर्व सर्दा उत्तरको हिमाली क्षेत्र भने ५० सेन्टिमिटर पश्चिम सरेको थियो। त्यसपछि फेरि १०–१५ सेमीको दरले पूर्व–पश्चिम दिशामा थर्थर हल्लिरह्यो। यसबीच साबिकको ठाउँभन्दा बढीमा ६० सेमी पश्चिम हुत्तिएको देखिन्छ।
‘यो क्षेत्रमा सुरुको २०–३० सेकेन्डकै बीचमा निकै ठूलो उतारचढाव आएको छ,’ वैशाख १२ यताका प्रत्येक कम्पन र तरंगलाई मिहीन केलाएका भूगर्भविद् अधिकारी भन्छन्, ‘भुइँचालोको कम्पन थामिँदासम्म चिलिमे क्षेत्र साबिकको ठाउँभन्दा २० सेन्टिमिटर पश्चिम आएर स्थिर भएको छ।’
काठमाडौंजस्तै उत्तरी भूभाग पनि ह्वात्तै दक्षिण सरेको छ। यसको दक्षिण सर्ने दर भने काठमाडौंको भन्दा अलि कम छ। काठमाडौं १.८ मिटर दक्षिण सरेको थियो भने चिलिमे क्षेत्र १.५५ मिटरसम्म दक्षिण झरेर अन्तमा साबिकको ठाउँभन्दा १.४ मिटर दक्षिण आएर स्थिर भएको छ।
थेचारिने र उफारिने तथ्यांक भने काठमाडौं र चिलिमेबीच ठिक उल्टो छ।
काठमाडौं खुत्रुक्क तल झरेर एकैचोटि माथि उक्लेको थियो। जबकि, चिलिमे भुइँचालोलगत्तै खुत्रुक्क माथि उक्लेर ह्वात्तै ७० सेन्टिमिटर तल झरेको देखिन्छ। त्यही धरातलमा २० सेकेन्डभन्दा बढी थर्थर हल्लिँदै अन्तमा साबिकभन्दा ६० सेन्टिमिटर तल स्थिर भएको छ।
ककनी र चिलिमेमा जिपिएसबाट रेकर्ड गरिएको तथ्यांकले के देखाउँछ भने, काठमाडौं उपत्यका साबिकभन्दा १.३५ मिटर माथि उठेको छ, जबकि धुन्चे, गोसाइँकुन्ड र त्योभन्दा माथिको गणेश हिमाल क्षेत्र ६० सेन्टिमिटर तल झरेको छ।
‘काठमाडौंका भू–भागले पहिलेको ठाउँ केही न केही मात्रामा छाडेर पश्चिम–दक्षिण सरेको छ र अलिकति माथि उचालिएको छ,’ सापकोटाले भने, ‘यहाँको उत्तरी हिमाली क्षेत्र पनि पश्चिम–दक्षिण त सरेको छ तर उचाइ पहिलेभन्दा तल झरेको छ।’
अमेरिकी वैज्ञानिक रोजर विलह्यामले पनि विभागको यही तथ्यांकका आधारमा काठमाडौं उपत्यकाको भौगोलिक परिवर्तनबारे आफ्नो निष्कर्ष सार्वजनिक गरेका थिए।
कोलोराडो विश्वविद्यालयका प्राध्यापक विलह्यामले भुइँचालोको केही दिनपछि नै राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो शोधपत्र प्रस्तुत गर्दै भनेका थिए, ‘काठमाडौं उपत्यका सुरुको ५ सेकेन्डमा प्रतिसेकेन्ड ५० सेन्टिमिटरका दरले हल्लिएको थियो। यसले यहाँको पूरै भू–भाग पहिलेभन्दा अलि टेँढो भएको छ।’
उनको निष्कर्षअनुसार, उपत्यकाको उत्तरी क्षेत्र पश्चिममा ५० सेन्टिमिटर र दक्षिणमा १.८ मिटर सरेको छ भने १.३ मिटर माथि उचालिएको छ। त्यस्तै, मध्य क्षेत्र पश्चिममा ५० सेमी र दक्षिणमा १.५ मिटर सरेको छ भने ६० सेमी माथि उचालिएको छ।
‘उपत्यकाको सबै ठाउँ पहिलेभन्दा एक वा आधा मिटरका दरले सरेको छ,’ उनको निष्कर्ष छ।
काठमाडौंको उत्तरी हिमाली क्षेत्रको उचाइ घट्नुको अर्थ सगरमाथाको उचाइ पनि घटेको हो त?
