हिमालयन बैंक कर्मचारी संगठनको २०७८ निर्वाचनबाट अध्यक्षमा सुबास भण्डारी निर्वाचित भएका छन् । संगठनमा भण्डारी सहित ११ जनाको नयाँ कार्यसमिति बनेको छ । कर्मचारी संगठनको पौष २२ गते अनलाइन निर्वाचन भएको थियो । अनलाइन निर्वाचनमा भएको अनलाइन मतदानमार्फत भण्डारीले भारी मतका साथ अध्यक्षमा विजयी भएका हुन् । निर्वाचित नयाँ कार्यसमितिको अध्यक्षमा सुबास भण्डारी, उपाध्यक्षमा सुमन कुमार मिश्र, महासचिवमा भरतराज उप्रेती, सचिवमा छन्द मान तामाङ, कोषाध्यक्षमा अर्चना भण्डारी, सदस्यहरुमा अकिल श्रेष्ठ, शरद रन्जितकार, विशाल गौतम, मधुसुदन तण्डुकार, बेदनिधि पोखरेल र रमेश गजुरेल रहेका छन् ।
संगठनको नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन कमिटी २०७८ ले पद तथा गोपनियताको शपथ समेत गराएको छ । निर्वाचन कमिटिले शपथ तथा बधाई कार्यक्रमको आयोजना गरी २०७८ साल पौष २८ गते हिमालयन बैंकको केन्द्रीय कार्यालयमा उक्त शपथ गराएको हो । पद तथा गोपनियताको शपथ प्रमुख निर्वाचन आयुक्त प्रकाश भण्डारीले गराउनुभएको थियो । साथै संगठनका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई प्रमाणपत्र समेत भण्डारीले बितरण गर्नुभयो ।
शपथ तथा बधाई कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा, महाप्रबन्धक अनुप मास्के, सहायक प्रबन्धकहरु विपीन हाडा, सुनिल गोर्खाली, मानव संसाधन बिभागका प्रबन्धक समीर आचार्य, आइटी प्रमुख विज्ञान सिंजापती, कर्मचारी संगठनका निर्वतमान अध्यक्ष गौतम भण्डारी लगायत बिभिन्न तहका कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई निर्वाचन कमिटीका सदस्य संजीव श्रेष्ठ र संचिता पाण्डे ले सहजीकरण गर्नुभएको थियो ।
बधाई तथा शपथ कार्यक्रममा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले सम्बोधन गर्दै अनलाइन निर्वाचन सफल बनाएकोमा निर्वाचन कमिटिलाई धन्यवाद व्यक्त गर्नुभयो ।
हिमालयन बैंक कर्मचारी संगठन २०७८ को अनलाइन निर्वाचन ऐतिहासिक भएको प्रमुख निर्वाचन आयुक्त प्रकाश भण्डारीले बताउनुभयो । साथै यस अनलाइन निर्वाचनमा सहयोग पुर्याउने बैंक व्यवस्थापन, आइटी टिम र अनलाइन निर्वाचनमा सहभागी हुने सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।