काठमाडौं। अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले स्थापना गरेको सामाजिक सञ्जाल सगून डट कम ले सर्वसाधारणहरुलाई लगानीको अवसर प्रदान शुरु गरेको प्राइभेट प्लेसमेन्ट अफरिङ्ग अगस्ट १५ देखि बन्द गरेको छ । आ–आफ्नो देशको कानून अनुसार विश्वको जुनकुनै देशबाट समेत लगानी गर्न पाउने यो अवसर सगूनले जुन २९, २०१६ देखि शुरु गरेको थियो । । अबको केहि महिना भित्र नै सगुनले मोवाइल एप्स सहित मिनी आइपीओ खुल्ला गर्नेछ र यसमा इच्छुक धेरैले लगानी गर्न सक्नेछन् । मिनी आइपीओमा प्राइभेट प्लेसमेन्टमा जस्तो जटिल प्रकृयाहरु पनि नहुने र थोरै रकमबाट पनि लगानी गर्न सकिने कुराको गिरीले जानकारी दिए । सगुन टीमका प्रमुखले बताए अनुसार नेपालीको सगुनमा नेपालीहरुको हिस्सा बढी गराउने मुख्य अवसर नै मिनी आइपीओ हुनेछ । मिनी आइपीओ मार्फत लगानी गर्ने समय थोरै हुने, थोरै रकमबाट लगानी शुरु गर्न सकिने र हालसम्मको तथ्याङ्कको आधारमा अत्यन्तै धेरै व्यक्तिहरु यसको प्रतिक्षामा रहेकोले पनि करिब तीन महिना भित्रमा शुरु गरिने छ ।
मिनी आइपीओको चरण पश्चात सामाजिक सञ्जालको दुनियाँमा सगुनले ‘सोसियल स्मार्ट कार्ड’ को शुरुवात गर्नेछ जसले प्रयोगकर्ताहरुलाई समेत मुनाफाको हिस्सा वितरण गर्नेछ । प्रयोगकर्ताहरुलाई यस प्रकारको हिस्सा वितरण गर्ने सामाजिक सञ्जालहरुमा सगुन पहिलो हुने संस्थापक गिरी बताउछन् ।
सगूनका संस्थापक गोविन्द गिरीका अनुसार सामाजिक सञ्जालको दुनियाँमा नेपालीहरुको नया आर्थिक र सामाजिक पहिचान स्थापित गर्न सगुनको स्थापना गरिएको हो । अमेरिकामा दक्षिण एशियालीको पहिलो स्टार्टअप कम्पनी बन्न सकेको सगुनले सर्वसाधारणलाई यसको हिस्सेदार बनाउने कार्यक्रम अन्तर्गत पहिलो चरणमा प्राइभेट प्लेसमेन्ट अफरिङ्ग शुरु गरेको थियो ।