होइन।
सापकोटाका अनुसार वैशाख १२ को भुइँचालोले जमिनको जुन भू–भागमा हलचल ल्यायो, सगरमाथा क्षेत्र त्योभन्दा निकै टाढा पर्छ। ‘अलिअलि प्रभाव परेको हुनसक्छ, तर जसरी काठमाडौंको उत्तरी हिमाली क्षेत्रको उचाइ ६० सेन्टिमिटर घट्यो, त्यही स्तरको प्रभाव सगरमाथासम्म पुगेको छैन,’ उनले भने।
...
के भुइँचालो जाँदा हिमाली शृंखला अग्लिन्छ?
बेलायती वैज्ञानिकले भनेजस्तो काठमाडौं माथि उचालिनु र गणेश हिमाल क्षेत्रको उचाइ घट्नुले हिमाली शृंखलाको अग्लाइसँग के सम्बन्ध राख्छ?
भूगर्भ विज्ञानको भाषामा हिमाली शृंखला भन्नाले हिउँले ढाकिएको उच्च हिमशिखर मात्र बुझिँदैन। यसले सबभन्दा उत्तरी हिमशिखरका साथै बीचको महाभारत क्षेत्र र दक्षिणको चुरे पर्वतमाला समेतलाई बुझाउँछ।
‘ठूलो भुइँचालो जाँदा हिमाली शृंखला अग्लिन्छ भन्नुको मतलब हिमशिखरहरूको उचाइ मात्र होइन, नयाँ पहाडी शृंखला चुरेको उचाइ पनि बुझ्नुपर्छ,’ भूगर्भ वैज्ञानिक सापकोटाले भने, ‘प्रत्येक ठूलो भुइँचालोले चुरेको उचाइ बढाएको हुन्छ।’
चुरे मात्र होइन, समग्र हिमाली शृंखलाको उत्पत्ति नै भुइँचालोको परिणाम हो।
पृथ्वीको भू–सतह खण्डखण्डमा विभाजित छ। ती खण्ड निरन्तर आपसमा ठोक्किने, घस्रिने, खप्टिने र फाटिने गर्दै आएका छन्– लाखौं, करोडौं वर्षदेखि। पृथ्वीका ती अलग–अलग खण्डलाई नै भूगर्भविद्हरू ‘प्लेट’ भन्छन्। अनि, ती प्लेट टुक्र्याउने चिराहरूलाई ‘फल्ट लाइन’, अर्थात् जमिनको दरार।
नेपाल त्यस्तै एउटा दरारमाथि छ, जहाँ दक्षिणबाट बग्दै आएको इन्डियन प्लेट पाँच करोड वर्षअघि उत्तरको युरेसियन प्लेटसँग ठोक्किएर त्यसमुनि घुस्रिरहेको छ। यसरी घुस्रिने क्रममा इन्डियन प्लेटले तलबाट युरेसियन प्लेटलाई निरन्तर माथि धक्का दिइरहेको हुन्छ। हिमाली शृंखलामा आउने भुइँचालोको कारण यही हो।
नेपालमा भुइँचालोका दरार कहाँ–कहाँ छन्? यसबारे ‘भुइँचालो कथा’ शृंखलाको पहिलो लेख हेर्नुहोस्,
सापकोटाका अनुसार इन्डियन प्लेट र युरेसियन प्लेटको घर्षणबाट यहाँको हिमाली शृंखला वर्षको ८ एमएमका दरले माथि उठिरहेको छ।
कसरी?
उनले तन्किएको स्प्रिङको उदाहरण दिए।
‘स्प्रिङको एउटा कुनालाई कतै अड्काएर अर्को कुनाबाट ठेल्दा बीचका भाग खुम्चिन थाल्छन्। केही भाग माथि उठ्लान्, केही तल धस्सिएलान्। यसले ठूलो परिमाणको शक्ति जम्मा हुन्छ। यस्तो स्थितिमा अड्किएको कुना एक्कासि फुक्यो भने के होला? खुम्चिएका भागमा जम्मा भएको शक्ति एकैचोटि ‘रिलिज’ हुन्छ। र, त्यही शक्तिले स्पिङलाई अर्को कुनातिर ठेल्छ,’ सापकोटाले भने।
प्लेटको घर्षणबाट हुने शक्ति सञ्चय र हिमाली शृंखला उत्पत्तिको कारण लगभग उस्तै भएको उनको भनाइ छ।
नेपालको भू–सतहमुनि जहाँ मधेसको समथर भू–भाग सकिएर चुरे सुरु हुन्छ, त्यही ठाउँमा भुइँचालोको दरार छ। इन्डियन र युरेसियन प्लेट आपसमा ठोक्किएर खप्टिँदै हाल घर्षण भैरहेको यहीँ हो। यही खप्टिने क्रमले चुरेसहित हिमाली शृंखला बनेको हो।
बन्चरोले दाउरा खप्लक्क दुई टुक्रा पारेझैं यो दरारले नेपाललाई दुई चिरा पारेको छ– चुरेभन्दा माथि एउटा खण्ड र त्योभन्दा मुनि अर्को। लगभग पूर्व–पश्चिम राजमार्ग सँगसँगै दौडिएको यही दरारमुनिबाट आज पनि इन्डियन प्लेट युरेसियन प्लेटमुनि घुस्रिरहेकै छ र माथि धक्का दिइरहेकै छ।
जसरी एकातिर अड्किएको स्प्रिङमा बल लगाउँदा बीचका भाग खुम्चिन थाल्छन्, दुई प्लेटबीच घर्षण हुँदा त्यस्तै स्थिति आउँछ। इन्डियन प्लेटले आफूभन्दा माथिको युरेसियन प्लेटलाई ठेल्न थाल्छ। माथिबाट युरेसियन प्लेटले पनि धक्का कायम राख्छ। यो भनेको स्प्रिङको एउटा कुना अड्किएजस्तै हो। यसो हुँदा भू–सतहमुनिका चट्टान खुम्चिँदै जान्छन्। र, ठूलो परिमाणको भूकम्पीय शक्ति सञ्चित हुन थाल्छ।
यही दबाब, ठेलम्ठेल र अथाह शक्ति सञ्चयले माथिको भू–सतह विस्तारै अग्लिँदै जान्छ। हिमाली शृंखलाको उचाइमा प्रभाव पार्ने यसैले हो।
जब भुइँचालो गएर सञ्चित शक्ति ‘रिलिज’ (निष्कासन) हुन्छ, माथिको भू–सतह घचक्क दक्षिणतिर सर्छ। यस क्रममा जुन ठाउँबाट इन्डियन प्लेट युरेसियन प्लेटमुनि घुस्रिन थालेको हो, त्यही ‘फल्ट लाइन’ (दरार) अर्थात् चुरे फेदमा आएर भुइँचालोको शक्ति ‘रिलिज’ हुन्छ। यसले त्यहाँको भू–सतह अलि उकासिन्छ। प्रत्येक ठूलो भुइँचालोले चुरे शृंखलाको उचाइ बढ्नुको कारण यही हो। यसरी शक्ति रिलिज हुँदा उच्च हिमशिखरको उचाइ भने अलिकति घट्न पनि सक्छ।
यो पाँच करोड वर्षदेखि आजसम्म निरन्तर चल्दै आएको प्रक्रिया हो।
भन्नुको मतलब, एउटा भुइँचालो जानेबित्तिकै दुई प्लेटबीचको घर्षण रोकिँदैन। यसले तात्कालिक अवस्थामा जम्मा भएको शक्ति मात्र निष्कासन गर्छ। त्यसपछि फेरि प्लेटको घर्षण पहिलेकै गतिमा सुरु हुन थालिहाल्छ। फेरि पहिलेजस्तै भू–सतहमुनिका चट्टान खुम्चिन थाल्छन्। फेरि पहिलेजस्तै शक्ति सञ्चय हुन थाल्छ।
र, यही दबाब, ठेलम्ठेल र अथाह शक्ति सञ्चयले माथिको भू–सतह विस्तारै अग्लिँदै जान्छ।
यसपालि भने भुइँचालोको जम्मै शक्ति चुरे फेदसम्म पुगेर ‘रिलिज’ हुन सकेको छैन। यसको केही भाग काठमाडौंमुनि थुप्रिएको छ। काठमाडौं साबिकको भन्दा अलिकति माथि उचालिएर दक्षिण–पश्चिमतिर टेँढो पर्नुको कारण यही हो।